- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भावी राष्ट्रपतिका लागि पहिलो पटक नेपालमा दलहरुबीच मत माझिएको छ । यसअघि अहिलेसम्म दुई जना राष्ट्रपति भएका छन् । जसमा पहिलो राष्ट्रपति डा. रामवरण यादव र दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी भइन् । भण्डारीले दुई कार्यकाल राष्ट्रपति खाइसकेकी छिन् ।
यसपालि राष्ट्रपति हुने व्यक्ति तेस्रो हुनेछ । राष्ट्रपतिको चौथो कार्यकाल हुनेछ । तर यसपालि राष्ट्र बन्न भने सहज देखिएको छैन । दलहरुबीच निकै नै रस्साकस्सी देखिएको छ ।
त्यतिमात्र हैन शक्तिकेन्द्रको दबाब उत्तिकै रहेको छ । कम्युनिष्टहरुबीच एकता गराउनका लागि चिनियाँ शक्ति निकै जोडतोडले लागेको छ । २०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी एकता गराउँदादेखि पार्टी एकता गर्नेसम्म सक्रिय भएको चिनियाँ सरकार आजका दिनसम्म पनि कम्युनिष्टहरुलाई मिलेर अगाडि बढाउनकै लागि लागिरहेको छ ।
कम्युनिष्टको सरकार र कम्युनिष्ट राष्ट्रपति भए जस्तासुकै काम पनि गराउन सकिनेमा विश्वस्त देखिएको चीनले अहिले राष्ट्रपति पनि कम्युनिष्टकै कुनै नेता होस् भन्ने चाहिरहेको छ ।
त्यसैले पनि १३ गते राष्ट्रपतिको उम्मेदवारी दिने दिनसम्म चिनियाँ चलखेल दिनरात बढ्ने निश्चित छ । बुधबार बिहान मात्रै पनि चिनियाँ राजदूत छन् सङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटे । उनले कम्युनिष्टभन्दा बाहिर गएर कुनै पनि सहमति नगर्न चेतावनी दिएर फर्के ।
प्रचण्ड र उनको पार्टी नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति गर्ने भनिरहँदा चिनियाँ राजदूतले दायाँ बायाँ नसोच्न आग्रह गरेका हुन् ।
राजदूतले सङले गत शुक्रबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोट पुगेर छलफल गरेका थिए ।
प्रचण्डलाई बिहान भेटेका सङले बुधबार नै अपरान्ह नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि भेटे । नेपालसँग पनि उनको आग्रह एउटै थियो ।
एमाले फुट्दा चित्त दुखाएको चीनले अहिले फेरि कम्युनिष्टहरु मिले हुन्थ्यो भन्ने कामना गरिरहेको छ ।
प्रचण्ड–ओली वार्ता असफल
चिनियाँ राजदूतले दिएको दिशा निर्देशपछि बसेको प्रचण्ड र ओलीबीचको वान–टु–वान वार्ता लामो समयसम्म चल्यो । करिब दुई घण्टा चलेको छलफलले निष्कर्ष भने निकालेन ।
गत पुस १० गतेको सहमतिअनुसार आफ्नो पार्टीले राष्ट्रपति पाउनु पर्छ भन्नेमा केपी ओली छन् । उनले एमालेका विभिन्न नेताहरुको नाम लिँदा लिँदै पछिल्लो समय माधवकुमार नेपाललाई बोकिरहेका छन् ।
ओलीको सोचअनुसार यदि नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गर्न सकियो भने माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने अनि पार्टी एकतापछि ठूलो दलको हैसियतले प्रचण्डको सरकार फालेर आफैं प्रधानमन्त्री बन्ने भन्ने छ ।
त्यो बाहेक ओलीले केही पनि नसकेको दाबी उनी निकटको स्रोत बताउँछ । उनी निकटको एक स्रोतले हाम्राकुरासँग ठट्यौलो पाराले नै भन्यो, ‘हाम्रो पार्टीमा मान्छे नभएर माधव कमरेडलाई प्रस्ताव गरेको त पक्कै हैन होला !’
उनको यो भनाइमा स्वार्थको गन्ध बाहेक अरु केही आउँदैन । आफ्नो हातबाट राष्ट्रपति पनि जान्छ कि भन्ने डरले एमालेले निकालेको नयाँ सोचबाट माधव नेपालको नाम जन्मेको हो ।
तर ओलीले बुधबारको बैठकमा माधवको नाम त लिए नै पूर्व सभामुख एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको नाम पनि लिएका छन् । बालुवाटार स्रोतका अनुसार ओलीले सुवासको नाम अप्रत्याशित तरिकाले लिएका हुन् ।
यसअघि पार्टीको आन्तरिक सर्कुलरअनुसार पनि सुवास नेम्वाङको नाम निकै पछाडि थियो ।
त्यो भन्दा अगाडि उपाध्यक्षद्धय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यको नाम थियो । पछिल्लो समय एमालेकै राष्ट्रपति हुँदा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम अग्रस्थानमा थियो ।
पोखरेललाई पार्टी महासचिव ईश्वर पोखरेललेसमेत बोकेका छन् । तर अहिले आएर ईश्वर निकै नै पछाडि परेको बताइएको छ । सुवासको नाम केवल विकल्पका लागिमात्र आएको हुन सक्ने एमालेकै एक नेताको बुझाइ छ ।
केपी ओलीले माधव नेपालको नाम लिँदा माओवादी केन्द्रले पनि अस्वीकार गर्न नसक्ने भनेरै उनको नाम लिएको बुझिन्छ । तर माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउनु अगाडि पार्टी एकीकरण हुनुपर्नेमा ओलीको जोड छ ।
पार्टी एकताका लागि उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको टिम लागेको छ । पौडेल यो सरकारलाई तत्काललाई टिकाउने पक्षमा छन् । त्यसैले पनि उनले पार्टी एकता गरेर एमालेलाई बलियो बनाउने योजना बुनिरहेका छन् ।
त्यसो त नेकपा एसमा पनि समस्या छन् । एसभित्रका सम्मानित नेता झलनाथ खनाल आफू राष्ट्रपति बन्न चाहन्छन् । उनले यसअघिको कार्यकालमा पनि राष्ट्रपति बन्न खोजिरहेका थिए । तर केपी ओलीको चाहनाका कारण विद्यादेवी दोहोरिएकी थिइन् ।
इलामबाट चुनाव हारे पनि झलनाथ आफू राष्ट्रपति हुनुपर्ने पक्षमा छन् । उनी आफू राष्ट्रपति हुनुपर्ने भने पनि उनको पार्टीले समेत पनि उनको नाम सिफारिस गर्ने अवस्था छैन ।
त्यसैले पनि झलनाथले बुधबारको नेकपा एसको बैठकपछि संचारकर्मीसँग आफू नभए पार्टीबाट कोही हुन पाउँदैन भन्ने उद्धेश्य राखेर बोले । झलनाथले राष्ट्रपतिको विषयको ‘च्याप्टर क्लोज’ भएको बताएका छन् ।
पार्टी बैठकमा नेपालले राष्ट्रपतिमा केपी ओलीले प्रस्ताव गरेको सुनाएका थिए । उनले यसका लागि सबै पार्टीसँग छलफल गरेर सहमतिमा पुग्ने भनेर सुनाए । सोही अनुसार उनले प्रचण्डदेखि कांग्रेस सभापति शेरबहादुर देउवासम्मलाई भेटिसकेका छन् ।
को बन्ला त उम्मेदवार ?
पहिले दर्जनबढी आकांक्षी भइरहँदा अहिले भने उम्मेदवार सीमित हुँदै गएका छन् । एमालेभित्रै दर्जन आकांक्षी भइरहँदा एकाएक सुवास नेम्वाङमा आएर नाम अडिएको बुझिन्छ ।
ईश्वर पोखरेलसमेत निकै टाढा भएको स्रोत बताउँछ । त्यस्तै एमालेसँग पार्टी एकता गरेको अवस्थामा मात्रै माधव नेपालको नाम आउन सक्ने बुझिन्छ । नत्र आफ्नो पार्टी छाडेर गएको माधव नेपाललाई बोक्नुपर्ने कारण केपी ओलीलाई छँदै छैन ।
केही दिनअघिसम्म तिनै माधव नेपाल केपी ओलीका लागि सबैभन्दा ठूला शत्रु थिए । अहिले स्वार्थ मिल्न जाँदा मात्रै उनले वाध्य भएर माधव नेपाललाई बोक्न खोजेका हुन् ।
कम्युनिष्टबाट को उम्मेदवार बन्छ भन्ने अझै यकिन भएको छैन । माधव नेपालले अब आफू कहिल्यै प्रधानमन्त्री बन्ने लक्षण नदेखेपछि एकबारको जुनीमा राष्ट्रपति भए पनि हुने पक्षमा छन् । यसअघि पनि उनले राष्ट्रपति पाए हुने मनसाय राखेका थिए ।
केही दिनअघि पनि शक्ति सन्तुलनका लागि पनि आफ्नो पार्टीलाई कुनै ठाउँ दिनुपर्नेमा जोड दिएका थिए । त्यो जोड भनेको केपी ओलीसँग भएको गोप्य भेटपछि भनेका हुन् । यद्यपि उनले केपी ओलीसँग भएको भेटबारे बुधबारको पार्टी बैठकमा बाहेक अन्त बोलेका थिएनन् ।
यता प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको जप रटे पनि त्यो सहमतिको व्यक्ति को हुने भनेर अहिलेसम्म भन्न सकेका छैनन् । उनलाई स्पष्टसँग थाहा छ कि जसले आफूलाई ढुक्कले पाँच वर्ष सरकार चलाउन दिन्छ उही नै राष्ट्रिय सहमतिको राष्ट्रपति हो ।
चिनियाँले कुनै पनि हालतमा कम्युनिष्ट नै हुनुपर्छ भनेर खोजिरहेको छ ।
तर सत्ताधारी गैरकम्युनिष्ट दलहरु भने के आधारमा केपी ओलीको पछि लागिरहेका छन् भन्ने स्पष्ट पार्न सकेका छैनन् ।
के चिनियाँ चाहनाअनुसार कम्युनिष्ट एकता हुँदा राप्रपा र रास्वपा पनि समेटिन्छन् त ?
अर्कातर्फ मधेसवादी दलहरु स्पष्टसँग खुलेका छैनन् । जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी नखुलेको अवस्थामा मंगलबारदेखि लोकतान्त्रिक समाजवादी पार्टी भने अध्यक्ष महन्थ ठाकुरलाई बोकेर शीर्ष नेताहरुको घरमा डुलिरहेको छ ।
उसको स्पष्ट धारणा छ –राष्ट्रिय सहमति महन्थ ठाकुर राष्ट्रपति भएरै बन्छ । तर महन्थको दलको संसदमा संख्या निकै तल छ ।
र पनि उम्मेदवारको मन्दीजस्तै देखिएको अवस्थामा महन्थलाई अगाडि सारेर लोसपाले कोही त छ भनेर खुला देखाइदिएको छ ।
के गर्छ प्रमुख प्रतिपक्ष कांग्रेसले ?
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले के गर्छ त ? कि पुस १० जस्तै रमिता हेरेर बस्छ त ? भन्ने प्रश्न कांग्रेस नेताहरुमा चर्चाको विषय बनेको छ ।
सत्ताधारी दलहरुबीच त एउटा खिचातानी होला । शक्तिकेन्द्रको दबाब होला । कांग्रेसलाई कसको दबाब छ ?
कांग्रेसले त अहिलेसम्म उम्मेदवार खडा गरेर प्रचारप्रसार गर्नुपर्ने, लबिङमा लाग्नुपर्ने, जित वा हार जेसुकै किन नहोस् उम्मेदवार खडा गर्नुपर्ने थियो ।
कांग्रेस चुप लाग्नुको पछाडि माओवादी केन्द्रकै भर छ । माओवादीले जसलाई समर्थन गर्छ उसकै पार्टीले चुनाव जित्ने अवस्था छ । विशेष गरी एमाले र कांग्रेसको उम्मेदवार हुँदा ।
अन्य दलहरु सहायक भएर आउँछन् ।
कांग्रेसले राष्ट्रपति लिनकै लागि प्रधानमन्त्री प्रचण्डलाई सरकारमा विश्वासको मत दिएको थियो । विश्वासको मत दिएपछिमात्रै प्रमुख प्रतिपक्ष दलको नेताका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले निवेदन दिएका थिए ।
प्रचण्ड पनि कांग्रेसलाई चिढाउन चाहन्नन् । उनी पनि कांग्रेसमध्येकै कोही वा कांग्रेसले सहमति दिएको कोही उम्मेदवार भइदिए हुन्थ्यो भन्नेमा छन् ।
प्रचण्ड आफू ढुक्कसँग पाँच वर्ष प्रधानमन्त्री हुन पाउनु पर्नेमा छन् । एमालेको भागमा राष्ट्रपति गए जे पनि हुन सक्छ भन्नेमा उनी छन् ।
त्यतिमात्र होइन केपी ओलीको प्रस्तावमा यदि माधव नेपाल राष्ट्रपतिका उम्मेदवार भएर जितिहाले भने कुनै पनि हालतमा नेकपा एकीकृत समाजवादी र एमालेबीच पार्टी एकीकरण हुन्छ ।
त्यसपछि फेरि प्रचण्डलाई अप्ठेरो पर्छ । केपी ओलीले प्रचण्डलाई बोकिरहनै पर्दैन । अनि ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको एक महिनापछि ठूलो दलको हैसियतमा ओली नै प्रधानमन्त्री बन्नेछन् ।
यो परिस्थितिको मूल्यांकन प्रचण्डले पनि गरेकै होलान् । यो परिस्थितिको आँकलन गर्दै कांग्रेसले प्रचण्डको समर्थन आफूलाई हुने विश्वास लिएको छ ।
तर कांग्रेसले अहिलेसम्म उम्मेदवारको टुंगो नलगाउनुको मतलब कतै कांग्रेस पनि कुनै शक्तिकेन्द्रको प्रभावमा परेको त छैन ? भन्ने पनि हो ।
अर्कातर्फ पुस १० गते टुटेको तत्कालीन सत्ता गठबन्धनबाट प्रचण्ड बाहिरिए । तर माधव नेपालले भने कांग्रेसको साथ छाडेनन् । त्यसैले पनि उनी प्रचण्ड नेतृत्वको सरकारमा गएनन् ।
अब कांग्रेसले आफ्ना प्रशस्त्र अनुभवी नेताहरुमध्ये एक जना नेतालाई उम्मेदवार बनाउने कसरतमा लाग्छ वा फेरि पनि अन्य दलकै समीकरण कुरेर बस्छ त्यो हेर्न बाँकी छ ।
आगामी शनिबार राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन गर्ने दिन हो । त्यो दिन त जसरी पनि उम्मेदवार खडा गर्नुपर्छ नै ।
तर सुझबुझ अपनाइएन र राजनीतिक रणनीति अपनाइएन भने कांग्रेसले भोग्ने हार नै हो ।
बुधबार रातिको नयाँ ट्विस्ट
हुनत प्रचण्डले राष्ट्रिय सहमति भन्दै आफूले विश्वासको मत लिएको अर्को दिनदेखि नै कांग्रेसलाई राष्ट्रपति दिने बोली बोल्न थालिसकेका थिए । तर कांग्रेसले के हुन्छ भन्ने यसै भन्न सक्ने अवस्था थिएन ।
बुधबार रातिको छलफलले भने एक किसिमको गन्तव्यतिर लाग्न थालेको विश्वास कांग्रेस नेताहरुमा पलाएको छ । बुधबार अपरान्ह जब शेरबहादुरको निवासबाट माधव नेपालसँगै कांग्रेस नेताहरु प्रचण्ड निवास बालुवाटारमा आए तबदेखि केही न केही निष्कर्ष निस्कने अपेक्षा रहेको थियो ।
त्यो अपेक्षाअनुसार अब कांग्रेसलाई राष्ट्रपतिको उम्मेदवार बनाउनेतिर सहमति नजिक पुगेको बुझिन्छ । तर माधव नेपाल के गर्छन् त ? भन्ने पनि छ ।
सोमबारदेखि बुधबारसम्म माधव नेपाल आफू नै राष्ट्रपति हुन्छु कि भन्नेमा लगभग पक्का जस्तै थिए । किनकि ओलीले काँध थापेका थिए ।
तर माओवादीले साथ नदिइ माधवको पनि केही लाग्दैन । माधवको काँध थाप्ने कि कांग्रेसलाई सघाउने भन्नेमा प्रचण्ड रहेपछि प्रचण्ड कांग्रेसतिर ढल्के ।
तर माधवलाई न त माओवादीले छाडेको छ न त कांग्रेसले नै । प्रचण्ड सरकारको कार्यावधि एक वर्ष घटाएर त्यो एक वर्ष माधव नेपाललाई सरकार चलाउन दिने गरी सहमति बन्न लागेको बुझिएको छ ।
अब माधव नेपालले माने पनि ठीकै र नमाने पनि ठीकै भन्नेतिर पुगेको बुझिन्छ । तर माधवले पाँच दलीय गठबन्धनलाई ब्यूँताउनु पर्छ भनिरहँदा र उनमा पनि एकपटक कार्यकारी चलाउने आशा रहिरहँदा यो सहमति बन्ने लगभग देखिन्छ ।
‘इलाभेन्थ आवर’ को नेपालको राजनीतिमा शनिबारसम्म जे पनि हुन सक्छ । आज बल्ल बिहीबार न भयो ।
फेरि शक्तिकेन्द्रको दबाब, अभाव र प्रभावले जे पनि गर्न सक्छ ।