arrow

नेपालको ऐतिहासिक जितमा बनेका कीर्तिमानहरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ८ शुक्रबार
50th-odi-nepal.jpg

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले शुक्रबार (बैशाख ८ गते) एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० औं खेल खेल्यो । राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गतको खेलमा ओमानविरुद्ध खेल्दै यो कोशेढुङ्गा छोएको नेपालले ऐतिहासिक जित हासिल गरेको छ । 

नेपालले ओमानलाई ८४ रनले हराएको छ । ओमानविरुद्ध खेलेको खेलमा नेपालले विभिन्न कीर्तिमानसमेत बनाएको छ । 

नेपालको इनिङ्स 
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शानदार शतक र सोमपाल कामीको शानदार अर्धशतकको मद्धतले ८ विकेटको क्षतिमा ३१० रन बनायो । 

नेपालले एक दिवसीयमा पहिलो पटक तीन सय रनको योगफल पूरा गरेको हो । एक दिवसीय खेलमा नेपालले यसअघि आईसीसी विश्वकप क्रिकेट लिग–२ मा पपुवा न्यूगिनीविरुद्ध २९७ रन बनाएको थियो । यसअर्थमा नेपालले व्यक्तिगततर्फ कीर्तिमान बनायो । 

कुशलले यसअघि चार वटा अर्धशतक बनाए पनि एक दिवसीयमा शतक भने बताउन सकेका थिएनन् । उनले शतक बनाएर कीर्तिमान बनाए । 

कुशलले नेपाली टिम कमजोर अवस्थामा रहेका बेलामा उत्कृष्ट खेल खेल्दै शतक बनाएका हुन् । उनले मात्र ५९ बलमा पहिलो शतक बनाएका हुन् । सो क्रममा उनले ९ छक्का र ९ चौकाको प्रहार गरेका थिए । 

उनी एक दिवसीयमा शतक बनाउने छैटौं नेपाली खेलाडी हुन् । तर उनको नाममा शानदार कीर्तिमान बन्यो । उनी कम बलमा शतक बनाउने पहिलो नेपाली खेलाडी बन्न सफल भए । 

उनी ६४ बलमा १०८ रन बनाएर आउट भएका छन् । यसअघि कप्तान रोहित पौडेलले ९५ बलमा शतक बनाएर छिटो शतक बनाउने कीर्तिमान आफ्नो नाममा राखेका थिए ।

त्यस्तै सोमपालले ४८ बलमा अविजित रहँदै ६३ रन बनाए । उनले नौ चौका प्रहार गरे । उनको यो दोस्रो एक दिवसीय अर्धशतक हो । त्यस्तै करण केसीले १५ बलमा अविजित रहँदै २९ रन बनाए । 

नेपालले कमजोर शुरुआत गर्यो । नेपालले रनको खाता खोल्नुअघि नै शुरुआती दुई विकेट गुमाउन पुग्यो । नेपालका लागि कुशल भुर्तेल ८ बल र आसिफ शेखले १० बल खेलेर रन नबनाइ आउट भए । नेपालले ४.४ ओभर अर्थात् २८ बलमा पहिलो रन बनाएको थियो । 

तर त्यसपछि आएका भीम सार्की र कप्तान रोहित पौडेलले भने आकर्षक खेले । दुवैले तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरे । सो क्रममा रोहित २३ तथा भीम ३३ रन बनाएर आउट भए । आरिफ शेखले २९ रन बनाए । त्यस्तै सन्दीप लामिछाने ८ तथा दिपेन्द्र सिंह ऐरी ७ रनमा आउट भए । 

ओमानको इनिङ्स 
ओमान नेपालभन्दा बलियो टिम हो । उसले विश्वकप लिग २ मा दोस्रो स्थानमा रहेर विश्वकपमा सिधै छनोट चरण खेल्न पाएको थियो । नेपाल भने तेस्रो भएर । 

शुक्रबारको खेलमा कीर्तिपुर मैदानमा ओमानले २२६ रनमात्र जोड्न सक्यो । उसले ४६.३ ओभरमा अलआउट हुँदै उक्त योगफल बनाएको हो । ओमानका लागि मोहम्मद नदीमले सर्वाधिक ६५ रन बनाए । त्यस्तै सन्दीप गोउडले ४६ रन जोडे । ९९ रन जोड्दा ओमानले ५ विकेट गुमाएको भए पनि सम्मानजनक स्कोर जोड्न सक्यो । 

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३–३ विकेट लिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २ तथा ललित राजवंशीले १ विकेट लिए । 

सन्दीपले बनाए विश्व कीर्तिमान
बलात्कार आरोपमा मुद्दा खेपिरहेका स्पिन बलर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा एक सय दुई विकेट पूरा गरेका छन् ।  

उनले विश्व कीर्तिमानसहित एक सय विकेट पूरा गरेका हुन् । ओमानका अदिल शाफिकको विकेट लिएसँगै सन्दीपले सय विकेट पूरा गरेका हुन् । त्यसपछि यही खेलमा थप दुई विकेट लिए । 

उनले कम खेलमा सय विकेट पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि ओडीआईमा ४४ खेलमा सय विकेट पूरा गरेर अफगानिस्तानका खेलाडी राशिद खानको नाममा कीर्तिमान रहेको थियो । खानले सन् २०१८ मा ४४ एक दिवसीय अन्तराष्ट्रिय खेलमा एक सय विकेट पूरा गरेका थिए ।

सन्दीपले ४२ एक दिवसीय अन्तर्राष्ट्रियमा सय विकेट पूरा गरेका छन् । यसअघि अष्ट्रेलियाका मिचेल स्टार्कले ५२ खेलमा सय विकेट पूरा गरेका थिए । 

नेपालका लागि सन्दीपपछि सोमपाल कामीले ४५ खेलमा ६१ विकेट लिएका छन् । 

सन्दीपले सन् २०१८ अगष्ट १ का दिन खेलिएको नेपालको पहिलो ओडीआई खेलमा डेब्यु गरेका थिए । सन्दीपले नेपालको लागि १४ ओडीआई खेलमा कप्तानी गरेका थिए ।

तर निकै नै उत्कर्षको क्रिकेट खेलिरहेका बेलामा नाबालिग बलात्कार आरोपमा परेपछि उनी गत वर्षको भदौ अन्तिमदेखि फागुनसम्म खेल्न पाएनन् । केही समय उनी जेलमासमेत रहे । उनको मुद्दाको अन्तिम सुनुवाइ हुँदैछ ।

नेपालको ५० खेलको नालीबेली 
सन् २०१८ मार्च १५ मा एक दिवसीय मान्यता प्राप्त गरेको नेपालले आज ५० ओडीआई खेलेको छ ।

जारी प्रतियोगितामा एउटै समूहमा रहेका नेपाल र ओमान ओडीआई मान्यता देश हुन् । त्यसैले यो खेल ओडीआई मान्यता प्राप्त हो । यसबाट एक दिवसीय वरीयता पनि निर्धारण हुनेछ । 

नेपालले पहिलो ओडीआई खेल सन् २०१८ अगष्ट १ मा नेदरल्यान्ड्ससँग उसकै घरेलु मैदानमा  खेलेको थियो । दुई खेलको सिरिजमा पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा भने रोमाञ्चक १ रनको जित हासिल गरेको थियो । 

नेपालले ५० ओडीआई खेलमा २७ मा जित, २१ मा हार, एकमा बराबरी र एक खेलमा नतिजाविहीन छ ।

५० मध्ये नेपालले आईसीसी विश्वकप लिग २ मा ३६ खेल खेलेको थियो । एक खेल एसिया कप छनोट प्रतियोगितामा युएईविरुद्ध खेलेको थियो । 

बाँकी १२ खेल दुई देशीय श्रृंखलाको रुपमा नेदरल्यान्ड्ससँग २, यूएईसँग ६ र पपुवा न्यूगिनी (पीएनजी) सँग ४ खेल खेलेको थियो । एउटा एसीसी प्रिमियर कपमा ।

नेपालले ७ देशसँग ओडीआई खेल खेलेको छ । नेपालले यूएई, पीएनजी, स्कटल्यान्ड, नामिबिया, ओमान, अमेरिका र नेदरल्यान्ड्ससँग ओडीआई खेल खेलेको छ । 

नेपालले ओडीआई मान्यता प्राप्त सबैभन्दा धेरै खेल यूएईसँग १३ र सबैभन्दा कम नेदरल्यान्ड्ससँग २ खेल खेलेको छ ।

नेपालले यूएईसँग १३ खेल खेलेकोमा ७ मा जित र ६ खेलमा पराजित भएको थियो । पीएनजीसँग नेपालले १० खेल खेलेकोमा ८ मा जित र २ मा हार व्यहोरेको थियो ।

नामिबियासँग ६ खेलमा २ मा जित, ३ मा हार र एक खेल वर्षाको कारण नतिजाविहीन बनेको थियो । अमेरिकासँग ६ खेलमा खेलेकामा ३ मा जित, २ मा हार र एक खेल बराबरी भएको थियो  ।

स्कटल्यान्डसँग ६ खेलमा खेलेकोमा ३ मा जित र ३ मा हार रहेको थियो । ओमानसँग ७ खेल खेलेकोमा ३ मा जित र ४ मा हार व्यहारेको छ । नेदरल्यान्ड्ससँग दुई खेल खेल्दा समान एकमा जित र एकमा हार व्यहोरेको थियो । 

यस बीचमा नेपालले पपुवा न्यूगिनी र यूएईसँग समान २–२ श्रृंखला खेलेको छ । नेपालले २०१९ मा यूएईलाई उसकै भूमिका तीन खेलको श्रृंखलामा २–१ ले हराएको थियो ।

सन् २०२२ मा घरेलु मैदानमा नेपालले यूएईलाई २–१ ले हराएको थियो । सन् २०१८ मा नेपालले युएईसँग एसिया कप छनोटमा खेलेको एक खेलमा नेपालले हार व्यहोरेको थियो ।

पीएनजीसँग नेपालले सन् २०२१ मा ओमानमा दुई खेलको श्रृंखला क्लिनस्विप गरेको थियो । सन् २०२२ मा नेपालमा नै भएको दुई खेलको ओडीआई श्रृंखलामा पीएनजीले क्लिन स्विप गरेको थियो । 

नेपालले आफ्नो ४९ औं ओडीआई खेल भने यूएईविरुद्ध खेलेको थियो । आईसीसी विश्वकप लिग २ को पुछारमा परेपछि यूएई र पीएनजीले ओडीआई मान्यता गुमाएका छन् । 

नेपाल अहिले आईसीसी एक दिवसीय वरीयताको १४ औं स्थानमा छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ