arrow

माधवलाई नसकेपछि एमाले झलनाथसँग खेल्न थाल्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २२ सोमबार
jhalanath-khanal-final-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति बन्न अस्वीकार गरेपछि एमालेले एसका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई फकाउन थालेको छ । 

एमालेले एसका नेता खनाललाई इलामबाट उपनिर्वाचन जिताइदिने आश्वासनसहित फकाउन थालेको हो । ‘सुवास नेम्वाङलाई मतदान गर्न र नेम्वाङले जितेमा उपनिर्वाचनबाट सांसद बनाइदिने आश्वासन दिइएको छ’, खनाल निकट रहेका एसका एक नेताले भने । 

ती नेताका अनुसार यस्तो प्रस्ताव एमाले महासचिव शंकर पोखरेल आफैँले गरेका थिए । ‘खनाललाई भेट्न महासचिव पोखरेल जानुभएको थियो’, एमालेका एक नेताले पुष्टि गरेका छन् । 

स्रोतका अनुसार खनाललाई भेट्न शनिबार साँझ महासचिव पोखरेल डल्लु पुगेका थिए । स्रोतका अनुसार खनाललाई उपनिर्वाचनबाट जिताउने, राष्ट्रिय सभामा लैजाने वा पार्टी एकीकरण गर्ने जस्ता विषयमा छलफल भएको स्रोतले जनाएको छ । 

नेकपा एसले राष्ट्रपति पाएमा यसअघि खनाल राष्ट्रपतिको लागि दावेदार थिए । तर एस पार्टीभित्र खनालको विषयमा कुराकानी र बहस नभएपछि उनी पार्टीभित्र असन्तुष्ट रहँदै आएका छन् । 

पार्टीभित्र अहिले खनालको पक्षमा खासै नेता कार्यकर्ता रहेका छैनन् । उनको पक्षमा सांसद पनि नभएको अवस्थामा एमाले महासचिव पोखरेलले पार्टीभित्रै खेल्न खोजेका छन् । 

अन्तिम अवस्थामा माधव नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेको एमालेले यसपछि रामचन्द्र पौडेललाई बहुमत नपुर्याउने खेलामा लागेको छ । 

‘जसरी हुन्छ रामचन्द्र पौडेललाई बहुमत नपुगोस् भन्नेमा एमाले रहेको छ जसले गर्दा एस पार्टीका नेताहरु फकाउन थालेको छ’, एस पार्टीकै एक नेताले भने । 

अहिले एस पार्टीसँग १० सांसद रहेका छन् । उनीहरुको मात्रै मतले एमालेलाई जित्नका लागि पुग्दैन । त्यसमा माओवादीको मत आवश्यक पर्छ । एमाले अध्यक्ष केपी शर्मा ओली माओवादीका नेताहरुप्रति गाली गलौजमा उत्रिएका छन् । 

जसले गर्दा माओवादीहरु एमालेप्रति सकारात्मक हुन सकेका छैनन् । माओवादी सकारात्मक हुन नसकेको अवस्थामा एमालेप्रति सबै दल सकारात्मक भई मतदान गरेमा मात्रै एमालेका उपाध्यक्ष सुवास नेम्वाङ विजयी हुनेछन् । 

तर अहिलेको सत्ता समीकरण हेर्दा रामचन्द्र पौडेललाई भारी मत पुग्नेछ । उनको जित सहज हुने अवस्थामा पनि एमालेले सक्नेजति सबै पार्टीसँग खेल्ने गरी रणनीति बनाएको छ । 

गोप्य मतदान भएकाले एमालेले भरसक सबै पार्टीका नेताहरुसँग व्यक्तिगत रुपमा पनि कुराकानी गरिरहेको स्रोतले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ