arrow

आयुर्वेदद्वारा मुख्यमन्त्री-जनता स्वास्थ्य कार्यक्रम लागू

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २८ मंगलबार
aaurbed.JPG

काभ्रे । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोकले ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ लागू गरेको छ । केन्द्र तथा चार स्थानीय तहमा रहेका आरोग्य सेवा केन्द्रबाट उक्त कार्यक्रम सुरु गरिएको हो ।  

बागमती प्रदेश कार्यालयको समन्वयमा उक्त कार्यक्रम सुरु गरिएको केन्द्रका प्रमुख डा वंशबदा कौण्डिन्यायनीले जानकारी दिए । उनका अनुसार सर्ने रोगभन्दा नसर्ने रोगको अवस्था भयावह हुँदै गएकाले कार्यक्रम सुरु गरिएको हो । “मधुमेह, उच्च रक्तचाप र मिर्गाैला रोग लाग्नै नदिन अभियान सञ्चालन गर्न लागेका छौँ”, उनले भने ।

केन्द्रले बहिरङ्ग सेवाअन्तर्गत निःशुल्क स्वास्थ्योपचार तथा परामर्श, विभिन्न २३ प्रकारका औषधिको निःशुल्क वितरण, स-शुल्क फार्मेसी, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन, मातृशिशु स्वास्थ्य प्रवद्र्धन, पञ्चकर्मअन्तर्गत पूर्वकर्म सेवा, प्रयोगशाला परीक्षण, आयुर्वेदले निर्देश गरेको जीवनशैलीसम्बन्धी परामर्श, योगअन्तर्गत आसन, प्राणायाम तथा ध्यानलगायतका सेवा प्रदान गर्दै आएको छ । जिल्लामा धुलिखेल, दाप्चा, बालुवा, मङ्गलटार आयुर्वेद औषधालय तथा खरिबोट, मण्डन नागरिक आरोग्य सेवा केन्द्र, भुम्लु गाउँपालिका र नागरिक आरोग्य सेवा केन्द्र बेथानचोक गाउँपालिकाबाट सेवा प्रदान गर्दै आएको छ ।
 
गत फागुन दोस्रो सातादेखि नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रअन्तर्गत उक्त अस्पतालमा नसर्ने रोगसम्बन्धी जाँच निःशुल्क गर्दै आएको छ । उक्त कार्यक्रममा रु दुई हजार दुई सयमा निःशुल्कबाहेक  पिसाब, दिसा, रगत, मिर्गौला, कलेजो, फोक्सो, छातीको एक्सरे, इसिजी र युएसजी जाँच भइरहेको छ । 

स्थानीय तहको सिफारिसका आधारमा लोपोन्मुख समुदाय, अति सीमान्तकृत र आश्रित नागरिकलाई प्रदेश सरकारले निःशुल्क स्वास्थ्य सेवा बीमामार्फत उपलब्ध गराउने भएको हो । कार्यक्रमअन्तर्गत हरेक साताको एकपटक परीक्षण हुने छ । यसलाई विस्तारै वृद्धि गर्दै लैजाने प्रदेश सरकारको योजना छ । 

मन्त्रालयले प्रदेशभरका अस्पतालका लागि सरकारले चालु आर्थिक वर्षभित्र स्वास्थ्य नीति तयार गर्ने तथा जनशक्तिको ‘ओएनएम सर्भे’ तयारी गर्ने र प्रदेशभित्रका सबै अस्पतालमा पूर्वाधारअनुसारको जनशक्ति र उपकरण व्यवस्था गर्ने योजना बनाएको छ । यस्तै सरकारले बिरामी र अशक्त भएका ज्येष्ठ नागरिकको उपचार सेवाका लागि घर-घरमा स्वास्थ्यकर्मी पठाएर उपचार गराउने गरी स्थानीय स्वास्थ्य संस्थामार्फत जनशक्ति व्यवस्थापन गर्नेसमेत योजना बनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ