arrow

माधवलाई दुई वर्ष सत्ता चलाउन दिने सहमति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १३ शनिबार
madhav-kumar-nepal-cpn-us.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसलाई सहयोग गर्ने निर्णयसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दुई वर्ष प्रधानमन्त्री दिने अनौपचारिक सहमति गरिएको छ । 

बालुवाटारमा शुक्रबार बसेको नयाँ गठबन्धनमा सहभागी दलहरुले नेपाललाई दुई वर्ष प्रधानमन्त्री बनाएर जाने सहमति गरिएको स्रोतको दाबी छ । यो सहमतिसँगै कांग्रेस कार्यकारी प्रमुख हुनबाट बाहिर रहने अवस्था आएको छ ।

‘कांग्रेस प्रमुख घटक हो तर राष्ट्रपतिमा जसरी सहमति भयो त्यसरी नै नेकपा एसका अध्यक्षलाई प्रधानमन्त्री दिने सहमति गरिएको छ’, नेकपा एस निकट स्रोतले भन्यो । 

शुक्रबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा नेकपा एसका अध्यक्ष नेपालले माओवादी केन्द्र र कांग्रेससँगै मिल्नेगरी अघि बढिसकेकाले हार्ने राष्ट्रपतिको चुनावमा जान नसकिने जनाउ दिएका थिए । 

‘अहिलेलाई माओवादी आफ्नो सरसामान बोकेर कांग्रेससँग हिँडिसक्यो, हार्ने चुनावमा बल गर्दिन भनिएकै हो’, स्रोतले भन्यो । 

ओलीलाई त्यस्तो जवाफ फर्काएका नेपालले बालुवाटार पुगेपछि कांग्रेसको बलमा आधा आधा कार्यकालको प्रधानमन्त्रीमा बार्गेनिङ गरेका थिए । त्यसपछि प्रचण्ड लगायतका नेताहरुले दुई वर्ष प्रधानमन्त्री बनाउने भनेर अनौपचारिक सहमति गराएको स्रोतको दाबी छ । 

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीबीच शक्ति बाँडफाँटमा सहमति जुटेपछि नयाँ गठबन्धन बनेको थियो ।  

शुक्रबार बेलुकी आठ दलीय गठबन्धन बन्नुको मूल कारण नै केन्द्रदेखि प्रदेशसम्मको शक्ति बाँडफाँटमा सहमति जुटेर सम्भव भएको हो । 

दुई वर्षको प्रधानमन्त्रीबाहेक राष्ट्रिय सभाको अध्यक्ष पनि नेकपा एसले नै हात पर्ने नेताहरुको दाबी छ । 

‘कांग्रेसलाई ५ वर्ष राष्ट्रपति र जसपालाई उपराष्ट्रपति दिने सहमतिपछि नेपाललाई दुई वर्ष प्रधानमन्त्री दिने सहमति गरिएको हो । लिखित नभएका कारण अहिले सार्वजनिक गरिएको छैन’, स्रोतले भन्यो ।

एमाले सरकारबाट बाहिरिएपछि केन्द्रदेखि प्रदेशसम्मका सबै सरकारमा यसैगरी भागवण्डा हुने स्रोतको दाबी छ । 

स्रोतका अनुसार पछिल्लो परिस्थितिमा एमाले सरकारबाट बाहिरिने र एमालेका सम्हालेका सबै स्थानमा नयाँ बनेको गठबन्धनमा भागबण्डा हुनेछ । 

संकटमा रहेको सुदूरपश्चिम सरकार यथावत् हुने अवस्था आएको छ । पछिल्लो पटक राजनीतिक परिस्थितिमा फेरबदल आएकै कारण चुनावअघिकै गठबन्धन ब्युँताएपछि एमालेले केन्द्र र प्रदेश दुवैतिरका सरकार गुमाउने सम्भावना निश्चितजस्तै बनेको छ । 

यस्तो बेलामा सरकार सञ्चालनको बाँडफाँड कसरी गर्ने भन्ने बारेमा अर्को कार्यदल बनाउने कसरत थालिएको छ । 

‘राष्ट्रपति मनोनयनपछि सरकार सञ्चालनको विषयमा छलफल हुनेछ’, नेकपा एसका एक पदाधिकारीले भने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ