- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा नेपालले अहिले भारतसँग खेलिरहेको छ । ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा जारी खेलमा भारतले भारतले मध्यान्तरसम्म १–० ले अग्रता लियो ।
निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल मध्यान्तरसम्म १–० ले पछि परेको हो । तर मध्यान्तरपछिको तेस्रो मिनेटमै नेपालले गोल फर्कायो । नेपाललाई फाइनल पुग्नका लागि भारत विरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ । नेपाल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई हराएको थियो ।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा भइरहेको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
भारतसँग पराजित भएको खण्डमा नेपाल उपाधि होडबाट बाहिरिने छ । बराबरी खेलेको खण्डमा बंगलादेश र भुटानबीचको अन्तिम खेल कुर्नुपर्ने हुन्छ ।
भारत ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । भारत बराबरीको नतिजाले पनि फाइनल पुग्नेछ ।
पहिलो खेलमा भुटानलाई फराकिलो अन्तरले हराएको भारतले दोस्रो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।
राउण्ड रोबिनको अन्तिम खेलमा भुटान र बंगलादेश खेल्नेछन् । बंगलादेश ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । भुटान दुई खेलमा अंकविहीन रहँदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिइसकेको छ ।