- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाल रुससँग पराजित भएको छ ।
बङ्गलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा आज भएको खेलमा रुसले नेपाललाई ३-० गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा रुससँग गोलरहित बराबरीमा खेलेको नेपालले दोस्रो हाफमा तीन गोल खायो ।
रुसको जितमा एलिना गोलिकले दुई तथा पोलिना फिलसिनाले एक गोल गरिन् । खेलको ६३औँ मिनेटमा एलिनाले गोल गर्दै रुसलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ७४औँ मिनेटमा एलिनाले व्यक्तिगत दोस्रो गोल गर्दै रुसलाई २-० को अग्रता दिलाइन् ।
त्यसपछि खेलको ८३औँ मिनेटमा पोलिनाले गोल गर्दै रुसलाई ३-० को जित दिलाइन् । यस जितसँगै रुसले तीन खेलमा ९ अङ्क जोडेको छ । रुस शीर्ष स्थानमा उक्लिएको छ । यता नेपालको यो दोस्रो हार हो । नेपाल तीन खेलमा ३ अङ्क जोडेर चौथो स्थानमा रहेको छ ।
प्रतियोगितामा आयोजक बङ्गलादेश, नेपाल, भारत, भूटान र रुसको सहभागिता रहेको छ । नेपालले राउन्ड रोविन लिगको अन्तिम खेलमा मङ्गलबार आयोजक बङ्गलादेशसँग खेल्नेछ ।