arrow

यसरी मनाइँदैछ २५६७ औँ बुद्धजयन्तीमा लुम्बिनी दिवस

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०८० वैशाख २० बुधबार
buddha-jayanti-2080.jpg

लुम्बिनी । २५६७ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०८० को तयारी पूरा भएको छ । मूल समारोहको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैशाख २२ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । 

कार्यक्रमबारे लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थलमा बुधबार पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारीबारे जानकारी गराएको हो । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा २५६७ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस विशेष समारोह हुनेछ ।

यस वर्षको बुद्ध पूर्णिमाको दिनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी विकास कोषले विशेष समारोहसाथ मनाउन मूल आयोजक समिति, त्यस अन्तर्गत मूल व्यवस्थापन समिति र विभिन्न उप–समितिहरू गठन गरी तयारी गरिएको सदस्यसचिव सानुराजा शाक्यले बताए । 

कार्यक्रमका लागि एक करोड रुपैयाँ छुट्टयाइएको उनको भनाइ छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचार प्रसार उपसमिति संयोजक ढुण्डिराज भट्टराईका अनुसार मंगलबार देवदहमा देवदह सुत्त र तीन बौद्ध नारी विभूति परिचर्चा प्रवचन कार्यक्रम, बिहीबार बिहान दीप प्रज्वलन, महापरित्राण, शुक्रबार बुद्ध पूर्णिमाको दिन बिहान पूजापाठ, शोभायात्रा, बिहान ९ बजे देखि ११ बजे दुई घण्टासम्म बुद्ध जयन्तीको मूल कार्यक्रम आयोजना हुनेछ ।

शुक्रबार पण्डितपुरदेखि रामग्राम अस्थिधातु यात्रा, २३ गते बिहान ८ बजे लुम्बिनीबाट कपिलवस्तुसम्म बोधिसत्त्व सिद्धार्थको शोभायात्रा, बिहान ११ बजे कपिलवस्तु तिलौराकोटमा विशेष समारोह हुने भट्टराईले बताए।

बुद्ध जयन्ती एवम् लुम्बिनी दिवसलाई विगतमानजस्तै गरी महत्त्वपूर्ण उत्सवका रूपमा मनाउने कोषका योजना प्रमुख सरोज भट्टराईले बताए ।

लुम्बिनी विकास कोषका सूचना शाखा प्रमुख डा. हरिध्वज राईले गत वर्षभन्दा यस वर्ष ५१।८६ प्रतिशतले लुम्बिनी आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताए । 

३ जिल्लाका विभिन्न  बुद्ध सम्बन्धी  स्थानहरुमा दिपावली गरिने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ