- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अहिले शहीद सप्ताह चलिरहेको छ । राणा शासनमा चार शहीदलाई माघदेखि १६ गतेको समयमा मारिएको सन्दर्भ पारेर हरेक वर्ष शहीद सप्ताह मनाउँदै आइएको छ ।
तर यही समयको छेको पारेर आर्थिक मन्दीका बेला सरकारले करिब तीन हजार शहीदको नाम राजपत्रमा प्रकाशित गर्न लागेको छ । प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई २ हजार ६ सय भन्दा बढी शहीदको सूची दिइसकेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि शनिबार ३ हजार शहीदको नाम थप्ने तयारी गरेको अभिव्यक्ति दिएका थिए ।
सरकारले विगतमा माओवादी सशस्त्र युद्धमा मारिएकासहित विभिन्न कारणले ज्यान गुमाएकाहरुलाईसमेत थपेर शहीदको सूचीमा प्रकाशनको तयारी थालेको हो ।
सरकारले विभिन्न घटना–दुर्घटनामा परी ज्यान गुमाएकाहरूलाईसमेत समेटेर २ हजार ६०१ जनालाई थप शहीद घोषणा गर्न लागेको मन्त्रालय स्रोतले जनाएको छ ।
गृह मन्त्रालय उच्च स्रोतका अनुसार यस पटक राजपत्रमा सूचना प्रकाशित गरेसँगै नेपालमा शहीदको संख्या १४ हजार ७९८ पुग्नेछ । मन्त्रिपरिषद् बैठकले थप शहीद घोषणा गर्ने निर्णय गरिसकेको छ ।
शहीदको सूचीमा थपेर प्रत्येक परिवारलाई १० लाख रुपैयाँ बाँड्ने सम्मको तयारीलाई सरकारले अन्तिम रुप दिएको छ ।
सरकारले माघ १६ गते शहीद दिवस मनाउँदैछ । सोही दिन पारेर शहीद घोषणाको तयारी गरिएको हो ।
चालु खर्चसमेत धान्न नसक्ने अवस्थामा सरकारको पुगेको बेला प्रधानमन्त्री दाहालले शहीदको नाममा कार्यकर्ता पोस्ने दाउ अगाडि सारे पनि गठबन्धनका सहयात्री दलहरु मौन रहेका छन् ।
शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौँमा गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजार जनालाई छिट्टै शहीद घोषणा गर्ने तयारी रहेको बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदबाट निर्णय भएर राजपत्रमा प्रकाशित गर्ने कामलाई अघि बढाइएको बताएका थिए ।
‘तेस्रो पटक प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका शहीदहरु नछुटुन् भनेर विशेष ध्यान दिइएको हो । तीन हजारको सूची गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
२०६३ जेठ २१ गतेको मन्त्रिपरिषद्ले जनआन्दोलनका क्रममा निधन भएका २१ जनालाई शहीद घोषणा गरेको थियो ।
त्यसैगरी माओवादी द्वन्द्वका क्रममा मृत्युवरण गर्ने प्रहरी, सेना, सशस्त्र, निजामती कर्मचारी, राष्ट्रिय अनुसन्धान विभागका २ हजार ८९४ जनाको नाम शहीदको सूचीमा थियो ।
यसैगरी माओवादीका ६ हजार ९४६ जना र अन्य १ हजार ६२६ गरी ८ हजार ५७२ जनालाई पनि शहीद घोषणा गरिएको थियो ।
त्यसपछि तराई मधेस आन्दोलनका क्रममा मृत्युवरण गर्ने र विभिन्न आन्दोलनका नाममा मृत्यु भएकाहरूलाई पनि सरकारले शहीद घोषणा गर्ने सौदाबाजी गरेको थियो ।