arrow

विपक्षी दलबाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुङ्गो लागेन, बैठक भोलि पनि बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २१ शनिबार
national-assambly-member-mp.jpg
फाइल तस्बिर

काठमाडौँ। नेपाली काँग्रेसले राष्ट्रियसभा उपाध्यक्ष निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरे पनि नाम भने अझै सार्वजनिक गरेको छैन। 

विपक्षी दलका नेताहरूलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठकमा बोलाए पनि उसले आफ्नो पार्टीको तर्फबाट को उम्मेदवार दिने भन्ने जानकारी भने गराएन।

सो पार्टीका प्रमुख सचेतक रमेश लेखकका अनुसार २३ माघमा हुने राष्ट्रिय सभा उपाध्यक्षका लागि साझा उम्मेदवार बनाउने सहमति भए पनि नाम भने अझै चयन भएको छैन। यद्धपी, आजको बैठकमा प्रारम्भिक कुरा भएकाले भोलि बस्ने बैठकबाट नाम टुङ्गाइनेछ।

काँग्रेसले यसअघि नै पदाधिकारी बैठकबाट राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी लिने निर्णय गरिसकेको छ। बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सो पार्टीबाट कोही पनि उम्मेदवार नहुने जानकारी गराई सकेका छन्।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीले भने सो बारेमा कुनै धारणा सार्वजनिक नगरे पनि काँग्रेस उम्मेदवारलाई समर्थन जनाउने सङ्केत बैठकमा दिएको छ। बैठक भोलि पनि बस्नेछ।



नयाँ