- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक श्रृंखलाका लागि सन्दीप लामिछाने बिनाकै टिम घोषणा गरेको छ ।
क्यानले बिहीबार बलात्कार आरोपका कारण देश छाड्न नमिल्ने गरी अदालतबाट रिहा भएका पूर्व कप्तान सन्दीप लामिछाने बिना १५ सदस्यीय टिम घोषणा गरेको हो । घरेलु मैदानमा मंगलबार सम्पन्न लिग–२ अन्तर्गत नामिबिया र स्कटल्याण्ड रहेको त्रिकोणात्मक श्रृंखलामा भने सन्दीप खेलेका थिए ।
एक नाबालिकलाई बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई गत भदौ २३ गते निलम्बन गरेको थियो । तर पोखरामा बसेको क्यान बोर्ड बैठकले मुद्दाको किनारा नलाग्दै सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।
सन्दीपविरुद्धको बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।
गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर विदेश जान भने रोक लगाएको थियो । सन्दीप पुस २९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए ।
नेपाली टोलीले दुबईमा घरेलु टोली तथा पपुवा न्युगिनिसँग खेल्नेछ । नेपालले २७ फेब्रुअरी ९फागुन १५० मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो यूएई भ्रमणको सुरुआत गर्नेछ ।
को छन् सन्दीप बिनाको टोलीमा ?
रोहित पौडेलको कप्तानीमा रहने नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जीसी र श्याम (मौसम) ढकाल रहेका छन् ।
श्याम (मौसम) ढकाल र प्रतिश जीसी पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।
यूएईमा नेपालले फागुन १५ गते पपुवा न्युगिनीसँग, फागुन १८ गते यूएईसँग, फागुन १९ मा पपुवा न्युगिनीसँग र फागुन २२ गते यूएईसँग खेल्नेछ ।
सात टोली सहभागी विश्वकप लिग–२ मा नेपाल छैटौं स्थानमा छ । नेपाल तेस्रो स्थानमा रहेर विश्वकप छनोट खेल्ने आशामा छ । लिग अन्तर्गत आज भएको खेलमा यूएईले नामिबियालाई १ विकेटले हराएर २७ खेलबाट २९ अंकसहित पाँचौं स्थानमा छ ।
नेपाल २८ खेलबाट २६ अंकसहित छैटौं स्थानमा छ । चौथो स्थानको अमेरिकाको सबै खेल खेलेर ३५ अंक छ । एक खेल खेल्न बाँकी रहेको नामिबिया ३७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।