arrow

भूमि अधिकार आन्दोलनमा राष्ट्रिय एकता अभियानको ऐक्यबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १७ बुधबार
yekata-abiyan-campain-madesh-pradesh.jpg

जनकपुरधाम। मधेस प्रदेशको राजधानी जनकपुरधाममा जारी भूमिहीनहरूको अनिश्चितकालिन धर्नामा राष्ट्रिय एकता अभियानले ऐक्यबद्धता जनाएको छ। अभियानका अध्यक्ष विनय यादव धर्ना स्थलमा उपस्थित भई भूमिहीनहरूको आन्दोलनमा ऐक्ययता जनाएका हुन।

‘भूमि अधिकार र चुरेवन जङ्गल संरक्षण र संवर्द्धनका निम्ति जन आवाज आन्दोलन’का क्रममा जारी धर्नामा अध्यक्ष यादवसहित मनीष हिन्दु, रवि साह, बन्दना पाण्डेय, जय यादव, हिन्दी अभियान रमन पाण्डेयलगायतको उपस्थिति थियो।

चुरे तथा वन जङ्गल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादवको नेतृत्वमा सयौँको संख्यामा जनकपुरधामस्थित राराब क्याम्पसको पूर्व पट्टी गुठी संस्थानको खाली जग्गामा भूमिहीन सुकुम्वासीहरू जग्गासहित विभिन्न ५ बुँदे माग राख्दै धर्ना बसेका छन्।

भूमिहीनहरूले धर्नाका लागि मेस नै सञ्चालन गरेका छन्।

अभियानका संयोजक सुनिल यादवले पटक पटक आन्दोलन गरे पनि सरकारले आफूलाई ठग्दै आएकाले भूमि अधिकारका लागि जन आवाज आन्दोलन अन्तर्गत अनिश्चित कालीन धर्ना सुरु गरेको बताए।

जबसम्म आफूहरूको माग पूरा हुँदैन तबसम्म धर्ना जारी रहने उनको चेतावनी छ। उनले भूमिहीन तथा सुकुम्वासीको आवासको हक मौलिक हकका रूपमा धारा ३७ मा व्यवस्था भएकोले राज्यले गम्भीरताका साथ संविधानको कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने आफूहरूको माग रहेको बताए।

चुरे तथा वन जङ्गल संरक्षण अभियान र मधेस प्रदेश सरकारबिच भएको ७ बुँदे सहमति तत्काल कार्यान्वयन गर्न पहल गर्नुपर्ने, अवैध क्रसर उद्योगहरूको गतिविधि उपर तत्काल रोक लगाउन र दिलीप महतोलाई पर्यावरणीय शहीद घोषणा गर्नुपर्ने माग समेत अभियानहरूले अघि सारेका छन्।

धर्ना दिनुअघि अभियानका नेतृत्वमा भूमिहीन भनिएकाहरूले आफ्ना मागसहित नगरमा जुलुस प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय र जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ