arrow

बाघका लागि सोलार जडित पानी पोखरी

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ७ बिहिबार
tiger1.jpg

बाँके । बाँके राष्ट्रिय निकुञ्जले बाघ, चित्तललगायतका वन्यजन्तुको संरक्षणका लागि सोलार जडित कृत्रिम पानी पोखरी निर्माण गरेको छ । निकुञ्जको सीमामा रहेका राप्ती र बबई नदीमा पानी नभएको र निकुञ्जभित्र पनि करिब ४६ खहरे खोलामा पानी नभएकाले वन्यजन्तुका लागि त्यस्ता पानी पोखरी निर्माण गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकार दिए । 

“बिहान वा बेलुकाको समयमा वन्यजन्तु पानी खान तछाडमछाड गरेको दृश्य देख्न सकिन्छ”, उनले भने । उनले सुक्खा समयमा चुरेको घाँसे मैदान आसपासमा सामान्य पानी रहने र वन्यजन्तुलाई पानीको अभाव हुने भएकाले प्रत्येक वर्ष करिब चार पोखरी निर्माण गर्ने योजनाअनुसार ती पानी पोखरी बनाइएको बताए । 

“सोलार जडित बोरिङबाट निरन्तर पानी आइरहन्छ र त्यसबाट आहार खाने विभिन्न प्रजातिका वन्यजन्तु पोखरीमा आएर प्यास मेटछन्”, प्रमुख संरक्षण अधिकृत शाह भन्छन् । निकुञ्जभित्र विभिन्न ठाउँका १० स्थानमा सोलार जडित पोखरी निर्माण भएका छन । यसलाई निकुञ्जको भूगोलअनुसार अझ बढाएर सघनरुपमा चार सय ५० पानी पोखरी निर्माण गर्ने योजना रहेको निकुञ्ज प्रशासनले जनाएको छ । सीमसार क्षेत्रमा पानी भइरहने पोखरी चार स्थानमा रहेको छ । निकुञ्जभित्र खनेर बनाइएको ८० पोखरी छ जहाँ सुक्खायामा पानी हुँदैन जसका कारण वन्यजन्तुलाई पानीको अभाव हुने गर्छ । 

कतिपय ठाउँमा ३० मिटरमा पनि पानी आएको छ भने कतिपय ठाउँमा ६० मिटरमा पनि पानी नआएको उल्लेख गर्दै अधिकृत शाहले सोलार जडित पोखरी निर्माणका लागि रु १० लाख खर्च हुने जानकारी दिए । शाहले पोखरी निर्माणसँगै वन्यजन्तुका आहारका लागि घाँसे मैदानसमेत बनाउँदै जाने जानकारी दिँदै वन्यजतुको सङ्ख्या, प्रकार र विविधतालाई संरक्षण गर्ने योजनाअनुसारका काम भइरहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ