arrow

जितको आधार बनाएर बाहिरिए रोहित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २ मंगलबार
rohit-poudel-2023-02-14.jpg

काठमाडौं । नामिबिया विरुद्धको विश्वकप लिग–२ क्रिकेट अन्तर्गतको खेलमा कप्तान रोहित पौडेल कप्तानी इनिङ्स खेलेर बाहिरिएका छन् । त्रिविविको कीर्तिपुर मैदानमा २८६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले शुरुआतमै विकेट गुमाए पनि जितको आधार खडा गरेर कप्तान पौडेल बाहिरिएका हुन् ।

५३ रन जोड्दा २ विकेट गुमाइसकेको अवस्थामा आएका रोहितले ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलसँग मिलेर तेस्रो विकेटका लागि १३३ रनको साझेदारी गरेका थिए । सो क्रममा उनले आकर्षक खेल्दै ७६ बलमा ३ छक्का र ७ चौकाको मद्धलते ७२ रन बनाए । 

राेहितको रेकर्ड

रोहित एक दिवसीय अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने नेपालका पहिलो ब्याट्सम्यानसमेत बनेका छन् । नामिबियाविरुद्ध ५५ रन बनाएसँगै उनले यो उपब्लधि हासिल गरेका हुन् । 

उनले ३३ औं खेल खेल्दै एक हजार रन बनाएका हुन् । उनले १०१७ रन बनाइसकेका छन् । रोहितले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एमस्टलभिनमा एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए ।

उनी गत वर्षको केन्या भ्रमण यता कप्तान छन् । तत्कालीन कप्तान सन्दीप लामिछाने बलात्कार आरोपमा निलम्बनमा परेपछि रोहितले नेपालको कप्तानी सम्हालेका हुन् । 

ओपनर भुर्तेलले भने ब्याडिङ लाइन सम्हालिरहेका छन् । 

यसअघि नेपालले टस जितेर पहिले फिल्डिङ गरेपछि नामिबियाले सबै विकेट गुमाएर निर्धारित ५० ओभरमा २८५ रन बनायो । नेपालले शुरुआतमै विकेट लिए पनि त्यसपछि सुधारोन्मुख देखिएको नामिबियाका लागि माइकल भन लिंगेनले १३३ रन बनाए । त्यस्तै कप्तान गेर्हार्ड इरास्मसले ५६ रन जोडे । जेन ग्रिनले १९ बलमा ३४ रन बनाए । 

नेपालका लागि करण केसीले ६१ रन खर्चेर ५ विकेट लिए । त्यस्तै बलात्कार आरोपमा गत भदौ २३ गतेदेखि निलम्बित भएर मुद्दा खेपिरहेका सन्दीप लामिछानेले पहिलो पटक मैदानमा आएर ६६ रन खर्चिदै ३ विकेट लिए । उनको मुद्दा भने जारी नै छ । यही अवस्थामा नेपाल क्रिकेट संघ क्यानले उनको निलम्बन फुकुवा गरेर यही प्रतियोगिताका लागि समावेश गरेको हो । 

त्यस्तै सोमपाल कामी र कुशल मल्ले १–१ विकेट लिए । 

कीर्तिपुर मैदानमा क्रिकेटप्रेमीहरुको उल्लेख्य सहभागीता रहेको छ । 

एकदिवसीय अन्तर्राष्ट्रियमा नामिबियाविरुद्ध नेपालले पहिलो पटक घरेलु भूमिमा खेलिरहेको हो । लिस्ट ‘ए’ मान्यता प्राप्त खेलमा भने सन् २०१६ मा नेपाल र नामिबियाले नेपालमा खेलिसकेका छन् । सन् २०१६ मा भएको दुई खेलमा दुवै खेल नेपालले जितेको थियो । 

जारी प्रतियोगितामा नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ ।

श्रृंखलामा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

नेपाललाई एक दिवसीय वरीयतामा रहन बाँकी सबै खेलमा सकारात्मक परिणाम ल्याउनु पर्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ