arrow

सुरक्षित भविष्यको हवाला दिँदै सुजल अष्ट्रेलियातिर, जानुअघि संन्यासको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ९ बिहिबार
sag-football-nepal.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर सुजल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । बिहीबार राति अष्ट्रेलियामा उड्नुअघि उनले सामाजिक संजालबाट अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको घोषणा गरेका हुन् ।

सुजलले सन् २०११ मा भुटानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए । एन्फा एकेडेमीका उत्पादन सुजलले नेपाली राष्ट्रिय टोलीबाट ४५ खेल खेल्दै ३ गोल गरेका छन् ।

नेपालले सन् २०१६ मा मलेसियामा आयोजना भएको एएफसी सोलिडारिटी कपको उपाधि जित्दा सुजल टिममा थिए । नेपालमा आयोजना भएको १३ औं सागमा सुजलको कप्तानीमा नेपालले स्वर्ण पदक जितेको थियो । सुजलको गत नोभेम्बरमा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेल नेपालका लागि अन्तिम खेल रह्यो । 

उनले सुरक्षित भविष्यका लागि भन्दै अष्ट्रेलियाको बाटो समातेका हुन् । उनले लेखेका छन्, ‘११ वर्ष, ५१ खेल आफ्नो देशको झन्डा छातीमा बोकेर मैदानमा उत्रने अवसर पाउँदा निकै गर्विलो महसुस गरेको छु । केहि खुशीका पल त केही दुःखका, कतै उपाधि त कतै निराश क्षण लगायत यी सबै तिता मिठा सम्झनाहरु मनमा समेटी आज म राष्ट्रिय टोलीबाट आफ्नो संन्यास घोषणा गर्दछु ।’

उनले अगाडि लेखेका छन्, ‘यति लामो समयसम्म राष्ट्रिय टोलीको जर्सी लगाउन पाउनु मेरो लागि ठूलो सम्मान थियो । मैले यो गर्व र जोशका साथ निर्वाह गरेँ । हाल राष्ट्रिय टोलीमा रहेका र अन्य भाइहरु धेरै क्षमतावान छन् । र, म विश्वस्त छु कि भाइहरुले देशको झन्डा झुक्न दिने छैन । अब पालो नयाँ पुस्ताको हो ।’

उनले अन्त्यमा लेखेका छन्, ‘सबै प्रशंसक र समर्थकहरूलाई धन्यवाद जसले मलाई ताली र जयजयकारले साथ तथा हौसला दिए । साथै मलाई विस्वास गर्दै नियमित राष्ट्रिय टोलीमा स्थान दिदै यहाँ सम्म पुराउन मद्दत गर्नुहुने सम्पूर्ण प्रसिक्षकहरुलाई पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु । मलाई लाग्छ अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने यो मेरो लागि उपयुक्त समय हो ।’



नयाँ