arrow

लम्बियो मन्त्रिपरिषद् विस्तारको भाखा, पिरलो ‘गृह’ को 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
deuba-prachanda-nepal-1353.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृह मन्त्रालयको दाबीलाई कायम राखेको र मन्त्रालय भागबण्डामा कुरा नमिलेपछि मन्त्रिपरिषद विस्तार अझै ढिला हुने भएको छ । 

सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच मन्त्रालय भागबण्डाको विषयमा केही असमझदारी उत्पन्न हुँदा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको हो । 

‘नेकपा एसले दाबी गरिरहेको गृहमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई ल्याउने तयारी गरेपछि नेताहरुबीच असमझदारी उत्पन्न भएको हो’, गठबन्धन दल निकट एक नेताले भने । 

उनका अनुसार सत्ता गठबन्धनमा शीर्ष नेताहरुले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा मंगलबार अपराह्नसम्मको भाखा राखेर हिँडेका छन् । सोमबार बिहानको भेटघाटले मन्त्रिपरिषद् विस्तारका लागि मंगलबार अपरान्ह ४ बजे सत्ता गठबन्धनको बैठक बोलाउने समझदारी भएको थियो ।

 ‘गठबन्धन दलहरुको बैठक मंगलबार बस्ने भएको छ, यसपछि मात्रै मन्त्रिपरिषद विस्तार हुन्छ होला’, प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले भने । 

एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहाल एक्लैले १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । सत्ता गठबन्धनबीच कसले कुन मन्त्रालय पाउने भन्ने अन्तिम भागबन्डा नभएको र दलभित्रै पनि कसलाई मन्त्री बनाउने भन्ने निष्कर्षमा दलहरु नपुग्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भइरहेको छ । 

रास्वपाले सरकारमा जाने  मनस्थिति बनाए पनि पुराना मन्त्रालय नपाउने अवस्था छ । जसले गर्दा रास्वपा सरकारमा जाने नजानेबारे केही निर्णय गरिसकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ