arrow

संशोधनसहित प्रतिनिधि सभा नियमावली मस्यौदा पारित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
parliament-2079-12-19.jpg

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई संशोधनसहित पारित गरेको छ । बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीका तर्फबाट समिति सदस्य रमेश लेखकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । 

उक्त प्रस्तावलाई बहुमतले पारित गरेको हो । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई पारित हुनुअघि बैठकमा उक्त प्रतिवेदनमाथि दफावार छलफल भएको थियो । 

छलफलका क्रममा सभापति चित्रबहादुर केसीका तर्फबाट समिति सदस्य लेखकले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ  दिएका थिए । जवाफको क्रममा समिति सदस्य लेखकले समावेश गर्न आवश्यक केही संशोधनहरुलाई मस्यौदामा स्वीकार गरिएको सभालाई जानकारी गराएका थिए । 

यसैगरी, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आव २०७८–०७९)’ पेश गरेकी थिइन् । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए । 

बैठकको शुरुमा सभामुख घिमिरेले आज मात्र सपथ लिएकी जनता समाजवादी पार्टी नेपालकी समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीलाई बैठकमा स्वागत गरेका थिए । प्रतिनिधि सभाको अर्को बैठक यही चैत २३ गते दिउँसो १ बजे बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ