arrow

प्रिमियर कपमा नेपाल साउदीसँग खेल्दै, मौसमले असर गर्ने संकेत 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
acc-nepal-saudi-hk.jpeg

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ । पहिलो पटक नेपालले मूलपानी क्रिकेट मैदान एमसीजीमा नेपालले अन्तर्राष्ट्रिय खेल खेल्दै गर्दा आजको खेल पूर्ण हुनेमा भने शंका छ । 

हिजोदेखि उपत्यकामा पर्न थालेको पानीले आज पनि निरन्तरता पाउने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार आज दिनभर उपत्यकाको मौसम बिग्रने छ । 

बिहानसम्म वर्षा भएकामा फेरि पनि वर्षाको सम्भावना रहेको उनले बताए । 

नेपाल र साउदीबीचको खेल बिहान ९ बजे शुरु हुने कार्यक्रम रहेको छ । तर भिजेको मैदान र अहिलेको मौसमको अवस्था हेर्दा समयमै खेल शुरु हुनेमा शंका छ । 

उपाधि दाबेदार नेपाल आज साउदीलाई हराएर एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउन चाहन्छ । साउदी पनि नेपाललाई हराएर सेमिफाइनल सम्भावना बलियो बनाउने योजनामा छ ।

नेपाल र साउदीबीच अहिलेसम्म एक खेल भएकोमा नेपाल अपराजित रहेको छ ।

नेपाल र साउदी बीचको एक मात्र भेट २०१२ मा युएईमा आयोजना भएको एसीसी ट्रफि एलिटमा भएको थियो । त्यो खेल नेपालले ९ विकेटले जितेको थियो । 

जारी प्रतियोगितामा नेपालले यसअघि मलेसिया र ओमानलाई हराएको छ । प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा आयोजक नेपालसहित मलेसिया, ओमान, साउदी अरेबिया र कतार रहेका छन् । समूह बी मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।

यस्तै शीर्ष तीनमा रहने टोली एसीसी इमर्जिङ कपका लागि छनोट हुनेछन् । नेपाल प्रमुख दावेदार हो । 

आजै कीर्तिपुर मैदानमा हङकङ र बहराइन खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ