arrow

हेड सर !

logo
ऋषि आजाद,
प्रकाशित २०७९ फागुन १० बुधबार
chandrakanta-panthi-article-rishi-ajad.jpg

गुल्मी जिल्लाको मदाने–७ भनभने गैराखर्क खहरेखोलामा वि. स. २००० बैशाख २० गते पिता लोकनाथ पन्थी र माता लीलादेवी पन्थीको जेष्ठ सुपुत्रको रुपमा चन्द्रकान्त पन्थीको जन्म भएको थियो । भारतको बनारसबाट हिन्दू धर्मदर्शन र संस्कृत साहित्यमा मध्यमा उत्तीर्ण र शास्त्रीसम्मको अध्ययन गरेका चन्द्रकान्त पन्थीको यही माघ २७ गते ७९ वर्षको उमेरमा असामयिक निधन भयो ।

चन्द्रकान्त पन्थी बहुआयामिक व्यक्तित्वका धनी व्यक्ति हुनुहुन्थ्यो । उहाँको सामाजिक, शैक्षिक, राजनीतिक, धार्मिक क्षेत्रमा महत्वपूर्ण योगदान रहेको छ । चन्द्रकान्त पन्थीको खासगरी आफ्नो जन्मस्थल गुल्मी जिल्लाको भनभनेको शैक्षिक विकासमा ठूलो योगदान रहेको छ । 

अहिले भनभनेमा सञ्चालित दीपक माध्यामिक विद्यालयको निर्माणमा उहाँको भूमिका महत्त्वपूर्ण रहेको थियोे । तत्कालीन समयमा नेपालमा चलिरहेको गुरुकूल  र दलाने पाठशालालाई विस्थापित गर्दै सार्वजनिक रुपमा विद्यालय स्थापना गर्ने क्रममा भनभनेमा पनि उहाँकै नेतृत्व र पहलमा अहिलेको दीपक मावीको स्थापना गरिएको थियो । तत्कालीन समयमा बालचक्षू प्रावीको नामबाट नामकरण गरी स्थापना गरी त्यसैलाई नाम परिवर्तन गरी क्रमशः दीपक नीमावी र मावी बनाइएको थियो ।

चन्द्रकान्त पन्थीलाई गाउँमा सबैले ‘हेड सर’ भनी सम्बोधन गर्थे । विद्यार्थीहरू हेड सर भनेपछि डरले थरथर हुन्थे । उहाँ स्कुल नआउँदाको दिन विद्यार्थी छाडा हुन्थे । हेड सरको नाम नै ’हेड सर’ हो भन्ने लाग्थ्यो । विद्यार्थीलाई हेड सरको नाम चन्द्रकान्त पन्थी हो भन्ने धेरै पछि थाहा हुन्थ्यो । 

केही उरन्ठेउला र छाडा केटाकेटीलाई उहाँले राम्रै अनुशासन लगाउनु हुन्थ्यो । उहाँको आफ्नो सारा ऊर्जामय जीवन शिक्षण पेशामा बित्यो । नीमावी स्कुललाई मावी बनाउन उहाँ ज्यान फालेरै लाग्नुभयो । उहाँ र उहाँजस्ता केही शिक्षाप्रेमी समाजसेवी तथा शिक्षासेवी व्यक्तिहरुको पहलका कारण आज धेरै स्कुले विद्यार्थीलाई घरै नछोडी पढ्ने अवसर प्राप्त भएको छ । 

कसैले स्कुलमा बिगार्ने भत्काउने कार्य गर्यो भने आफ्नै सम्पत्ति बिगारे भत्काए जस्तै लाग्थ्यो उहाँलाई । विद्यालय प्रशासन कडा थियो । शिक्षक विद्यार्थी सबै कडा अनुशासनमा हुन्थे । उहाँले शिक्षण पेशाबाट अवकाश लिएपछि गौली पन्थी वंशावली प्रकाशन गर्न ठुलो मिहिनेत गर्नुभयो । वंशावलीका साथै अन्य थुप्रै स्मारिका ग्रन्थहरू प्रकाशनमा उहाँको भूमिका स्मरणीय रहेको छ । आफ्नो उमेरले साथ दिएसम्म सधै सामाजिक कार्यमा समेत खटिनु भयो । उहाँको शैक्षिक र सामाजिक योगदानको उच्च कदर गर्नुपर्छ ।

पृथ्वी अर्बौं वर्ष रहन्छ । एउटा मानिसको  जिन्दगी अधिकतम बाँचे सय वर्षमात्र हो । पुर्खाले जीवेम शरदः शतम् भनेको ठीकै हो । यसरी यति मूल्यवान जिन्दगीलाई सार्थक पार्न सके हाम्रो कर्तव्य पूरा हुन्छ । उही मान्छे फेरि अर्को जुनीमा फर्केर आउन सक्दैन । यी कुरा फगत कथामात्र हुन् ।

वंशगत श्रृंखलामा बाबु, छोरा छोरी, नाति, नातिनी, पनाति, पनातिनी, खनाति खनातिनी हुँदै वंश श्रृंखलामा जन्मदैर विन्यस्त हुँदै जाने हो । आफ्नो पुनर्जन्म त बाबु आमाका गुण बोकेर आएका छोराछोरी, नाति नातिनी, पनातिना पनातिनीबाट हुन्छ । मान्छेलाई आफैँ फर्किएर अर्को जुनीमा आउन सम्भव छैन । त्यसैले यही लोकमा आफू जीवित छँदै गरिएका लोकोपकारी कामको परिणाम नै महत्वपूर्ण उपलब्धि हो । त्यसैबाट जीवन अजरअमर रहन्छ । जीन्दगीको मूल्याङ्कन निकटताले मात्र गरिँदैन, उसले छोडेका कृतिहरुबाट गरिन्छ । परिणामहरुबाट गरिन्छ ।

हाम्रो हिन्दू धर्मशास्त्र अनुसार वास्तवमा विभिन्न कुराहरू लेखिए पनि मृत्यु बाहिरबाट आउँदैन । त्यो भित्रबाट आउँछ । आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रै बिन्ती गरुन् झुकेर पदमा त्यो बिन्ती मान्दैन भन्नु भावनात्मक श्लोक हो । 

मानिसको मृत्यु आन्तरिक गडबडीका कारण आउँछ बाहिरबाट खातापाता बोकेर लिन आउँदैन । मृत्यु मिर्गौला फेल भएर आउँछ । उच्च रक्तचाप र न्यून रक्तचाप आदिको कारणबाट आउँछ । क्यान्सर लगायतका दीर्घकालीन रोगव्याधीबाट आउँछ । मुटुका भल्भहरु बन्द भएर आउँछ । स्नायु प्रणालीमा आघात भएमा आउँछ । निश्चित समयपछि हाम्रा शारीरिक अंगहरु कमजोर र रुग्ण हुँदै जाँदा संवेदनशील अङगहरुको आपसी सम्बन्ध टुटेर आउँछ । यति महत्वपूर्ण जीवनको विघटनपछि आफ्ना सन्तानहरुले त्यस शवलाई आदरपूर्वक संस्कार गर्छन् । त्यही संस्कार नै और्धोदेहिक क्रिया हो ।

पन्थीको वंशावली अनुसार नेपाल राज्यको एकीकरण पूर्व मल्लकालीन पालामा१३ औं शताब्दीको पूर्वसन्ध्यामा डोटी डडेल्धुराको बाटो हुँदै वर्तमान गुल्मी धुर्कोटमा आएका पन्थीका पुर्खाहरु दरबारिया पण्डित थिए भन्ने इतिहास भेटिन्छ । तिनै सुसंस्कृत पन्थी थरमा स्व. चन्द्रकान्त पन्थीको जन्म भएको थियो । 

चन्द्रकान्त पन्थीका २ छोरा र ३ छोरीहरु छन् । उहाँको धर्मपत्नीको नाम गायत्रीदेवी हो । गायत्रीको कोखबाट छोरीहरु कविता, करुणा र कल्पना जन्मे । कविता अधिकृत छन् । छोराहरुमा हिरण्य पन्थी र राजेन्द्र पन्थी जन्मे । हिरण्य बुटवलमा रहेको वाणिज्य क्याम्पस तथा अक्सफोर्ड क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ । उहाँको जेठी बुहारी पुष्पा पन्थी सिद्धेश्वरी स्कूलमा शिक्षिका हुनुहुन्छ । कान्छा छोरा राजेन्द्र र कान्छी बुहारी इन्दु आचार्यको परिवार अमेरिकामा बस्नुहुन्छ ।

उहाँका  भाइहरु कृष्णप्रसाद पन्थी, टिकाराम पन्थी र ईश्वरी पन्थी हुनुहुन्छ भने पाँच बहिनीहरू हुनुहुन्छ । उहाँका भाइहरू कृष्णप्रसाद शिक्षक सेवा, टिकाराम पन्थी अन्तर्राष्ट्रिय गैरसरकारी सरकारी संस्थाको इन्जिनियर सेवा र  ईश्वरी पन्थी निजामती सेवामा उपसचिव पदबाट अवकाश हुनुभयो ।

चन्द्रकान्त पन्थीको परिवार शिक्षित परिवार हो।यो परिवारको शिक्षादीक्षामा महत्वपूर्ण भूमिका खेल्ने गुरुहरुमा प्रज्ञाचक्षु पं केशवराज पौडेल, नारायणप्रसाद पौडेल र घनश्याम आचार्य हुनुहुन्थ्यो । पूर्वीय दर्शन, मूल्य मान्यताको आदर्श पथको अनुशीलन र उक्त आदर्शलाई जीवनशैलीमा अनुवाद गर्ने कुरामा उहाँको परिवार निष्ठापूर्ण ढङ्गले लागेको देखिन्छ । उहाँ र उहाँका सबै परिवारका सबै सदस्यहरु शिक्षित र सुसंस्कृत हुनुहुन्छ ।

स्वर्गीय चन्द्रकान्त पन्थीको शैक्षिक योगदान निकै महत्वपूर्ण छ । उहाँको सक्रियताका कारण गुल्मीको भन्भनेमा शिक्षाको ज्योति झुल्केको हो । उहाँले भन्भनेलाई गर्वका साथ मेरो भन्भने भन्नुहुन्थ्यो । उहाँको दृढ संकल्प यतिसम्म हुन्थ्यो कि यहाँँ नीमावी स्वीकृत नहुँदासम्म मैले दारी कपाल फाल्दिन भनेर अड्डी कसेर बस्नु भएकोसम्म उदाहरण देखिन्छ । पछि नीमावी स्वीकृत भएपछि दाह्री कपाल फाल्नु भएको हो ।

उहाँको पिताजी पनि त्यति नै शिक्षाप्रेमी हुनुहुन्थ्यो । लोकनाथ पन्थीको योगदान निकै महत्वपूर्ण छ । उहाँहरुको परिवारको प्रेरणाको कारण त्यस गाउँको वरिपरि टिमुरखर्क, डडुवा, भीरकटेरी, कोलडाँडा, वडाचौर लगायतका ठाउँमा प्रावीहरु खोलिदै गए । शिक्षाको ज्योति फैलँदै गयो । त्यसमा चन्द्रकान्त पन्थी र उहाँको परिवारको प्रभाव रहेको छ ।

स्वर्गीय चन्द्रकान्त पन्थीका पिता लोकनाथ पन्थीसँग सहकार्य गर्ने शिक्षा प्रेमीहरुमा पं. कुलप्रसाद पन्थी, ईश्वरीप्रसाद पन्थी, चिरन्जीवी पन्थी, लालु उपाध्याय, केशवराज पन्थी, गोविन्द्रराज पोखरेल, यज्ञपति पन्थी, धर्मराज पौड्याल, रोमहर्ष पन्थी, कमान सिंह घर्ती, कमलापति पन्थी, निकलण्ठ पन्थी, चेतनाथ पन्थी, यज्ञपति पन्थी, बालानन्द पन्थी, जुद्धवीर केसी,  बिष्णु केसी, थानेश्वर भण्डारी, रामबहादुर थापाको नाम आउँछ । 

उहाँहरुको साझा अभियानमा विद्यालयहरु खोलिएका छन् । त्यसको विषयमा चन्द्रकान्त पन्थीको भूमिका पनि महत्वपूर्ण छ । साथै त्यो समयमा भन्भनेको शैक्षिक आन्दोलनमा योगदान दिने शिक्षकहरुमा मुरलीधर पन्थी, कुलबहादुर घर्ती, कुलप्रसाद पन्थी, शम्भु पन्थी, गुणनिधि पन्थी, निमबहादुर घर्ती, चन्द्रकान्त पोखरेल हुनुहुन्छ । 

२०१५ सालपछि दलाने पाठशालाहरु संस्थागत विद्यालयहरुमा बदलिएका थिए । त्यहाँ पनि दलाने पाठशाला बालचक्षु प्राथमिक विद्यालय बनेको हो । त्यहाँको शैक्षिक जागरण निकै महत्वपूर्ण छ । त्यहाँबाट धेरैभन्दा धेरै विद्यार्थीहरु मुलुकका विभिन्न तहमा पुगेर राष्ट्रको योगदान गरिरहेका छन् । 

शुरुमा २०१५ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा निलाम्बर पन्थीबाट सांसद जितेको समयमा २०१६ सालमा बालचक्षु विद्यालयको शिलान्यास भएदेखि चन्द्रकान्त पन्थीको योगदान महत्वपूर्ण देखिन्छ । उहाँले निजामती सेवाको सरकारी जागिर छोडेर पिताजीको आग्रहमा गाउँमै शिक्षण सेवा गरेको शुरु गरेको देखिन्छ । 

त्यो समयमा अर्थाभावको कारण र विद्यार्थी संख्या कम भएको कारण शैक्षिक जागरणमा निकै दुःख व्यहोर्नु पर्यो । शुरु शुरुमा जनतामा शिक्षाप्रतिको विश्वास त्यति राम्रो थिएन । हरेक नयाँ मूल्य सहजै जन्मदैन, त्यसले पनि प्रसव वेदना भोगेरै आउँछ ।

चन्द्रकान्त पन्थीको राजनीतिक जीवन पनि सक्रिय देखिन्छ । आफ्नो बाबु लोकनाथ पन्थी कांग्रेसको स्थानीय नेता नै हुनुहुन्थ्यो ।२०१५ सालको निर्वाचनमा निलाम्बर पन्थीको चुनावमा बरन्डीकोट लगाएर प्रचार प्रसार गर्न हिँडेकोदेखि गाउँलेहरुले बरन्डीकोटे कांग्रेस भनेर नाम नै राखिदिएका थिए । पछि चन्द्रकान्त बनासरमा अध्ययनको शिलशिलामा जाँदा पुष्पलालको सान्निध्यमा आएपछि नेकपाप्रति झुकाव राख्न थाल्नुभयो । 

त्यसै नेकपामा सक्रिय हुन थालेपछि उहाँ आफ्नो गाउँमा फर्केपछि भन्भनेलाई केन्द्र बनाई पश्चिम गुल्मीमा वामपन्थी विचारको लहर नै चलाउन थाल्नु भयो । एकातिर राजनीतिक जागरणमा सक्रिय देखिनु भयो भने अर्कातिर शैक्षिक जागरणमा पनि दत्तचित्तका साथ लाग्नु भयो । औपचारिक रुपमा सरकारी शिक्षक बनी सेवा गरे पनि अनौपचारिक रुपमा नेकपा आन्दोलनमा सक्रिय रुपमा लाग्नु भएको थियोे ।

पञ्चायतकालमा स्वर्गीय चन्द्रकान्त पन्थी एक पटकको निर्वाचनमा जनपक्षीय उम्मेदवारको रुपमा प्रधानपन्चको रुपमा उठ्नु भयो । गाउँपञ्चायतको निर्वाचनमा जुद्धवीर केसीसँग प्रतिस्पर्धा हुँदा उहाँ उपविजेता हुनु भयो । आफ्नो प्रतिस्पर्धी भए पनि जुद्धवीर केसी चन्द्रकान्त पन्थीको व्यक्तित्वबाट निकै प्रभावित भएको पाइन्छ । 

प्रतिस्पर्धी भए पनि जुद्धवीर र चन्द्रकान्त दुवै मिलेर त्यो क्षेत्रको विकासमा लाग्नु भएको थियो । त्यो ठाउँको निरन्तर विकासमा लागेका चन्द्रकान्त पन्थी २०५३ सालमा स्वेच्छिक अवकाश लिएर २०५४ सालमा नेकपा एमालेको तर्फबाट तत्कालीन भनभनेको वार्ड न.३ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियोे । २०५८ सालमा बसाईसराई गरी सपरिवार कपिलवस्तु तौलिहवामा सर्नुभयो ।

२०७४ मा कपिलवस्तुको तौलिहवाबाट पनि बसाइँ सरेर बुटवल १३ जितगढी झोलुङगेपुल हरियालीपथ बस्दै आउनु भएको थियो । विगत ३ वर्षदेखि रोगसँगै लडेर अन्ततः उहाँको भौतिक शरीर अस्तायो । उहाँको भौतिक शरीर अस्ताए पनि विचार र चिन्तन भने बाँचिरहनेछ । यस्तो महान् विचारलाई बचाइरहनु हामी सबैको दायित्व हो ।

चन्द्रकान्त पन्थीले पनि स्वतः स्फूर्त रुपमा शहर पसेर विद्वत कर्ममा लाग्नु भयो । उहाँले सबैभन्दा पहिला आफ्नो वंशप्रतिको कर्तव्य गर्नुभयो । आफ्नो वंशावली निर्माण गरी गौली पन्थी अध्ययन अनुसन्धान सेवा समाजको गठन गरी पन्थीको वंशावली तयार गर्ने कठोर काममा लाग्नुभयो । 

उक्त काममा उहाँले सफलता पनि हासिल गर्नुभयो । उहाँले आफ्नो माता पिताजीकोे नाममा लोकलीला स्मृति ग्रन्थ तयार पार्नुभयो । वार्षिक रुपमा पन्थी वार्षिक मुखपत्र प्रकाशन गर्नुभयो । 

पछिल्लोपटक ‘फर्केर सम्झदा’ भन्ने कृति प्रकाशित भयो । चन्द्रकान्त पन्थीका अन्य फुटकर लेखहरु थुप्रै छन् । फर्केर सम्झदालाई पुनः प्रकाशन गर्ने योजना बनाउँदा बनाउँदै उहाँ थलिनु भयो । धेरै लामो समयसम्म व्यथाले च्याप्दै लगेको थियोे । उपचारका अनेक प्रयत्न गर्दागर्दै उहाँले यो संसार छोड्नु भयो ।

उहाँ धार्मिक स्वभावको व्यक्ति हुनुहुन्थ्यो । हिन्दू धर्ममा रहेका सबै संस्कारहरु, चाडपर्वहरु विधिपूर्वक पूरा गर्नुहुन्थ्यो । हिन्दू धर्मसंस्कृतिका कर्मकाण्डीय र सैद्धान्तिक ज्ञान उहाँमा प्रशस्त थियोे । उहाँका पाइलाका डोबहरुमा टेकेर नयाँ सिर्जनशील र सभ्य समाज निर्माणमा उहाँका परिवार र  छोराछोरीहरू पनि लाग्नु भएको देखिन्छ । उहाँको योगदानको चीरस्मरण गर्ने, भविष्यका सन्ततिहरुलाई आफ्नो वंशका सम्पूज्य व्यक्तित्वप्रति गर्व गर्न सिकाउने, त्यसबाट साहित्य र समाजसेवामा लागेकाहरुलाई सम्मान गर्ने काम अबको पुस्ताले ग्रहण गर्नुपर्छ ।

अन्त्यमा, स्वर्गीय चन्द्रकान्त पन्थी हाम्रा प्रातः स्मरणीय अग्रज हुनुहुन्छ । उहाँले देखाएको बाटोमा हिंड्नुपर्छ । त्यो नै सत्सङ्ग हो । सत्सङ्ग गर्न मन्दिरमै धाउनु  पर्दैन । सत्सङ्ग सबैको मनको मन्दिरमा छ । असल व्यक्तित्वको निर्माण गर्नु र समाजको लागि योगदान दिनु मानव हुनुको अर्थ हो । हामीले हाम्रो देश, टोल समाजमा उहाँका असल गुणहरुको अनुशरण गर्ने वाचा गर्नुपर्छ । आदरणीय गुरु, असल अभिभावक, शिक्षाप्रेमी, समाजसेवी स्वर्गीय चन्द्रकान्त पन्थीप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु । (लेखक आजाद लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष हुन् )
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ