arrow

प्रयास राष्ट्रपति हत्याउने

राष्ट्रपतिको चुनावसम्म एमालेमा मौनधारण, त्यसपछि प्रचण्ड सरकार ढल्ने संकेत 

राष्ट्रपतिको निर्वाचनसम्म कांग्रेस बाहेक कुनै दललाई गाली नगर्ने एमालेको नीति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २ मंगलबार
kp-sharma-oli-serious-mood.jpg
तस्बिर – गम्भीर मुद्रामा केपी शर्मा ओली ।

काठमाडौं । नेकपा एमालेले राष्ट्रपतिको निर्वाचनसम्म कुनै पनि राजनीतिक दललाई आरोप प्रत्यारोप नगर्ने नीति लिएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको गठबन्धन आउने राष्ट्रपति निर्वाचनसम्म हो भन्ने अभिव्यक्ति दिँदा पनि त्यसलाई प्रतिवाद नगरी एमालेले फागुन २५ गतेसम्म मौन बस्ने नीति लिएको छ । 

एमालेका कुनै पनि नेताहरुले नेपाली कांग्रेसबाहेक अन्य दलका नेताहरुको आलोचना गरेका छैनन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार विद्यार्थी संगठन अनेरास्ववीयूको राष्ट्रिय महाधिवेशनको सम्बोधनको क्रममा पनि अन्य दलको आलोचना गर्नुको साटो आफ्नो दल राष्ट्रवादी भएको भन्दै राष्ट्रियताको विषय अघि सारेर भावनात्मक अभिव्यक्ति दिएका थिए । 

भारतीय विदेश सचिव नेपाल भ्रमणमै रहेका बेला उनले एमालेबाहेक अर्को कुनै दल राष्ट्रवादी नभएको राष्ट्रको पहरेदार एमालेमात्रै भएको अभिव्यक्ति दिएका थिए । 

त्यसपछि उनले वर्तमान सत्ता गठबन्धन भत्किन सक्ने बताउँदै त्यसबाट कोही कसैले आश्चर्य नमान्न पनि आग्रह गरेका थिए । 

‘पार्टी अध्यक्षको अहिलेको अभिव्यक्तिले सत्ता गठबन्धन रहिरहन्छ भन्ने अवस्था रहेन, जे पनि हुन सक्ने देखियो’, एमालेका एक पदाधिकारीले भने । 

ती पदाधिकारीका अनुसार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार इतिहासकै कमजोर बनाउने प्रयास भएकाले एमालेले बलियो साथ दिँदै आएको तर एमालेलाई छाडेर गठबन्धन अर्कोतिर जान सक्ने भएकाले राष्ट्रपतिको निर्वाचनपछि सरकार ढल्ने सम्भावना रहेकोतर्फ ओलीले इंगित गरेको पनि बताए । 

उनका अनुसार अहिले जे पनि अवस्था आउने भएकाले राष्ट्रपतिको निर्वाचनसम्म कोही पनि नेताहरुले सरकार र सरकारी गठबन्धनमा रहेका दलहरुलाई असर पर्ने अभिव्यक्ति नदिन सबै नेताहरु सहमत रहेका छन् । 

‘सरकारको विषयमा तत्कालै टिप्पणी गरिहाल्नुपर्ने अवस्था छैन, गठबन्धन भर्खरै बनेको छ, आलोचना गर्ने भन्दा पनि काममा सहयोग गर्नुपर्ने अवस्था त्यसकारण नकारात्मक कुरा गर्नुपर्ने आवश्यकता छैन,’ एमाले उपाध्यक्ष युवराज ज्ञवालीले भने । 

उनका अनुसार एमालेकै सहयोगमा सरकार बनेको र एमाले सरकारको मूख्य दल भएकाले यो सरकारलाई टिकाउन दायित्व रहेकाले सहमति कायम रहँदासम्म सरकारलाई सहयोग गरेका दलहरुको बारेमा टिप्पणी गरिहाल्नु पर्ने अवस्था नभएको हो । 

अहिले एमाले ‘ग्रासरुट’ अभियानमा लागेको छ । यस्तो बेलामा राष्ट्रपतिको उम्मेदवारको बारेमा छलफल भएको छैन । राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा सानो घेरामा छलफल गर्ने ओलीको सोचाइ रहेको छ । 

जसले गर्दा नेताहरुलाई संगठन निर्माणमा पठाएर सानो घेरा बनाउने ओलीको सोच रहेकाले राष्ट्रपतिको उम्मेदवार हुने एमालेको पात्र को भन्ने प्रष्ट छैनन् । 

प्रचण्डले पनि दलीय नेतालाई राष्ट्रपति बनाउँदा पाएको दुःखबारे पार्टीमा लामो व्याख्या गरिरहेका छन्, जसले गर्दा सहजै ओलीले प्रस्ताव गरेको पात्रलाई स्वीकार गर्ने संकेत देखाएका छैनन् । 

उनले कांगे्रस लगायतका दलहरुलाई अघि सारेर राष्ट्रिय सहमतिको लागि प्रयास गरिरहेका छन् । तर उनी यो अभियान सफल हुने या नहुने भन्ने त्यति प्रष्ट नभए पनि सभामुखमा जसरी ओलीका ‘खास निकट’ नेता देवराज घिमिरेलाई अगाडि सारियो, त्यसरी राष्ट्रपतिको उम्मेदवार अगाडि सार्दा सरकार चलाउन नै समस्या हुने प्रचण्डको ठम्याइरहेको छ । 

सहमति अनुसार साढे दुई वर्षपछि प्रधानमन्त्रीमा ओलीलाई छाड्दा सभामुख माओवादीलाई दिनुपर्ने भए पनि प्रचण्डले विश्वास गरिहालेको अवस्था छैन । 

यी सबै कारणले एमालेका लागि राष्ट्रपतिको निर्वाचन दिनानुदिन फलामको च्यूरा बन्दै गएको छ । 

तर प्रधानमन्त्री प्रचण्डले एमाले र कांग्रेस दुवैलाई अप्ठ्यारोमा पार्न पनि सक्छन् भन्ने संकेत पनि ओलीले गरिहरेका बेला माओवादीको एउटा खेमाले गठबन्धनलाई नछाड्न दिएको दबाबलाई माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टी भने कुनै पनि हालतमा एमालेलाई राष्ट्रपति दिन नहुने पक्षमा रहेको छ । 

राष्ट्रपतिको चुनावका लागि प्रचण्ड सुरक्षित र निर्णायक उपस्थितिमा छन् । यस्तो बेलामा एमालेका नेताहरुले आफूलाई मौनधारणको रुपमा उम्याउनु नै श्रेष्यकरण मानेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ