arrow

वंश वृद्धि र शान्तिको कामना गर्दै मनाइयो तिजीपर्व 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
tiji-lomanthang.jpg

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङ क्षेत्रमा बसोबास गर्ने गुरुङ र विष्ट समुदायले १५औँ शताब्दीदेखि मनाइँदै आएको तिजीपर्व यस वर्ष पनि वंश वृद्धि र शान्तिको कामना गरी मनाएका छन् ।

तिजीपर्व लोमान्थाङको प्रमुख पर्व हो । मङ्गलबारदेखि सुरु भई तीन दिनसम्म चलेको यस पर्व (मेला) बिहीबार सम्पन्न भएको हो । यो पर्वको पहिलो दिन मुस्ताङी राजाको लोमान्थाङ दरबार अगाडिको प्राङ्गणमा लोमान्थाङस्थित छोदे गुम्बाका लामा तथा भिक्षुले देवी–देवताको पूजापाठ गर्नाका साथै धार्मिक नृत्य प्रस्तुत गरेका थिए । विभिन्न देवी–देवता र राक्षसको मुकुट पहिरिएर लामाले गर्ने यो नृत्य यस क्षेत्रकै सबैभन्दा पुरानो नृत्य भएको लोमान्थाङकी शिक्षिका सरला नेपालीले जानकारी दिए ।

उनका अनुसार यो धार्मिक नृत्य हो । यो नृत्य अवलोकन गर्नाले मोक्ष प्राप्ति हुने जनविश्वास रहेको छ । तिजीपर्वको पहिलो दिन लोमान्थाङ दरबार परिसरमा बौद्धधर्मका विभिन्न देवी–देवता र रिम्पोछेको विशाल थान्का प्रदर्शन गरिएको थियो । यो थान्का तिजीपर्वको दिनमा मात्र सार्वजनिक गर्ने चलन रहेको लोमान्थाङका आम्ची घ्याचो विष्टले बताए । पर्वको दोस्रो, तेस्रो दिनमा विभिन्न किसिमका सांस्कृतिक नृत्य प्रदर्शन गरिएको थियो ।

ऐतिहासिक तथा धार्मिक तिजीपर्व दोर्जी सुनुको पुनर्जन्म अर्थात् बज्रकिलाको जीवन कथासँग सम्बन्धित छ । सुनुले पुनर्जन्म प्राप्त गरी राक्षसको भय अन्त्य गरेको खुसीयालीमा शान्तिको प्रतीकका रूपमा तिजीपर्व मनाउने चलन रहेको उनको भनाइ थियो ।

तिजी हेर्न लोमान्थाङवासी, आन्तरिक पर्यटक र विदेशीले लोमान्थाङ भरिएको सरला नेपालीले उल्लेल गरे  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ