arrow

छायाँनाथका मेयरले एक बर्षमा के गरे ? 

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० जेठ ८ सोमबार
mayour-bham.JPG

मुगु । मुगु जिल्ला स्थित छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कुमार भामले आफुले १ वर्षमा सुशासन कायम, आर्थिक मितव्ययिता र पारदर्शी कार्यको शुरुवात गरेको दाबी गरेका छन् । मेयर भामले आफू निर्वाचित भएको वर्ष दिन पुगेको अवसरमा आफ्नो नेतृत्वमा नगरपालिकामा भए गरेका विकास निर्माण काम सार्वजनिक गर्ने उद्देश्यले आइतबार उनको सचिवालयले आयोजना गरेको सार्वजनिक सुनुवाइमा बोल्दै यस्तो दाबी गरेका हुन् ।

आर्थिक सुशासन कायम गर्न आफ्नो नेतृत्वको निर्वाचित भएर आएपछि नगरपालिका भरी सञ्चालित सबै योजनाहरूमा सबैको सहभागिता गर्नु पर्ने,प्राविधिकहरूले कामको आधारमा भुक्तानी गर्ने,आर्थिक वर्षको अन्तमा सम्झौता र भुक्तानीलाई निरुत्साहित गदै फागुन भित्र सम्झौता र जेठ मध्य भित्र काम सम्पन्न गरी भुक्तानी गर्ने,९० प्रतिशत योजनाहरू ठेक्का सूचना गरी प्रतिस्पर्धा गराई आर्थिक बचत गरी अन्य विकासका काम गर्ने गरेको बताए । 

उनले भने विगत बर्सहरूमा बजेट कनिका छर्के जस्तो गरेर टुक्रे योजना वितरण गर्ने परिपाटी थियो त्यसले प्रतिफल देखाएन त्यसैले म आएपछि टुक्रे योजनाहरू दिन पुर्णरुपमा बन्ध गरेको छु यसले गर्दा साना साना योजना पाउँ भनी व्यक्ति व्यक्तिहरू फाइल च्यापेर नगरपालिकामा धाउने चलन रोकिएको छ फलस्वरूप नगरपालिकामा हुने अनावश्यक भिडभाड नियन्त्रण भएको छ भने ठुलो योजना बनाउन सकिएको छ । 

२०७९ जेठ ७ गते नगरप्रमुखको शपथ खाए देखि २०८० आइतबार सम्मको १ वर्ष भित्रमा आफ्नो नेतृत्वले नगर क्षेत्रमा गरेका विकास निमार्णहरु सार्वजनिक गदै नगरप्रमुख विष्णु कुमार भाम भने सुम्ली झोलुङ्गे पुल,१० वटा वृहत् खानेपानी योजना,एक घर एक धारा,१३ वटा आरसिसि बाटो,४ वटा कोल्ड स्टोर ४ वटा वडा कार्यालयका पक्की भवन,१८ वटा विद्यालय भवन,३ वटा सामुदायिक स्वास्थ्य इकाईका भवन,चैन खोला,कोटिल्ला खोलामा वेलिवृज,२ वटा नगर बस खरिद,कालिका मालिका मन्दिर निर्माण ,नगरपालिकाको प्रशासनिक भवन निर्माण ,सुम्ली हाइड्रो पावर निर्माण ,रुगा गाउँ देखि नेटा आरसिसि सडक निर्माण गरेका छौ । 

यस्तै यही १ वर्ष भित्रमा गमगढी बजारमा सार्वजनिक जग्गा ओगटेर बनेका व्यक्तिगत संरचनाहरू हटाएको,हिउँदे नगर सभाबाट १३ वटा ऐन नियम र कार्यविधीहरु जारी गरेको,महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल सेट दिएको,घरको आर्थिक अवस्था कमजोर भएका तर जेहेन्दार भए पनि उच्च शिक्षा लिन नसक्ने अवस्था रहेका २० जना विपन्न जेहेन्दार विद्यार्थीलाई इन्जिनियर अध्ययन गर्न आर्थिक सहयोग गरेको पनि मेयर भामले सार्वजनिक सुनुवाइमा बताए । 

नगरप्रमुखले प्रस्तुत गरेको कार्यपत्र अनुसार नगरपालिकाले विपत् व्यवस्थापन केन्द्र स्थापना,बजार फोहोर व्यवस्थापन गरेको,चट्याङ्ग तथा सवारी दुर्घटनामा परि ज्यान गुमाएका १३ जना परिवारका राहत स्वरूप प्रति परिवार ४० हजारका दरले सहयोग गरेको,२ सय जना गोठालाहरूलाई सोलार,छाता,झोला,गकबुट,उन कातने मेसिन दिएको बताइएको छ । 

नगरपालिकाका १ देखि १४ वडाहरूका विभिन्न बस्तीहरूमा रहेका १२५६ दलित समुदायका घरधुरीलाई पहिलो चरणको प्रतिघरधुरी २ हजार पाँच सयका दरले चाड बाँड खर्च दिएको,नगरपालिकामा महिला,दलित,जनजाति डेक्स स्थापना गरेको,७५ जनाले लोकसेवा,१४ जनाले सिलाई कटाई तालिम र ४० जनाले कम्प्युटर निःशुल्क कक्षा लिएर लाभान्वित भएको,३ सय विपन्न परिवारलाई औषधी उपचार खर्च सहयोग गरेको,गत वर्ष असोज १७ देखि २३ सम्म परेको पानीले क्षति गरेका ५५६ घरपरिवारलाई राहत वितरण गरेको आफ्नो सार्वजनिक सुनुवाइको प्रस्तुतीकरणमा मेयर भामले उल्लेख गरे ।

गरे के हुर्दैन भन्ने कुरालाई सार्थकता दिन र पछिल्लो समयमा हराउँदै गएको श्रमदान गर्ने बानीलाई पुन बानी बसाउन शुरु गरेको श्रमदान अभियानबाट बस पार्क,बसपार्क खानेपानी,चैन खोला वैकल्पिक बाटो,अल्कासाँघु काठे पुल,चैन खोला नाला,ठिनी खानेपानी,झयारी गमगढी खानेपानी मर्मत र बजारमा नियमित सरसफाइ जस्ता कार्य सम्पन्न भएका छन् भने आफूले सञ्चार खर्च,क्वाटर सुविधा,रासन सुविधा नलिई आफनै खर्चले आवश्यकता चलाउँदै आएको निर्वाचनमा गरेको बाचा अनुसार आफूले पाउने वार्षिक तलब सिटिजन बैकमा खाता खोली वार्षिक रूपमा जम्मा गदै आएको बताउँदै उक्त रकम आफ्नो ५ वर्ष अवधि सकिन लाग्दा ५ वटा एम्बुलेन्स किनेर विकट बस्तीहरूलाई दिने नगरप्रमुख भामले बताए । 

नगरपालिकामा सुशासन भएकै कारण वित्तीय सुशासन स्व मूल्याङ्कनमा जिल्लाका ४ स्थानीय तहहरू मध्य छायाँनाथ रारा नगरपालिकाले ६८.२५ अङ्क ल्याई प्रथम भएको,नगर उपप्रमुख ऐश्वर्या मल्लको संयोजकत्वमा गठित अनुगमन समितिले नियमित विभिन्न चरणमा नगरपालिकामा सञ्चालित योजनाहरूको अनुगमन हुँदै गरेको र बेला बेलामा आफू पनि अनुगमनमा जाने गरेको र १३ औ बजेट सभा अगावै प्रमुख जिल्ला अधिकारी,प्रहरी नायव उपरीक्षक,सशस्त्र प्रहरी नायव उपरीक्षक,पत्रकार महासंधका अध्यक्ष,पत्रकारहरू र नागरिक समाजका अगुवाहरूलाई आफूहरूले गरेका विकास निर्माण र परिवर्तन देखाउन नगरपालिका प्रत्येक वडाहरूमा भ्रमण गराउने योजना पनि नगरप्रमुख भामले सुनाए ।

मेयर भामले यो वर्षमा नगरपालिकाको जम्मा बजेट ७५ करोड १६ लाख ८४ हजार ६९४ रहेकोमा आइतबारसम्म विभिन्न शीर्षकमा गरी जम्मा ३१ करोड,३९ लाख ५ हजार ८८ रुपैयाँ खर्च भएको आर्थिक हिसाब प्रस्तुत गरेका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा आफ्ना कार्यप्रगती नगरप्रमुख भामले प्रस्तुत गरेपछि उपस्थित सर्वसाधारणहरूले नगरप्रमुख लाई जनचासोका बारे प्रश्न सोधेका थिए । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापा,प्रहरी नायव उपरीक्षक मोहन बस्नेत,सशस्त्र प्रहरी नायव उपरीक्षक डम्बर राना,उद्योग वाणिज्य सङ्घ मुगुका अध्यक्ष कमल बहादुर बुढा,नेत्र ज्योति सङ्घ मुगुका अध्यक्ष तिलक बहादुर मल्ल,नेपाल पत्रकार महासङ्घ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्ल,नागरिक समाजका अध्यक्ष रूप बहादुर मल्ल,नेपाली काँग्रेसका सचिव लोकेन्द्र बहादुर मल्ल सहित सर्व साधारण,नगर कार्य पालिका सदस्य,वडा अध्यक्ष हरूको उपस्थिति रहेको थियो ।

एउटा राजनीतिज्ञले सार्वजनिक पद धारण गरेपछि आफू र आफ्नो नेतृत्वमा भए गरेका काम कारबाही सार्वजनिक गर्नु प्रशंसायोग्य काम भएको र यस्तो कार्य सर्बै राजनीति गर्ने नेतृत्वले अनुसरण गर्नु पर्ने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ