arrow

बलात्कार आरोपी सन्दीपसँग हात मिलाएनन् स्कटल्याण्डका खेलाडीले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ५ शुक्रबार
sandeep-lamichhane-monti-desai.jpg

काठमाडौं । बलात्कार आरोपी नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेसँग स्कटल्याण्डका खेलाडीहरुले आज मिलाएनन् । आज नेपाल र स्कटल्याण्डबीच भएको खेल सकिएपछि स्कटल्याण्डका खेलाडीले सन्दीपसँग हात नमिलाइ अन्य नेपाली खेलाडीहरुसँग मिलाएका हुन् । 

त्रिविविको कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हरायो । सन्दीपले ३ विकेट लिएका थिए । उनी पूर्व कप्तान पनि हुन् । राम्रो लेग स्पिनर पनि हुन् । तर उनीमाथि लागेको दागका कारण स्कटल्याण्डका खेलाडीहरुले उनीसँग हात नमिलाएको बुझ्न सकिन्छ । 

उनीमाथि नाबालिग बलात्कारको आरोप छ । अदालतमा उनको मुद्दा कायमै छ । तर नेपाल क्रिकेट संघ क्यानले भने मुद्दाको छिनोफानो नहुँदै उनीमाथिको निलम्बन फुकुवा गर्दै नामिबियासमेत सम्मिलित त्रिकोणात्मक एक दिवसीय श्रृंखलामा समावेश गरेको हो । 

सन्दीपले गत भदौ ५ गते नाबालिगलाई राजधानीको एक होटलमा लगेर जबरजस्ती करणी गरेको आरोप छ । उनी भदौ ६ गते केन्यामा क्रिकेट खेल्न गएका थिए । उनीविरुद्ध भदौ २१ गते नाबालिगले उजुरी हालेकी थिइन् । 

भदौ २३ गते नै जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेपछि क्यानले सोही दिन नै सन्दीपलाई कप्तान र राष्ट्रिय खेलाडीबाट निलम्बन गरेको थियो ।

उनी असोज २० गतेमात्रै नेपाल फर्केका थिए । त्यसपछि चलेको मुद्दामा अदालतले प्राप्त प्रमाणका आधारमा दोषी देखिएको भन्दै गत कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । 

फौजदारी कानूनमा तीन वर्षभन्दा बढी कैद हुन सक्ने कसुरमा तत्काल प्राप्त प्रमाणका आधारमा अभियुक्त दोषी देखिए थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने प्रावधान अनुसार उनलाई थुनामा राखेर कारबाही चल्दै थियो । 

सोही क्रममा उनले उच्च अदालत पाटनमा धरौटीमा रिहाइका लागि मुद्दा दिए । उच्च अदालत पाटनले पुस २८ गते २० लाख धरौटी लिएर रिहा हुने आदेश दियो । कसुर स्थापित भएका सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद हुन सने कानून छ । 

तर उच्च अदालतले धरौटीमा रिहा हुन आदेश दिएपछि महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्च अदालतमा उच्चको आदेश बदरसहित थुनामा राखेर कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्दै निवेदन दियो । 

सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको फैसलासहितका मिसिल झिकाउने आदेश दिएको थियो । 

उनीविरुद्ध लागेको अभियोग, तत्काल प्राप्त प्रमाण तथा जिल्ला र उच्च अदालतले गरेका आदेशसमेत भएको ‘कैफियत प्रतिवेदन’ मगाउने आदेश भएको सर्वोच्च अदालतले जनाएको छ । 

उच्च अदालतले सर्वोच्चमा लामिछानेलाई धरौटीमा छाड्ने आदेश केका आधारमा भएको हो भन्नेबारे पनि छुट्टै रिपोर्ट बुझाउनुपर्नेछ ।

तर मुद्दाको अन्तिम टुंगो नलाग्दै क्यानको माघ १७ गते पोखरामा बसेको बोर्ड बैठकले उनीमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । प्रतिबन्ध फुकुवा गरेसँगै क्यानले उनलाई खेलमा फर्काउँदै राष्ट्रिय टोलीमै समावेश गरेको हो ।

सन्दीपलाई टिममा समावेश गरेपछि क्यानको चर्को आलोचना भएको छ । तर क्यानले पछाडि फर्कने कुनै लक्षण लेखाएन । यस विषयमा अदालतले पनि केही बोलेको छैन । 

सन्दीपले नामिबिया र स्कटल्याण्ड दुवै टिमविरुद्ध विकेट लिएका छन् । तर दर्शक भने खुशी भएर उनलाई चेयरअप गर्न सकिरहेका छैनन् । 

उनीविरुद्ध सांसदहरुले संसदमासमेत प्रश्न उठाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ