arrow

सरकारले जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १४ आइतबार
prachanda-2079-11-14.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज जनयुद्धका शहीद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तक्र्रियामा उनले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने शहीदको उच्च सम्मानसहित राष्ट्रिय शहीद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरे ।  

प्रधानमन्त्री दाहालले भने, “आज जनयुद्धका क्रममा पहिलो बलिदान गर्ने शहीद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो । विसं २००७ को क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका सहिद हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ । त्यसैले वर्तमान सरकार जनयुद्धलगायत सबै आन्दोलनका शहीदलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारीमा छ ।”

सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्न गरिने बताए । उनले भने, “सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा सत्यनिरूपण तथा मेलमिलाप विधेयक अगाडि बढेको छ । यो छिट्टै टुङ्गोमा पुग्छ । जनयुद्धका सहिदको सम्मान, उनीहरूको परिवारको परिपूरण, सन्ततिको शिक्षादीक्षाको काम कानून बनाएर नै गरिन्छ । त्यसका लागि विधेयक महत्वपूर्ण छ ।”

अन्तक्र्रियामा शहीद तथा बेपत्ता परिवारका तर्फबाट अधिवक्ता एकराज भण्डारीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाएर प्रधानमन्त्रीले देशभरका शहीद र बेपत्ता परिवारलाई सम्मान गरेको भन्दै खुशी व्यक्त गरे । 

सरकारले यही फागुन १ गते जनयुद्धको स्मरणमा सार्वजनिक बिदा दिएको थियो । नेकपा माओवादी केन्द्रले आजदेखि फागुन २१ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी शहीद सप्ताह मनाउने तयारी गरेको छ । 

कार्यक्रममा प्रधानमन्त्री दाहालका प्रमुख सल्लाहकार हरिबोल गजुरेल, माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव शक्तिबहादुर बस्नेत, नेता हितराज पाण्डेलगायतको सहभागिता थियो । 

जनयुद्धका शहीद परिवारले राज्यको तर्फबाट आफूहरुलाई उचित सम्मान दिनु जरुरी रहेको भन्दै प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ