arrow

मापदण्ड विपरीत रहेको कोहलपुरको बेलनपुर वधशाला बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १६ बिहिबार
badsala.JPG

कोहलपुर । कोहलपुर नगरपालिकामा रहेको  बेलनपुर वधशाला तत्कालका लागि बन्द गरिएको छ । 

मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएपछि कोहलपुर ४ बेलनपुर वधशालामा पशुबध गर्न रोक लगाइएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । कोहलपुर नगरपालिकाको अगुवाइमा भएको अनुगमनमा स्थानीय नसिव इद्रिसीले अनुमति नलिएरै राँगा भैँसी काट्ने गरेको र अर्का एक जनाले अनुमति लिए पनि मापदण्डको पालना नगरेको पाइएपछि वधशाला तत्कालका लागि बन्द गरिएको थापाले बताए ।

कोहलपुर नगरपालिका ४ का वडा अध्यक्ष मुबारक अलि गुल्जार, नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख बीरबहादुर विक, पशु शाखा प्रमुख गोविन्द रोकाय, इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक महेश आचार्य, कुखुरा विकास फर्म खजुराका प्रमुख डा. शङ्कर न्यौपाने लगायतको टोलीले वधशालाको अनुगमन गरेको हो । 

स्थानीयवासीले पनि ती वधशालाबारे स्थानीय सरकारलाई गुनासो गर्दै आएका थिए । रांगाभैंसी काट्ने ठाउँको उचित सरसफाइ नगरेको, त्यहाँबाट निस्कने फोहोर व्यवस्थापन नगरेको, कतिपय फोहोर नालामा मिसाउने गरेको लगायतको गुनासो स्थानीयको छ ।

पशु स्वास्थ्य तथा पशु ऐन २०५५, वातावरण संरक्षण ऐन ०७६, पशु वधशाला र मासु जाँच ऐन २०५५ को मापदण्डमा रहेर मात्रै पशु वधशाला सञ्चालन गर्न दिने निर्णय भएको अनुगमन समितिका सदस्य डा.न्यौपानेले बताए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ