arrow

भारतलाई हराउँदै नेपाल यू–२० साफ फुटबलको फाइनलमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २४ मंगलबार
nepal-beat-india-2023.jpg

काठमाडौं । नेपाल बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ । राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा नेपालले भारतलाई ३–१ ले हराउँदै हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा भएको खेलमा भारतले मध्यान्तरसम्म १–० ले अग्रता लिएकामा नेपालले मध्यान्तरपछि तीन गोल गरेको थियो । 

नेपाललाई जिताउन अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गरिन् । साविक विजेता भारतका लागि अपूर्ण नार्जारीले पहिलो गोल गरिन् ।

नेपाललाई फाइनल पुग्नका लागि भारत विरुद्धको खेल जित्नैपर्ने दबाब रहेको थियो । तर शानदार पुनरागमन गर्दै नेपालले जित हासिल गर्यो । नेपाल ३ खेलमा ६ अंक जोडेर फाइनलमा पुगेको हो । नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई हराएको थियो ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा भइरहेको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

४ अंकको भारत बाहिरिने पक्का भएको कछ । बंगलादेश र भुटानबीचको अन्तिम खेलपछि अर्को टिमको छिनोफानो हुनेछ । पहिलो खेलमा भुटानलाई फराकिलो अन्तरले हराएको भारतले दोस्रो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।

बंगलादेश ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।  भुटान दुई खेलमा अंकविहीन रहँदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिइसकेको छ ।



नयाँ