arrow

प्रचण्डका नाममा पूर्वजनमुक्ति सेना कमाण्डर एकताको पीडादायी पत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार
article-usha-thapa-ekata.jpg

सम्माननीय प्रधानमन्त्री ज्यू !  म हुम्लाको हाल सर्केगास गाउँपालिका वडा नं २ रिपमा जन्मेकी उषा थापा (एकता) हुँ । तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गतेबाट शुरु गरेको सामाजिक परिवर्तनको लहरले मलाई पनि छोयो र म सानै उमेरमा जनयुद्धमा समावेश हुन पुगेँ । २०४६ साल बैशाख १५ गते जन्मिएकी म २०५७ साल आसार १५ गते ११ वर्षको उमेरमा म माओवादीको साँस्कृतिक टिममा कलाकारमा समावेश भएँ । केही समयपछि स्क्वाइड हुँदै महिला पलाटुनमा समावेश भएँ । 

तत्कालीन जनयुद्धमा कयौँ छापामार लडाइँमा होमिएँ । पहिलो लडाइँ मुगुको लुम्सामा परेँ । युद्धको कुनै तयारी र अनुभव नभएकाले म त्यहाँ घाइते भएँ । घाँटी, देब्रे खुट्टा र हातमा गोली लाग्यो । हाल उक्त हात निकै कमजोर बनेको छ । त्यस्तै दैलेखको नौमुले, खुर्सानीबारी, जुम्लाको खलंगा, सुर्खेतकै जहरे पुल, काल्चे, बाँकेको कुसुम, म्याग्दीको बेनी, पाण्डव, मुसिरेलगायत अन्तिममा बर्दियाको गणेशपुर भिडन्तमा समावेश भएँ । 

गणेशपुर भिडन्तसम्म आइपुग्दा म पलाटुन कमाण्डर थिएँ । मलाई पार्टीले कमरेड एकता उपनाम राखिदिएको थियो । गणेशपुरको भीषण लडाइँमा बिग्रेड कमाण्डर जितको मृत्यु भएपछि हामी भाग्ने क्रममा भूगोलको अनभिज्ञताको कारण भारततर्फ लाग्यौँ । त्यहाँबाट तत्काल नेपाल आउन कठिनाइको स्थितिले म इन्डियाको सिम्ला खयरझालामा पुगेर केही समय उतै बसेँ ।

समय परिस्थितिले म त्यहाँ सहाराविहीन अवस्थामा भएपछि विवाह गर्न बाध्य भएँ । केही समयपछि नेपाल आएँ । रोजगारीका लागि मेरो श्रीमान् भारततर्फ लागेपछि म घरबाट निकालिएँ । यो विवाह मेरो धेरै समय टिकेन । म एक बच्चासहित वेवारिसे अवस्थामा पुगेँ । 

त्यो समय करिब शान्ति प्रक्रियापछिको अवस्था भएको र म सहाराविहीन अवस्थामा रहँदा नर्भेजियन संस्थाको सहयोगमा मेरो नागरिकता बन्यो । सेक्युरिटीको जागीर गर्न थालेँ । केही सयम त्यसैगरी दैनिकी कटाएँ । ११ वर्षको उमेरमा घर छोडेकी म हालसम्म पनि आफ्नो जन्मस्थान जान सकेकी छैन ।

युद्ध मोर्चाका साथीहरु भेटाउन पनि सकेकी छैन । पहिलो घरबार बिग्रिएपछि मैले पुनः बर्दियाको डेउढाकलामा दोस्रो विवाह गर्न बाध्य भएँ । घरायसी अवस्था कमजोर भएकाले कहिले भारत कहिले गाउँघरमा ज्यालामजदूरी गर्दै जीविकोपार्जन गर्दै आएकी छु । मेरा ४ छोरी र १ छोरा साथैमा छन् । 

मेरो बाससमेत नभएको कारुणिक स्थितिको बारेमा एक जना सरकारी कार्यालयमा कार्यरत कर्मचारीज्यूले सामाजिक सञ्जालमा लेखिदिएपछि बर्दियाको बढैयाताल गाउँपालिका नं ९ को सहयोगमा एक कठ्ठा ऐलानी जग्गा उपलब्ध भयो ।

सो जग्गामा मैले एउटा घर बनाउनेसमेत आर्थिक अवस्था नभएपछि उहाँ सरकारी कर्मचारीले पुनः घर बनाउन नसकेको र आर्थिक सहयोगको याचना रहेको पोष्ट गरेपछि नेपाल सरकार पूर्वसचिव, सामाजिक अभियान्ता भीम उपाध्यायको पहलमा यूकेस्थित पोखराकी सामाजिक सहयोगी दाता इशा गुरुङको आर्थिक सहयोग र बढैयाताल गाउँपालिकाको सहयोगमा बासको व्यवस्था भयो ।

सात जनाको हाम्रो परिवारलाई खान लाउन कठीन छ । कहिलेकाँहि पाउने ज्यालामजदूरी कामले जीविकोपार्जन गर्ने माध्यम बनेको हुन्छ, उक्त काम पनि सधै पाइँदैन । कयौं रातहरु भोकै बिताएकी छु । छोराछोरीलाई खोले खुवाएर आफू भोकै बिताएका तीता भोगाई खेपिरहेको छु ।

सम्माननीय प्रधानमन्त्रीज्यू, म तपाईले थालनी गरेको जनयुद्धको एक महिला सिपाही हुँ । आज म सहाराविहीन अवस्थामा छु । ५/६ वर्ष जनयुद्धमा लागेको महिला आज म न पूर्व जनमुक्ति बन्न सकेँ, न प्रमाणीकरण हुन । न मैले अहिलेसम्म कुनै सरकारी निकायबाट द्वन्द्वपीडितको कुनै प्रमाण पाउन सकेँ  । तपाईं हाम्रो सुप्रीम कमाण्डर हो । हिजो मलगायत धेरै साथीहरु प्रचण्ड पथको नाम लिएर मुक्तिका आवाजलाई बिगुल फुक्दै सबै त्यागेर तपाईका भाषण सुन्दै हतियारलाई जीवन ठान्यौं ।

तपाई पटक पटक देशको प्रधानमन्त्री हुनुभयो । तर हिजोका तपाईका छापामार सिपाही, हामी आज बेघरबार बनेका छौँ, आफ्नै सुप्रिमो देशको कार्यकारी हुँदासमेत म कमरेड एकता जस्तै धेरै एकताहरुलाई व्यवस्थापन गर्न सक्नु भएको छैन । मैले अहिलेसम्म कुनै राहत, सहयोग पाइन । हिजोका हामी योद्धाहरुको व्यवस्थापन गर्नतर्फ तपाईले के–के गर्नुभयो मलाई थाहा भएन । म यही युद्धमा तल्लीन हुँदा मैले मेरो जन्मदाता बुबालाईसमेत गुमाएँ । देख्न पाइन । अब मैले कहिल्यै मेरो बुबालाई भेट्न सक्ने छैन । तपाईले शुरु गरेको जनयुद्धमा लाग्दा अहिलेसम्म मेरो र माइतीसँग भेट हुन सकेको छैन । मेरो राम्रोसँग एकछाक भात खाने स्थिति छैन । अभाव र समस्यामा दिन गुजार्दै आएकी छु । युद्धका घाउहरुको पीडालाई सहँदै घाइते जीवन बाँचिरहेकी छु ।

सम्माननीय प्रधानमन्त्रीज्यू, हिजो तपाईले देश र जनताको परिवर्तन गर्न समानताको राज्य स्थापना गर्न भन्दै हामीलाई युद्धमा लगाउनुभयो । देशमा २०६३ साल मंसिर ५ को विस्तृत शान्ति सम्झौतापछि नयाँ संविधान संघीय गणतन्त्रात्मक राज्य स्थापना गर्नुभयो । शिक्षा, स्वास्थ्यमा जनताको पहुँच पुग्ने सबैलाई गास, बासको समस्या नहुने सपना बाँड्नु भयो, तर खोइ ती सपना ? आज म र म जस्ता धेरै योद्धाहरु दिन कटाउने र काल पर्खिने जस्तै गरी बाँचिरहँदा तपाई कहाँ हुनुहुन्छ ? परिवर्तनको विगुल फुक्न लगाउने तपाईको जीवन फेरियो होला, विडम्वना हामी लडाकुको जीवनमा ती सपनाहरु आँधिहुरी बन्न पुगेको छ । 

तपाई प्रधानमन्त्री भएको देशमा मेरा छोराछोरी सरकारी स्कुलमा पढ्नसमेत नसक्ने भएका छन् । प्राथमिकदेखि माध्यमिक शिक्षा निःशुल्क भनेर नेपालको संविधान २०७२ मा उल्लेख भए पनि मेरा छोराछोरीहरुले पढेको सरकारी स्कुलमा वार्षिक ३७ हजार २ कय ९० रुपैयाँ तिर्नुपर्छ । मैले कहाँबाट तिरौँ, जहाँ आफ्नो स्थिति खाने कसरी भन्ने बेलामा पुगेको छ । जुन पैसा मैले तिर्न नसक्दा मेरा छोराछोरी पढ्नबाट बन्चित हुने अवस्था आएको छ । मैले सुनेकी थिएँ स्थानीय तहमा द्वन्द्वपीडित असहायहरुका लागि छात्रवृत्ति आउँछ भन्ने । तर सुनेको मात्रै भएँ, अवसर पाएकी छैन । 

मैले नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) को सहयोगमा यसपालि छोराछोरीको भर्ना गर्न सकेँ । तर ती ५ सन्तानलाई मासिक बसभाडा पोशाक किताब, कापी, ड्रेसका लागिसमेत भीख माग्नु पर्ने अवस्था छ । मीठो मसिनो खाने कुरा त सपना जस्तै छ मेरा लागि । मेरा श्रीमानले मासिक कमाउने ६/७ हजार यो महँगीमा कुनै समस्या हल हुन सकेको छैन । 

सम्माननीय प्रधानमन्त्रीज्यू, मेरा सन्तानलाई कम्तीमा १२ कक्षासम्म निःशुल्क पढ्ने व्यवस्था गरिदिन अनुरोध गर्दछु । सक्नुहुन्छ भने तिनीहरुको पोशाक कापी किताबको खर्च व्यवस्था गरिदिनु हुन विनम्र अनुरोध गर्दछु । म ज्यालादारी गरेर भए पनि बाँचुला । तर मेरा सन्तान शिक्षाविहीन हुनबाट पहलकदमी चालिदिनुहोस् । किनभने म जस्तो राजनीतिबाट बेकुफ नबनुन् भन्ने चाहाना राखेकी छु । 
                     

                                  अभिवादनसहित 
                                  उषा थापा (एकता)
                                  पूर्वजनमुक्ति सेना  
                                  बढैयाताल गाउँपालिका वडा नं ९ बर्दिया
                                  सम्पर्क– ९८४१७६९८४५



लोकप्रिय समाचार
नयाँ