- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । झापाको भद्रपुरस्थित मेची रंगशालामा आजबाट अन्तर्राष्ट्रियस्तरको झापा गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । आज भएको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले भारत जयगाउँ फुटबल क्लबलाई २–० ले पराजित गरेको छ ।
प्रतियोगितामा नेपाललगायत भारत, भुटान र बंगलादेशका गरी १० वटा ‘ए’ डिभिजन क्लबको सहभागिता रहने आयोजकले जनाएको छ । गोल्डकप आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जनाए अनुसार अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप फागुन १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर्ससहित विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफ, मच्छिन्द्र, चर्च ब्वाइज, संकटा क्लब सहभागी हुनेछन् ।
त्यसैगरी विदेशी टिमहरू जगगाँउ भारत, डुक ल्हासुल भुटान र काउर्न बाजार प्रगति संघ एफसी बंगलादेशको सहभागिता रहने आयोजक समितिका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
खेलकुद हेर्नका लागि दैनिक २० हजार दर्शक अटाउने गरी स्थायी पाराफिट र अस्थायी बाँसे पाराफिट निर्माण गरिएको छ ।
नगर क्षेत्रका विद्यार्थी, ज्येष्ठ नागरिक, अशक्तलाई निःशुल्क गोल्डकप हेर्ने ब्यबस्था रहेको आयोजकले जनाएको छ । गोल्डकपको विजेताले नगद रु १३ लाख र उपविजेताले नगद रु ७ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र फाइनल खेलको पहिलो गोलकर्तालाई नगद रु २५ हजार प्रदान गरिनेछ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद रु २० हजार रुपैयाँ दिइने आयोजक समितिका उपाध्यक्ष आदित्य पराजुलीले जानकारी दिए । गोल्डकपको मुख्य प्रायोजक मुस्ताङ बियर रहेको छ । गोल्डकप सञ्चालनका लागि भद्रपुर नगरपालिकाले रु ३० लाख र सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने बताइएको छ ।