arrow

भाँडियो एकताः प्रचण्ड कम्युनिष्ट नछाड्ने, बाबुराम कम्युनिष्ट नमान्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २० बुधबार
Prachanda-Baburam.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । निर्वाचनताका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम फेर्ने बताए पनि अहिले आएर असहमत भएका छन् । मंसिर ४ को निर्वाचनमा चितवनमा असजिलो भएपछि गोरखामा डा. बाबुराम भट्टराईको निर्वाचन क्षेत्रमा चुनाव लड्न पुगेका प्रचण्डले त्यतिबेला भट्टराईको पार्टीसँग एकता गर्ने र पार्टीको नाम पनि समाजवादी राख्ने बताए पनि अहिले असहमत भएका हुन् । 

जसले गर्दा तत्काललाई नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी बीचको एकता प्रक्रिया पनि करिब करिब टुंगिएको छ । माओवादी केन्द्र र नेसपाले मंसिर ४ गतेको चुनावलगत्तै एकता गर्ने तयारी थालेका थिए । 

तर पार्टी एकता गर्न प्रचण्ड बाबुरामबीच पार्टी नाम र विचारमा असहमत भएपछि तत्काललाई एकता प्रकृया टुंगिएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कम्युनिष्ट विचार छोड्न तयार नभएपछि तत्काल एकता नहुने बाबुराम भट्टराई निकट रहेका गंगानारायण श्रेष्ठले बताए । 

उनका अनुसार प्रचण्डले नाम र विचारमा असहमति प्रकट गरेपछि कम्युनिष्ट नाम र विचारमा बाबुराम सहमत हुन सकेनन् र पार्टी एकताको पाटो सकिएको हो । 

‘तत्काललाई एकता प्रकृयाबाट बाहिर बसियो’, श्रेष्ठले भने । उनका अनुसार बाबुराम भट्टराईले कम्युनिष्ट विचारलाई अस्वीकार गरेपछि प्रचण्डले त्यसमा सहमत हुन सकेनन् । 

‘प्रचण्ड कमरेड कम्युनिष्ट विचार छोड्न नमान्ने हुनुभयो । पार्टीको नाम समाजवादी राखे पनि अगाडि नेकपा राखौँ भन्नुभयो । बाबुराम कम्युनिष्ट छोडिसकेकाले कम्युनिष्ट नाम राख्न मान्नु भएन । अन्तिममा प्रचण्ड कमरेड कम्युनिष्ट नछोड्ने, बाबुराम कम्युनिष्ट नमान्ने भएपछि तत्काल एकता प्रकृया सकिएको हो’, श्रेष्ठले भने ।  

तर माओवादीसहित जसपा, एकीकृत समाजवादी ,नेसपा लगायतका दल मिलेर समाजवादी मोर्चा बनाउने तयारी भइरहेको उनले बताए । केही समयअघि बाबुराम भट्टराईले माओवादीमा पुरानै धङधङी कायमै देखिएकाले एकता हुन नसक्ने बताउँदै आएका थिए  ।

 ‘हामी लामो समय सहकार्य गरेकाले निर्वाचनमा सहयोग गरेको हुँ । विचार मिल्दै गएमा एकता गरौँ भनिएकै हो । घटनाक्रमले के देखायो । उहाँहरु पुरानो माओवादी धङधङी अझै त्याग्न तयार देखिनुभएन । तत्काल पार्टीगत रुपमै एकता हुने सम्भावना देखिएन’, बाबुरामको  भनाई उद्यृत गर्दै श्रेष्ठले भने । 

माओवादी केन्द्रले नेसपासहित विभिन्न कम्युनिष्ट वामपन्थी शक्तिसँग एकता गर्न पार्टी प्रवक्ता कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो । 

जसमा महासचिव देव गुरुङ, उपमहासचिव शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल सदस्य छन् । उनीहरुले नेकपा एससँग पनि सहकार्य गर्ने बताउँदै आएका छन् । 

त्यसैगरी उपेन्द्र यादवको पार्टीसँग पनि सहकार्यको हात अघि सारेको भए पनि विषयवस्तु, वैचारिक एजेण्डा अघि बढ्न नसकेको माओवादीका नेताहरुले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ