arrow

रवि र स्वर्णिमले लिए शपथ, उपेन्द्रलाई जितको ‘ह्याङ’, बिन्दबासिनीको कहिले ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
ravi-swarnim-oath-2080-01-15.jpg

काठमाडौं । उपनिर्वाचनबाट निर्वाचित भएका प्रतिनिधि सभा सदस्यहरु दुई जनाले शुक्रबार सांसदको शपथ लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र  रास्वपाकै नेता स्वर्णिम वाग्लेले शपथ लिएका हुन् ।  

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भने बारामै भएका कारण शुक्रबार शपथ लिएनन् । निर्वाचित उम्मेदवारलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् ।  

गत वैशाख १० को उपनिर्वाचनमा  चितवन २ बाट रवि लामिछाने, तनहुँ १ बाट स्वर्णिम वाग्ले र बारा २ बाट उपेन्द्र यादव निर्वाचित भएका थिए । 

लामिछाने नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठलाई हराउँदै प्रतिनिधि सभा सदस्य बनेका हुन् । लामिछानेले ५४ हजार १७६ ल्याएर विजयी हुँदा कांग्रेसका श्रेष्ठ ११ हजार २१४ मत ल्याएका थिए ।  

तनहुँ १ बाट रास्वपाका स्वर्णिम ३४ हजार ९१९ मतसहित विजयी भए भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत ल्याएका थिए  । 

बारा २ बाट विजयी जसपा अध्यक्ष यादवले २८ हजार ४ सय १५ मत ल्याएका थिए भने उपविजेता जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याए । 

लामिछानेको नागरिकता विवादका कारण पदमुक्त भएपछि, तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि तीन स्थानमा उपनिर्वाचन भएको थियो ।

शुक्रबार रवि र स्वर्णिमले मात्रै लिँदा उपेन्द्रले शपथ नलिँदा भने स्वभाविक मानिएको छैन । सभामुख घिमिरेका प्रेस सल्लाहकारले उपेन्द्र बारामै भएको जानकारी आएकाले रवि र स्वर्णिमको मात्र शपथ भएको बताए । 

उपेन्द्रलाई जितको ह्याङ

यसबाट उपेन्द्र अझै पनि जितको ह्याङबाट बाहिर आउन नसकेको स्पष्ट हुन्छ । मंगलबार राति विजयी भएका उपेन्द्र शुक्रबारसम्म काठमाडौं आएर शपथ लिँदै प्रतिनिधि सभाको बैठकमा सहभागी हुनुपर्ने हो । 

पटक पटक सांसद भैसकेका भए पनि गत मंसिर ४ को निर्वाचनमा पराजित भएपछि उनी फेरि उम्मेदवार बनेर जितेर आएका हुन् । 

यसकारण पनि उनलाई जितको खुशी बढेको हुनसक्छ । अर्कातर्फ उनी उपप्रधानसहित कुनै मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा जाने चर्चा चुनावमा उठ्नु भन्दा अगाडिदेखिकै हो । 

बिन्दबासिनीको शपथ कहिले ? 
शुक्रबार रास्वपाका दुई जना सांसदले शपथ लिए पनि अर्की सांसद बिन्दबासिनी कंसाकारले भने शपथ लिइनन् । 

दुई करोड घुसकाण्डमा मुछिएर रास्वपाका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठ निष्काशित भएपछि पार्टीले उनको स्थानमा बिन्दबासिनीलाई सिफारिस गर्ने निर्णय गरेको थियो । 

चैत २९ गते नै बिन्दबासिनीलाई सांसदमा सिफारिस गर्ने रास्वपाको केन्द्रीय समिति बैठकले निर्णय गरेको थियो । 

बैशाख १२ गते मंगलबार संसद सचिवालयलेसमेत ढाकालाई कारबाही भएको जानकारी आएको र सांसद पद खाली भएको जनाएको थियो । 

तर अहिलेसम्म बिन्दबासिनीको शपथ नहुनु भने आश्चर्यको विषय भएको छ । सभामुखमा प्रेस सल्लाहकार अधिकारीले निर्वाचन आयोगबाट कुनै जानकारी नआएकाले बिन्दबासिनीको शपथको कुनै कार्यक्रम नभएको बताए । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग स्वास्थ्यमन्त्री बन्न दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनकि भएपछि ढाकालाई पार्टीले कारबाही गरेको थियो । 

पार्टी सभापति रवि लामिछानेका अनुसार अनुशासन तथा आचरण समितिको सिफारिस एवं विधान विपरीत काम गरेको भन्दै ढाकालाई कारबाही गरिएको थियो  । 

अब बिन्दबासिनीले कहिले शपथ लिन्छिन् भन्ने चासो बढेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ