- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा पसल बेच्ने र पसल नै बन्द गरेर हिँड्नेको संख्या दिनानुदिन बढ्दो क्रममा छ । अहिले काठमाडौंका पुराना र विस्तारित बजार जताततै उस्तै निराशाको अवस्था छ ।
भव्य देखिने धेरै व्यापारिक मल अहिले सुनसान जस्तै छन् । सटरमा फोन नम्बरसहित ‘टु–लेट’ र ‘भाडामा’ लेखेका बोर्डहरु प्रशस्तै देखिन्छन् । व्यापारीहरु चिन्ताजनक छन् यस्तो अवसस्था देखेर । देशकै राजधानी जस्तो ठाउँको हालत यस्तो छ भने राजधानी बाहिरको अवस्था पनि नाजुक बन्न सक्ने खतरा हुन सक्छ भन्छन् अर्थविद्हरु।
कोरोना भाइरसको महामारीपछि सुस्ताएको व्यापारलाई उकास्न सरकारले केही नीति र निर्णय नगरेको आरोप व्यापारीहरु लगाउछन् । सानादेखि ठूला सबै व्यापार अहिले पहिलाको भन्दा न्यून नै छ भन्दा हुन्छ । राजधानीका मलहरु कुनैबेला हप्ताको सातै बार भीडभाड हुने गर्थ्यो । तर अहिलेको अवस्था फरक छ ।
ठूला ठूला भनिएका मल कम्प्लेक्सहरु सुनसान मात्र देखिन्छन् । ठ्रूला र मुख्य व्यापारिक क्षेत्रका मलहरुको अवस्था पनि उस्तै छ । मल भित्रकै सटर खाली हुँदै गएको छ ।
मल भित्र हुने रेस्टुरेन्ट व्यवसायीहरुको गुनासो पनि उही छ । मल मा मान्छे आउँदैनन हामी यहाँ कसलाई सेवा दिने भन्ने गुनासो पोख्छन् रेस्टुरेन्ट व्यवसायीहरु। बाहिर होटल व्यवसायीहरुको समस्या उही छ । काठमाडौंमा अधिकांश बास बस्ने सुन्धारा, बसपार्क क्षेत्रका होटलहरु पनि अहिलेको समयमा सुनसान नै देखिन्छन् ।
मुख्य व्यापार हुने क्षेत्रका भवनहरुमाथि अहिले व्यापारिक र अफिसका बोर्ड कम ,टु–लेट लेखेको मात्र देखिन पाइन्छ।
रोडसाइडमा हुने पार्किङ हटाइएका कारण ग्राहक आउनै नपाएर पनि व्यवसाय सुकेको व्यवसायीहरूको गुनासो छ ।