arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

रायमाझीलाई जोगाउन ओलीसँग कुनै मोलमोलाइ नगर्न प्रचण्डलाई शिवाकोटीको सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २२ शुक्रबार
ajaya-babu-shiwakoti.jpg
तस्बिर – फाइल ।

काठमडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझी बेपत्ता भएको सम्बन्धमा प्रश्न उठाएका छन् । नक्कली बुटानी शरणार्थी बनाउने गिरोहलाई सघाएको आरोपमा पक्राउ गर्ने पुर्जी जारी भएपछि रायमाझी एकाएक बेपत्ता भएका हुन् । 

उनी अर्घाखाँचीमा भएका बेलामा पक्राउ पुर्जी जारी भएको थियो । अनि काठमाडौं आउन भनी उनी बुटवल आएका थिए । सभामुख देवराज घिमिरेसँग अर्घाखाँचीको कार्यक्रम सकेर बुटवल आइ राति ९ बजेको फ्लाइटमा भैरहवाबाट काठमाडौं आउने भनेका रायमाझी काठमाडौं फर्केनन् । 

बुधबार रातिको यो घटनापछि रायमाझी एकाएक बेपत्ता भएका छन् । बिहीबार बिहान उनी पक्राउ परेको भनिए पनि पछि उनी पक्राउ नपरेको भनी रुपन्देही प्रहरी प्रमुखले जानकारी दिएका थिए । 

उनका छोरा सन्दीप भने बुधबार साँझ बुटवलमा पक्राउ परेका थिए । उनलाई बिहीबार काठमाडौं ल्याएर अदालतमा हाजिरी गराएपछि अनुसन्धानका लागि तीन दिनको म्याद थपिएको छ । 

सोही क्रममा प्रतिक्रिया दिँदै कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीले रायमाझीलाई आकाशले निल्यो कि धर्तीले निल्यो ? भनी प्रश्न गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शिवाकोटीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई रायमाझी जोगाउन लागेको कुनै आरोप नलागोस् भन्ने कामनासमेत गरेका छन् । 

रायमाझीलाई पक्राउ पुर्जी जारी भएपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेत प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए । 

यसबाट धेरै प्रश्न उब्जिएकोतर्फ ध्यानाकर्षण गर्दै शिवाकोटीले रायमाझीलाई जोगाउन कुनै मोलमोलाइ नहोस् भनी खवरदारीसमेत गराएका छन् । 

प्रहरी महानिरीक्षक बसन्त कुँवर पनि बिहीबार बुटवलकै कार्यक्रममा हुनु र उनकै अर्घाखाँचीका जिल्लावासी एवं सांसद रायमाझी एकाएक बेपत्ता हुनुले धेरै प्रश्न खडा भएको छ । 

यस्तो छ शिवाकोटीको स्टाटस–

नक्कली भुटानी शरणार्थी बनाउने गिरोहका संरक्षक टोपबहादुर रायमाझी फरार भए कि फरार गराइयो ? नत्र अर्घाखाँचीबाट मिडियालाई प्रतिक्रिया दिएर भैरहवा पुगेका रायमाझीलाई आकाशले निल्यो की धर्तीले निल्यो ? गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यू तपाईलाई माओवादीका पूर्व सहकर्मीलाई अनि प्रहरीको केन्द्रीय नेतृत्व बसन्तबहादुर कुँवरलाई जिल्लावासी जोगाउन खोजेको आरोप नलागोस् । प्रधानमन्त्री पुष्पकमल दाहालज्यू गिरोहका संरक्षक रायमाझीलाई जोगाउन एमाले अध्यक्ष केपी ओलीसँग कुनै मोलमोलाई नहोस्, नत्र खासमा गिरोहका संरक्षक तपाईहरु नै रहेको पुष्टि हुनेछ । त्यसैले पनि भ्रष्टाचारीको दलीय संलग्नता नहेरियोस्, जय नेपाल।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने गिरोह ठूलो रहेको बताइन्छ । अहिलेसम्म प्रहरीले आठ जनालाई मात्र नियन्त्रणमा लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ