arrow

हरिवन नगरपालिकामा टेलिमेडिसिन सेवाको शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
hariban-municiple-sarali.jpg

सर्लाही। हरिवन नगरपालिकाद्वारा स्वास्थ्य सेवा विस्तार योजना अन्तर्गत विविध स्वास्थ्य सेवाका लागि टेलिमेडिसिन कार्यक्रम सञ्चालन गरिएको छ। टेलिमेडिसिन सेवाको उद्घाटन मधुमेह तथा थाईराइड विशेषज्ञ डा.ज्योति भट्टराईद्वारा हरिवन–४ निवासी कान्छीमाया सँगको भिडियो संवाद मार्फत गरिएको थियो। नगरपालिकाको विशेषज्ञ सेवा अन्तर्गत डा.नरेन्द्र मैनालिद्वारा प्रत्येक महिना १०० भन्दा बढी बिरामीहरूको चेकजाँच गर्दै आएका छन्। यस कार्यक्रम तेस्रो महिनासम्म आई पुग्दा सेवा थप गर्दै डा.अरुण कुँवरद्वारा मानसिक स्वास्थ्य सम्बन्धी चेकजाँच तथा निःशुल्क औषधी वितरण कार्य हुँदै आइरहेको छ।

यसका साथै बालबालिका हरूको मानसिक रोग सम्बन्धी तिन दिने प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भइसकेको छ। हालसम्म १५० भन्दा धेरै स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा शिक्षक शिक्षिका हरुलाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ। १६४ जना मानसिक रोगीहरूको स्वास्थ्य जाँच गरी १०–१२ जना गम्भीर प्रकृतिका मानसिक रोगीहरूको पहिचान गरी थप उपचारका लागि सिफारिस गरिएको छ।

यस कार्यक्रम सञ्चालन गर्नका लागि सहयोग गर्नुहुने विशेषज्ञ डाक्टरहरू डा.अरुण कुँवर, डा.नरेन्द्र मैनाली, डा.ज्योति भट्टराई, डा.अमित झा, सिविन नेपालका तर्फबाट प्राविधिक सहयोग जुटाउनुहुने कुमार भट्टराई, तथा अन्य व्यवस्थापनमा सहयोग गर्नुहुने युवराज बुढाथोकी लगायत सम्बद्ध सबै पक्षलाई नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गरियो।



नयाँ