arrow

प्रचण्डको ध्यान राजदूत नियुक्तिमा, गंगासँगै अल्झिनु पर्दा सचिवहरु दिक्क

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २ बिहिबार
prachanda-ganga-dahal.jpg
तस्बिर–प्रधानमन्त्री प्रचण्ड एवं प्रधानमन्त्री पुत्री गंगा ।

काठमाडौं । विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद विस्तारको योजनामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यान सरकारी नियुक्तिमा परेको छ । यतिबेला परराष्ट्र अन्तर्गतका राजदूतहरु खाली रहेका बेला उनको ध्यान त्यता तानिएको हो । 

राजदूत खाली हुने देशमा क्यानाडा, अमेरिका, स्वीट्जरल्याण्ड, फ्रान्स, थाइल्याण्ड, यूएई र कुबेत छन् । पदावधि सकिएपछि युएईका लागि नेपाली राजदूत केपी ढकाल स्वदेश आइसकेका छन् भने कुबेतबाट दुर्गा भण्डारी आउँदो हप्ता फिर्ता हुने क्रममा छन् । 

यो विषयमा पनि प्रचण्डकी छोरी गंगा दाहालको विशेष चासो रहेको स्रोतको दाबी छ । ‘सरकारी नियुक्ति र मन्त्रालयको काममा प्रधानमन्त्रीपुत्री गंगाको विशेष चासो रहन थालेको छ’, प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले भने । 

उनका अनुसार प्रधानमन्त्रीले १६ वटा मन्त्रालय सम्हालेका कारण सबै मन्त्रालयका सचिवहरुले प्रधानमन्त्रीलाई नै विवरण बुझाउनु पर्ने र कामको जिम्मेवारी र प्रकृतिबारे बुझाउनु पर्ने भएकाले प्रधानमन्त्रीलाई भेट्न जाँदा पनि शुरुमा प्रधानमन्त्रीपुत्री गंगालाई भेटेरमात्रै प्रधानमन्त्री प्रचण्डलाई भेट्नुपर्ने बाध्यता रहेको छ ।

 ‘घण्टौँसम्म पर्खदा पनि पालो आउँदैन, मूख्यसचिवलाई भन्नुपर्ने विषयमा पनि प्रधानमन्त्रीपुत्रीलाई भन्नुपर्ने हुन्छ, प्रधानमन्त्रीलाई भन्नुपर्ने पनि उहाँलाई नै भन्नुपर्ने हुन्छ’, एक मन्त्रालयका सचिवले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेका छन् । 

ती सचिवका अनुसार माओवादीले सम्हालेको मन्त्रालय बाहेक सबै मन्त्रालय रहेका नियुक्ति र सरुवामा प्रचण्डले आँखा लगाउन थालेका हुन् । भरसक मन्त्रिपरिषद विस्तार नहुँदै महत्वपूर्ण निर्णय गर्ने तयारीमा उनी लागेका छन् ।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुष ११ गते मन्त्रिपरिषद्लाई पहिलोपटक विस्तार गरेका थिए । तर त्यसयता उनको मन्त्रिपरिषद निरन्तर अस्थिर छ ।

पुस १० मा एमाले लगायतका दलसँग गठबन्धन गरेका प्रचण्डले फागुन १२ देखि एमालेसँग सम्बन्ध अन्त्य गरेर नयाँ सत्ता गठबन्धन निर्माण गरेका छन् । फागुन १२ अघि नै उनको मन्त्रिपरिषद पूर्ण थिएन । 

बरु त्यही बीचमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट मन्त्रीहरू फिर्ता बोलाएको थियो । त्यसपछि त एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० समेत सरकारबाट बाहिरिएपछि दाहालले फागुन १५ यता १६ वटा मन्त्रालयको जिम्मेवारी आफूसँग राखेका छन् । 

अहिले सरकारमा कांग्रेस, नेकपा एस, जसपा लगायतका पार्टीहरु जान खोजिरहेका बेला महत्वपूर्ण मन्त्रालयको सरुवा बढुवा त्यसअघि नै  सिध्याउने योजनामा रहेको स्रोतको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ