- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले फराकिलो जित हासिल गरेको छ । बंगलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा बुधबार नेपालले भुटानलाई ५–० गोल अन्तरले हराएको हो ।
नेपालको जितमा वर्षा ओली र सेनु परियारले २–२ गोल गरे । दिपा रोकायाले एक गोल गरिन् । नेपालले मध्यान्तरअघि तीन तथा मध्यान्तरपछि दुई गोल गरेको हो ।
प्रतियोगितामा नेपालको यो पहिलो जित हो । जितसँगै नेपालले २ खेलमा ३ अंक जोडेको छ । सोमबार भएको पहिलो खेलमा नेपाल भारतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो ।
भुटानको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा भुटानलाई बंगलादेशले ८–१ गोल अन्तरले हराएको थियो ।
प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रुस सहभागी छन् । अब नेपालले तेस्रो खेलमा आइतबार रुससँग खेल्नेछ । यस्तै नेपालले अर्को हप्ताको मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।