arrow

गृह मन्त्रालयमा तीन पार्टीको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ४ शनिबार
home-ministry-nepal.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हालिरहेका गृह, अर्थसहित १६ वटा महत्वपूर्ण मन्त्रालयमध्ये नेकपा एकीकृत समाजवादीले गृह मन्त्रालयमा दाबी गरेको छ । 

गृहमा नेपाली कांग्रेस र माओवादी केन्द्रले दाबी गरेको भए पनि अहिलेको गठबन्धन बनाउन महत्वपूर्ण भूमिका रहेको भन्दै नेकपा एसले दाबी गरेको हो । 

गत पुस १० को गठबन्धनको एमालेले आफूहरुलाई सरकार बाहिर राखेको र माओवादीलाई मात्रै च्यापेको भन्दै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले कांग्रेससहितको गठबन्धन बनाउन योगदान गरेको दाबी गर्दै सरकारमा महत्वपूर्ण मन्त्रालय बार्गेनिङ गरेका हुन् । 

उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि प्रधानमन्त्री प्रचण्डले पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग सरकार विस्तार र विश्वासको मत लिने विषयमा गरेको छलफलको क्रममा नेपालले गृहमन्त्रालसहित चार मन्त्रीको दाबी गरेका थिए । 

संसदमा उनको सीट १० रहे पनि चार मन्त्री मागेपछि उनको बार्गेनिङ ठूलो भएको नेताहरुले महसुस गरेका छन् । संविधानमा २५ भन्दा बढी मन्त्रालय बनाउन नपाउने र अहिले २२ वटा मन्त्रालय रहेको अवस्थामा एस पार्टीले ४ मन्त्री मागेपछि अरु दललाई कति मन्त्री दिने भन्नेमा प्रचण्ड अन्योलमा रहेका छन् । 

चार मन्त्री नपाए नेकपा एसले तीन मन्त्री चाहिँ लिएरै छाड्ने जनाएको छ । ठूलो पार्टीको हिसाबले सन्तुलन मिलाउन पनि गृह र अर्थ कांग्रेसले दाबी गरेको छ । 

यस्तै गृह मन्त्रालय प्रधानमन्त्रीकै पार्टीले सम्हाल्नुपर्ने भन्दै माओवादी नेताहरूको पनि दाबी रहेको छ । सोही अनुसार प्रधानमन्त्री प्रचण्डले सचिव बाहेकका अन्य तहमा आफ्ना कर्मचारीहरुको सरुवा गरिसकेका छन् ।  

विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तारको तयारी गरेका भए पनि गृह, अर्थ जस्ता मन्त्रालयमा कुन पार्टीले सम्हाल्ने भन्ने विवाद कायमै भएकाले प्रधानमन्त्रीले पहिला विश्वासको मत लिएर मात्रै सरकार विस्तारमा लाग्ने भएका हुन् । 

जसअनुुसार सोमबार विश्वासको मत लिने भनेर प्रधानमन्त्रीले संसदलाई पत्राचार नै गरिकसेका छन् । नेकपा एसका नेताहरू राजेन्द्र पाण्डे, प्रकाश ज्वालालगायतका नेताहरूले नै गृह मन्त्रालय आफूहरूले पाउनुपर्ने भन्दै माधव नेपाललाई दबाब दिएपछि त्यसको भार थेग्न नसकेको स्रोतको दाबी छ । 

चैत ७ गतेबाट सरकार विस्तार हुने भएपछि तीन पार्टीले नै गृह मन्त्रालयको दाबी गरेका हुन् । प्रधानमन्त्रीले चैत ६ गते विश्वासको मत लिए लगत्तै सरकारलाई पूर्णता दिने गरी यसअघिबाटै आन्तरिक रूपमा शीर्ष तहमा छलफल गरिरहेका छन् । 

उनले कांग्रेस, नेकपा एस, जसपालगायतका नेताहरू छलफल गरिरहेका छन् । ‘अहिलेको होस् वा चुनाव अघिको होस् गठबन्धन निर्माण र सरकारलाई टिकाउने विषयमा नेकपा एसको भूमिकालाई पन्छाउन मिल्दैन । त्यसकारण हामीले सरकारमा जानका लागि महत्वपूर्ण मन्त्रालय चाहिन्छ भनेका हाैं, हाम्रो भूमिकालाई माइनस गर्न पाइदैन र जनताका लागि सेवा प्रदायक मन्त्रालय दाबी गरेका हाैं । ती मध्येको एक गृहमन्त्रालय पनि हो’, नेकपा एसका प्रवक्ता एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने । 

जसअनुसार कांग्रेसले ८ देखि १० मन्त्रालय पाउने र नेकपा एसले ३ मन्त्रालय पाउने भएका छन् । ‘हामीले ३ मन्त्रालयको दाबी गरेका छौं । त्यसमा पनि गृह मन्त्रालय पाउनुपर्छ भन्ने दाबी छ,’ खतिवडाले भने ।
  
अहिले प्रधानमन्त्रीसँग १६ वटा मन्त्रालय रहेका छन् । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस ११ गते मन्त्रिपरिषद्लाई पहिलोपटक विस्तार गरेका थिए । तर त्यसयता उनको मन्त्रिपरिषद् निरन्तर अस्थिर भएकाले १६ वटा मन्त्रालय एक्लै सम्हाल्नु परेको थियो । 

पुस १० मा एमाले लगायतका दलसँग गठबन्धन गरेका प्रचण्डले फागुन १२ देखि एमालेसँग गठबन्धन तोडेर कांग्रेस सहितको नयाँ सत्ता गठबन्धन निर्माण गरेका थिए । 

फागुन १२ अघि नै उनको मन्त्रिपरिषद् पूर्ण थिएन । बरु त्यही बीचमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट मन्त्रीहरू फिर्ता बोलाएको थियो । 

त्यसपछि एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समेत सरकारबाट बाहिरिएपछि प्रचण्डले फागुन १६ यता १६ वटा मन्त्रालयको जिम्मेवारी आफूसँग राखेका छन् । 

‘माओवादी अध्यक्षले नै कांग्रेसलाई गृहमन्त्रालय नदिने बरु नेकपा एसलाई दिने भनिरहेका कारण पनि एसले गृहको दाबी गरेको हो’, नेकपा एसका एक नेताले भने । 

प्रचण्डको मन्त्रिपरिषद् अहिले जम्मा ६ सदस्यीय छ । पुस ११ मा ८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा पनि दाहालले अर्थ, भौतिक पूर्वाधार तथा यातायात र गृह मन्त्रालयमा मात्रै जिम्मेवारी तोकेका थिए । 

बाँकी १८ मन्त्रालय आफंैले चलाएका थिए । माघ ३ मा मन्त्रिपरिषद् विस्तार गर्दा पनि उनले अरू दुईटा मन्त्रालय आफूसँग राखेका थिए । 

अहिले सत्ता गठबन्धनमा १० दल छन् । गठबन्धनमा सामेल भएका कति दल सरकारमा जान्छन् भन्ने कुरा अहिल्यै टुंगिएको छैन । 

‘अरु दलहरुको विषयमा हामीले जान्ने कुरा भएन तर गृहसहितकै मन्त्रालयमा हाम्रो दाबी छ । तबमात्र सरकारमा जाने निर्णय हुन्छ’, नेकपा एसका प्रचार विभाग प्रमुख खतिवडाले भने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ