arrow

नेपाललाई कीर्तिपुर मैदानमा उच्च स्कोर खडा गर्ने अवसर, कतारसँग भिड्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १४ बिहिबार
acc-nepal-qatar-2023-04-27.jpg

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले कतारसँग खेल्दैछ । समूह ए मा रहेको नेपालले समूह चरणको अन्तिम खेल कीर्तिपुर मैदानमा बिहान ९ बजे खेल्नेछ । 

यो खेलको जित हारले नेपाललाई खासै फरक पर्दैन । तर नेपालले यही खेलमा कीर्तिमान बनाउन सक्नेछ । 

कीर्तिपुर मैदानमा यही प्रतियोगिताको समूह चरणको खेलमा यूएईले सिंगापुरमाथि कीर्तिमानी रन बनाएको थियो । यूएईले एकै इनिङ्समा ४७१ रन बनाएको थियो । र सिंगापुरले पनि २७० रन बनाएको थियो । 

समग्रमा एकैदिन एकै खेलमा ७४१ रन बनेको थियो । नेपालले घरेलु मैदानमा घरेलु दर्शकलाई भरपूर मनोरञ्जन दिलाउने क्रममा रेकर्ड बनाउने अवसर छ । आजको मौसम पनि राम्रो भएकाले गर्दा नेपाललाई त्यो अवसर छ । 

नेपालका हरेक युवा खेलाडीको ब्याट चल्छ । यदि पहिले ब्याटिङ गर्ने अवसर पाउने हो भने नेपालले उच्च योगफल बनाउन सक्छ । कतार समूह ए को सबैभन्दा कमजोर टिम हो । कतारले एक अंक पनि जोडेको छैन । 

समूह ए बाट सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लागिसकेको अवस्थामा यो खेलपछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ । 

नेपाल ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ एक खेल अगाबै सेमिफाइनलमा पुगेको थियो । ओमान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ सेमिफाइनलमा स्थान बनाएको थियो । 

नेपाललाई समूह विजेता बन्न कतारलाई जित्नुपर्छ । कमजोर कतारसँग अप्रत्याशित हार बेहोरे पनि नेपाललाई यो प्रतियोगिताकालाई फरक पर्दैन । 

नेपाल विजयी हुँदा ७ अंकका साथ समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउनेछ । वर्षा वा कुनै कारण खेलमा अंक बाँडेमा पनि नेपाल समूह विजेता बन्नेछ । अंक बाँड्दा नेपाल र ओमान दुवैको समान ६ अंक हुनेछ । 

नेपाल रनरेटमा अघि रहेर समूह विजेता बन्नेछ । 

१० राष्ट्र सहभागी प्रतियोगितामा पाँच पाँच राष्ट्रको दुई समूह रहेको छ । हरेक समहका दुई राष्ट्रले शनिबार हुने सेमिफाइनल खेल्नेछन् । 

आजको अर्को खेलमा हङकङ र कुवेत भिड्दै छन् । यो खेलको विजेता सेमिफाइनलमा पुग्नेछ । ६ अंकका साथ यूएई सेमिफाइनलमा पुगिसकेको छ । ५ अंकको हङकङ र ४ अंकको कुवेतको विजेता सेमिmाइनलमा पुग्ने भएको हो । 

आगामी सोमबार फाइनल हुनेछ । उपाधि विजेता टोली एसिया कपमा खेल्न पाउनेछ । एसिया कपमा यो विजेता टोली भारत र पाकिस्तानको समूहमा रहेर खेल्नेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । 

यस्तै शीर्ष तीनमा रहने टोली एसीसी इमर्जिङ कपका लागि छनोट हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ