- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सातौँ संस्करणको विराट गोल्डकपको उपाधि आयोजक विराटनगर सिटी क्लबले जितेको छ ।
सहिद रङ्गशालामा आज सम्पन्न भएको रात्रिकालीन गोल्डकपको फाइनलमा भारत लुका सकर क्लब केरलालाई ४–० गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधि उचालेको हो । छ दशकपछि घरेलु मैदानमा विराटनगरले पाहुना टोलीलाई पाखा लगाउँदै सातौँ संस्करणको विराट गोल्डकप उपाधि जित्न सफल भएको हो ।
विराटनगर सिटीले उपाधिसँगै नगद रू २० लाख १५ हजार हात पारेको छ । उपविजेता केरलाले रु १० लाख १५ हजारमा चित्त बुझायो । जितका लागि विराटनगर सिटीका अफिज ओरवा, बिमल घर्तीमगर, मेसुके र अभिषेक गुरूङले गोल गरेका थिए ।
विसं २०१८ को महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलाकाता विजेता बनेको थियो । विसं २०१९ मा आयोजक मोरङ ११ ले उपाधि जित्दा कोलकाता उपविजेता भएको थियो ।
फाइनल खेलको म्यान अफ द म्याच विराटनगर सिटीका सुरज विके घोषित भए । उनले नगद ११ हजार पाए । फाइनलमा विधागत पुरस्कारमा पनि विराटनगर सिटीको बर्चस्व कायम रह्यो । बेस्ट प्लेयर अफ द टुर्नामेन्ट विराटनगर सिटीका मेसुके घोषित भए । यस्तै फेयर प्लेर अफ द टुर्नामेन्ट जावलाखेल युथ क्लब घोषित भएको छ ।
हाइस्कोरर विराटनगर सिटीका अभिषेक गुरूङ भए । उनले खेल अवधिभर दुई गोल गरेका थिए । बेस्ट फरवार्ड भारतको चालीज क्युराको, बेस्ट मिल्ड फिल्डर विराटनगर सिटीका युका सुजुकी, बेस्ट गोल किपर विराटनगर सिटीका विशाल श्रेष्ठ घोषित भए । बेस्ट डिफेन्टर विराटनगरका देवेन्द्र तामाङ घोषित भए ।
बेस्ट कोच विराटनगर सिटीका सन्तोष न्यौपाने भए । विधागत रुपमा अवार्ड पाउनेहरूले जनही रु २५ हजार पाए ।