arrow

बिहान ८ बजेदेखि नै सेवा दिने यातायात कार्यालयको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २४ बुधबार
yatayat-ekantakuna.jpg
तस्बिर – फाइल ।

काठमाडौं । देशभरिमा सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमा पर्ने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै सेवा शुरु गर्ने तयारी गरेको छ । 

कार्यालयमा सधै कार्यालय समयभन्दा घण्टौँ पहिले नै सेवाग्राही लाममा हुने गरेकाले भीडभाड व्यवस्थापनका लागि बिहान चाँडै सेवा शुरु गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ । 

बिहान ८ बजेदेखि खुल्दा सेवाग्राही लाममा बस्नु नपर्ने र उनीहरुले थोरै समयमा काम गरिसक्ने कार्यालयका प्रमुख राजकुमार कपालीले बताए । उनले भने, “लाममा बस्न नपरेपछि बिचौलियाले पनि ठग्न पाउँदैनन् । आउँछन् र खुरुखुरु जान सक्छन् ।” 

बिहानदेखि सेवा शुरु गर्ने बारे अहिले छलफल भइरहेको कार्यालयले जनाएको छ । सेवा प्रवाह कार्यालय समयमा हुने भए पनि सेवाग्राही बिहान ६ बजेदेखि लाममा बस्ने गरेको उनले बताए । सेवाग्राहीलाई बुझाउन नसकिएको १० बजेसम्म दुई सय जना लाममा बस्ने उनले बताए । प्रमुख कपालीले भने, “ताला लगाए पनि बाहिरैबाट लाम हुने गरेको छ ।” 

कार्यालयले दैनिक तीनदेखि साढे तीन सय टोकन बाँड्ने गरेको छ । त्योबाहेक टाढाबाट आएको जाममा परेको वा तुरुन्त अनुमतिपत्र चाहिने सेवाग्राहीलाई टोकन नभए पनि अवस्था हेरेर सेवा दिइने प्रमुख कपालीले बताए । उनले भने, “समस्या रहेकालाई टोकन बिना ५० देखि एक सय सम्मलाई दिने गरिएको छ ।” 

कार्यालयमा अहिले दरबन्दीअनुसार नै जनशक्ति कार्यरत रहेका छन् । विसं २०७२ को दरबन्दीअनुसार ३५ जना र करारबाट २२ जना कार्यरत रहेका छन् । कार्यालयको व्यस्त समय ११ देखि २ बजेसम्म जनशक्ति कमी महसुस हुने भए पनि अरू समयमा जनशक्ति पर्याप्त नै हुने गरेको उनले बताए । सेवाग्राहीको भीडभाड बिहानी समयमा बढी भए पनि दिउँसो कम रहेको छ । उनले भने, “३ बजेपछि कार्यालय नै सुनसान हुन्छ ।”

यातायात कार्यालय सधैँ नै सेवाग्राहीको भीडभाड बढी हुने कार्यालयका रुपमा रहेको छ । पहिले सङ्घीय सरकारअन्तर्गत रहेको कार्यालय अहिले प्रदेश सरकारको अन्तर्गत गएको छ । 

कार्यालयहरुले केही वर्षदेखि टोकन प्रणाली शुरु गरे पनि सेवाग्राही घण्टौँ लाममा बस्नु परेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ