arrow

राष्ट्रपतिको निर्वाचन

दोधारमा राप्रपाः भोट बहिस्कार गर्ने कि दिए कसलाई दिने भन्नेमा अन्योल

पार्टीको मुद्दा एकातिर लहर अर्कोतिर भन्दै आन्तरिक विवाद

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १९ शुक्रबार
rpp-raprapa.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपतिको निर्वाचनमा मत हाल्ने कि नहाल्ने भन्ने बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कुनै पनि निर्णय गरेको छैन । हिन्दू राष्ट्रको स्थापना र संवैधानिक राजतन्त्रको पक्षमा वकालत गर्दै आएको राप्रपा सरकारमा जानु र अहिलेकै प्रणाली स्वीकार्दै राष्ट्रपतिबाट शपथ लिनुले पनि अन्योलमा रहेको राप्रपाले बाहिष्कार गर्ने कि मत दिने भन्ने निर्णयमा अझै दोधारमा रहेको हो । 

राप्रपाको कार्यालयमै पुगेर एमालेका उम्मेदवार सुवास नेम्वाङले मत मागिसकेको र नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले पनि राप्रपाका नेताहरुसँग भेटघाट गरिसकेकाले राप्रपाको साथ कसलाई हुन्छ भन्ने अझै यकिन भएको छैन । 

वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी राप्रपा समीकरण फेरिना साथ एमालेभन्दा क्रान्तिकारी भएर सरकार छाडेको थियो । यस्तै राजनीतिक जञ्जालको दोधारमा उभिएको राप्रपाका नेताहरूसँग पौडेल र नेम्वाङ दुवैमध्ये कसलाई सहयोग गर्ने भन्ने बारेमा निर्णय गरिसकेका छैनन् । 

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार दुवै उम्मेदवाहरुले मत मागिसकेको तर कसलाई मत दिने भन्ने बारेमा निर्णय भैसकेको छैन ।  ‘उम्मेदवारहरु आएर मत माग्नु भएको छ, मत दिन निर्णय भएको छैन, पार्टीभित्र बहिष्कारको कुरा पनि उठेको छ तर बहिष्कार गर्ने पक्षमा राप्रपा नेतृत्व छैन’, प्रवक्ता श्रेष्ठले भने ‘मत दिने निर्णय केही दिनपछि नै हुनेछ ।’

राप्रपाले प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित उर्जा, कानून र शहरी विकास मन्त्रालय लिएको थियो । प्रदेश सरकारमा पनि सहभागी भएको थियो । माओवादीले नेतृत्व गरेका प्रदेश सरकारमा राप्रपाले समर्थन फिर्ता लिइसकेको छ भने एमालेले नेतृत्व गरेको प्रदेश सकारमा भने समर्थन कायमै छ । 

यो हिसाबले हेर्ने हो भने राष्ट्रपतिको निर्वाचनमा एमालेलाई सहयोग गर्ने आँकलन गर्न सकिन्छ । तर राप्रपाले कुनै पनि निर्णय नगरिसकेकाले दुवै उम्मेदवाहरुले मत माग्ने क्रम र शिलशिला जारी छ । 

झापा, रुपन्देही लगायतका स्थानमा एमालेकै सहयोगले राप्रपाले चुनाव जितेको थियो । जसले गर्दा राष्ट्रपतिको निर्वाचनमा पनि एमालेलाई सहयोग गर्ने एमालेको अपेक्षा रहेको छ । 

कांग्रेसका नेता रामचन्द्र पौडेलले पनि मत मागेको र आफ्नो जीवनकालमा कम विवादित रहेका कारण राप्रपाले कांग्रेस उम्मेदवार पौडेललाई पनि मतदान गर्न सक्ने संभावना पनि उत्तिकै रहेको छ । 

नयाँ समीकरण बनेपछि कांग्रेसले राप्रपालाई पनि सरकारमा आउन आग्रह गरिरहेको छ । सरकारबाट बाहिर रहेका राप्रपा र रास्वपा दुवैलाई सरकारमा आउन आग्रह गरिरहेको कांग्रेसले राष्ट्रपतिमा पौडेललाई  मतदान गर्न आग्रह गरिरहेको छ । 

तर यी दुवै पार्टी यतिबेला मौन रहेका छन् । मंसिर ४ पछि एमालेले तयार पारेको गठबन्धनमा भने यी दुवै दल उत्साहका साथ सहभागी भएका थिए । तर राष्ट्रपतिको निर्वाचनमा भने सुस्ताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ