arrow

एसीसी प्रिमियर कप

भारत र पाकिस्तानसँग खेल्ने लक्ष्यसहित मैदानमा उत्रदै नेपाल, मलेसियासँग भिड्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ५ मंगलबार
acc-premire-cup-2023.jpg

काठमाडौं । आजदेखि काठमाडौंमा एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले मलेसियासँग खेल्दैछ । यो खेल बिहान ९ः३० बजेदेखि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा हुँदैछ । 

सो खेलको समूह ‘ए’मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन् । समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् । 

पहिलो खेल मलेसियासँग खेल्ने नेपालले दोस्रो खेल भने ओमानसँग बैशाख ८ मा खेल्नेछ । मूलपानी मैदानमा साउदी अरेबियासँग तेस्रो खेल बैशाख ११ गते खेल्ने नेपालले अन्तिम खेल बैशाख १४ गते कतारसँग खेल्नेछ । 

पहिलो पटक मूलपानी क्रिकेट मैदानले यो स्तरको अन्तर्राष्ट्रिय खेल खेलाउने अवसर पाएको छ । 

सो खेलको सेमिफाइनल बैशाख १६ गते र फाइनल बैशाख १८ गते हुनेछ । प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।

भारत र पाकिस्तानसँग खेल्ने नेपालको लक्ष्य
यो खेलको विजेताले सेप्टेम्बरमा भारत र पाकिस्तान जस्ता टिमसँग एसिया कपमा खेल्ने भएकाले नेपालका लागि निकै नै चुनौतीपूर्ण र राम्रो अवसर दुवै रहेको छ । नेपालले विश्वकप लिग २ मा पछिल्लो समय गरेको सनसनीपूर्ण प्रदर्शनलाई निरन्तरता राख्ने हो भने एसिया कपमा छानिन सक्छ । 

नेपाललाई यसपालि घरेलु मैदानको पनि साथ रहेको छ । त्यसैले पनि खेलअघि कप्तान रोहित पौडेलले सोमबार एसीसी प्रिमियर कप जित्दै एसिया कपमा खेल्ने नेपालको लक्ष्य रहेको बताएका छन् । 

रोहितको कप्तानीमा नेपालले पछिल्लो समय चामत्कारिक प्रदर्शन गर्दै आइरहेको छ । यदि रोहितले देखेको सपना साकार भयो भने नेपालले छिमेकी भारत र पाकिस्तानजस्ता राष्ट्रसँग खेल्ने सपना पूरा हुनेछ । 

फेरि संयोग पनि मिलेको छ कि यसपालि प्रिमियर कप विजेताले एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्न पाउने छ । नेपालले वर्षौंदेखि देखेको सपना यसपालि पूरा हुने निकै ठूलो अवसर छ । 

नेपाल सन् २०१८ मा एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेपछि भारत र पाकिस्तानसँग खेल्ने सपना खेलाडीहरुले देखिसकेका छन् । त्यो यसपालि पूरा हुन सक्छ । 

मोन्टी फ्याक्टर 
भारतीय प्रशिक्षक मोन्टि देसाई यतिबेला नेपालका मूख्य प्रशिक्षक छन् । उनको आगमनसँगै नेपालले चामत्कारिक प्रदर्शन गरेको छ । 

विश्वकप लिग २ मा नेपालले गत दुई महिनामा खेलेका १२ मध्ये ११ खेल जितेर विश्वकप छनोटको यात्रा तय गरिसकेको छ । नेपालले एक खेलमात्र हार्दा पनि विश्वकप छनोटमा सिधै छानिन सक्ने थिएन । तीन खेल हारेको भए विश्वकप एक दिवसीयको मान्यता गुमाउने थियो । 

सन् २०२३ नेपालका लागि निकै नै महत्वपूर्ण र फलदायी बनेर आएको छ । अब बस् नेपालले घरेलु मैदानमा यही एसीसी कप जित्ने हो भने अर्को सफलता पनि पूरा हुने थियो । 

घरेलु मैदानमा खेलेका सबै ८ खेल जितेकाले पनि नेपाललाई प्रिमियर कपको बलियो दाबेदारका रुपमा हेरिएको छ । 

जसरी मोन्टिले खेलाडीहरुको मनोबल उच्च बनाउने काम गरेर नेपाललाई विश्वकपमा सिधै छनोट गराए त्यसरी नै नेपालले यो एसीसी कप जित्न कठिन छैन । मोन्टिले हरेर खेलाडीको क्षमता हेरिसकेका छन् । 

त्यसैले पनि मैदानमा दुई तीन खेलाडी नचल्दैमा नेपालले हार्ने अवस्था आउन छोडेको छ । अहिले युवा खेलाडीहरु एकसे एक देखिएका छन् । 

मोन्टिले जसरी ड्रेसिङ रुमलाई वातानुकूलित बनाउन खोजिरहेका छन् त्यसले मैदानमा पनि खेलाडीबीच राम्रो तालमेल देखाउँछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ