arrow

यू–२० साफ च्याम्पियनशिपमा नेपालको फराकिलो जित, अमिषाको ह्याट्रिक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २२ आइतबार
nepal-u20-saff-championship.jpg

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनशिप फुटबलअन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ । बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आज भएको खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हराउँदै विजयी भएको हो । 

प्रतियोगितामा नेपालको यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।

आज भएको नेपालको जितमा अमिषा कार्कीले ‘ह्याट्रिक’ पूरा गरिन् भने  कप्तान प्रिती राईले  एक गोल थपिन् । खेलको १९औँ मिनेटमा अमिषाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाइन् । त्यस्तै खेलको पहिलो हाफको इन्जुरी समयमा अमिषाले व्यक्तिगत दोस्रो गोल गरिन् । 

त्यसपछि खेलको ६१औँ मिनेटमा कप्तान प्रितीले गोल गर्दै नेपाल ३–० ले अघि रह्यो । त्यस्तै खेलको ६२औँ मिनेटमा अमिषाले ह्याट्रिक पूरा गर्दा नेपाल ४–० ले विजयी भयो । 

प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भुटानको सहभागिता रहेको छ । अब नेपालले अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।

राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
 



नयाँ