arrow

चामल लिन आधा दिन

logo
प्रकाशचन्द्र भट्ट,
प्रकाशित २०७९ माघ २२ आइतबार
sudur-chamal.jpg

दार्चुला । जिल्ला सदरमुकामस्थितको महाकाली नगरपालिका अन्य पालिकाभन्दा सुगम छ । तर यहाँका केही वडाका बस्तीहरू अत्ति नै दुर्गम स्थानमा छन् । त्यसै मध्येको वडा नम्बर ८ को दोपखे गाउँ एक हो । दोपखे सडक सञ्जालसँग जोडिएको छैन । यहाँका स्थानीय दैनिक उपभोग्य सामानका लागि जिल्ला सदरमुकाम आउजाउ गर्छन् । 

सदरमुकामबाट झोलामा सामान लिएर जान्छन् । तर चामल लिन वडा नम्बर ८ को डडिया जानुपर्ने हुन्छ । चामल लिन यहाँका स्थानीयलाई आधा दिन लाग्छ । उनीहरू चामल लिन मात्रै डडिया पुग्ने गर्छन् । सहर बजार भन्दा दूरमा भएकाले गाउँमा ऐचोपैचो पनि चल्छ । 

गाउँलेहरू मिलेर चामल रित्तिएका परिवारका लागि सहयोग गर्छन् । यो श्रृङखला अन्य परिवारका लागि पनि लागू हुन्छ । चामल लिन जाँदा घण्टौँ लाग्ने हुँदा महिना दुई जतिका लागि पसलबाट एकैचोटी एक-दुई क्विन्टल उठाउँछन् । 

कोही कोही भने भरिया र खच्चडमार्फत पनि चामल ढुवानी गर्छन् । खच्चड र भरीयामा बोकाउँदा ४ सय देखि ५ सय रुपैयाँसम्म भाडा लाग्छ । मोटो चामल ५० किलोको चामलको बोरा २ हजार ४ सय ५० रुपैयाँ तिरेर लैजाने गरेका छन् । भाडा र चामलको मूल्य गरेर भान्सासम्म पुग्दा ३ हजार हुन्छ । बिहानै चामल लिन निस्केका स्थानीयहरूलाई पिठ्युमा चामलको बोरा बोक्दै घरसम्म पुग्न दिउँसोको १२-१ बज्छ । 

सडक सञ्जाल नजोडिएको वडाको माथिल्लो भेगमा दैनिक उपभोग्य सामान लिनका लागि घण्टौँ हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय चन्द्र सिह खत्रीले बताए । ‘सडक नहुँदा चामल बोक्न उपभोक्तालाई शास्ती छ, उनले भने, बिहानै चामल लिन आए दिउँसो मात्रै घर पुगिन्छ । चामलकै लागि एक दिन छुटाउनुपर्छ, फेरी महँगी पनि उत्तिकै ।’ 

वडा नम्बर ८ को माथिल्लो भेगलाई सडकसँग जोड्न दुई वर्ष अगाडी सडकको ट्याक खोलिए पनि कामले तीव्रता पाउन सकेको छैन । ट्याक खोलिएको सडक पनि बर्खाको पहिरोले क्षतविक्षत छ । अहिले करिब ३ किलोमिटरसम्म मात्रै कहिलेकाहीँ ट्याक्टर गुड्छ । गत बर्खामा पहिरोले अवरुद्ध बनेको सडक खोल्न यसै महिना महाकाली नगरपालिकाले बोलपत्र आह्वान गरेको छ ।

सडक अवरुद्ध हुँदा धौकोटमा निर्माण गरिने नेपाल टेलिकमको टावरका लागि आवश्यक उपकरण लग्नसमेत नसकिएको टेलिकमले जनाएको छ । ट्रयाक खोलिएको ठाउँसम्म पनि सडक स्तरोन्नति भई ट्याक्टर सञ्चालनमा आए धौकोट लगायत दोपखेका स्थानीयलाई राहत हुने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ