arrow

भारतबाट नेपाल हुँदै चीन रक्तचन्दन तस्करी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १२ शुक्रबार
raktachandan.jpeg

काठमाडौं ।  विश्व बजारमा उच्च मूल्य भएको रक्तचन्दन दक्षिण भारतको जङ्गलबाट तस्करी भएर नेपाल आएको थियो ।  सत्र वर्षअघि तस्करले अवैधरूपमा नेपालको बाटो भएर रक्तचन्दनलाई चीन पुर्‍याउने गर्दथे ।

यही क्रममा विसं २०६४ साउन १३ गते राति ११ बजे जिल्ला वन कार्यालय झापाको टोलीले दक्षिण झापाको तत्कालीन टाघनडुब्बा गाउँ विकास समितिको वडा नं ४ स्थित उपेन्द्र चौधरीको घरमा छापा मार्दा ११ हजार सात सय ७० केजी रक्तचन्दन लुकाइराखेको अवस्थामा बरामद गरेको थियो ।

त्यसपछि विसं २०६३ पुस २ गते दक्षिण झापाकै कुमरखोदको कामाटोलीमा सुरक्षा गस्तीले घेरेपछि ट्रक चालकले रक्तचन्दन सडकमै छाडेका थिए । त्यस घटनामा छ हजार तीन सय ७५ केजी रक्तचन्दन बरामद भएको थियो । विसं २०६४ साउन १२ गते थप एक हजार छ सय ८७ केजी रक्तचन्दन बरामद भएको थियो ।

रक्तचन्दन बरामद हुँदा पक्राउ परेका छ जना आरोपी सबै छुटिसकेका छन् । रक्तचन्दन बरामद भएको एउटा वटा ट्रक लिलाम भइसकेको छ । सिद्राले छोपेर रक्तचन्दन ल्याइएको थियो । भारतको चेन्नाईबाट आन्ध्रप्रदेश, उडिसा हुँदै विहारको किसनगञ्ज जिल्लाको डिगलबैंक नाकाबाट लुकीछिपी आएको एपी २७ डब्लूओ ४०५ नम्बरको ट्रकबाट रक्तचन्दन बरामद थियो । 

कामाटोलीमा सुरक्षाकर्मी र स्थानीयवासीले ट्रकलाई सडकमै रोकेका थिए । उक्त ट्रक हेर्दा रक्तचन्दनका काठलाई समुद्री माछाबाट बनाइएका सिद्रा र धानको भुसले छोपिएको पाइएको थियो । रक्तचन्दनको बासना नआओस् भनेर ट्रकमा सिद्राको गन्ध राखिएको थियो । ट्रकबाट भारत चेन्नाई निवासी यम भाष्कर र राजु शर्मासमेत पक्राउ परेका थिए ।

झापा जिल्ला अदालतले वन ऐन, २०४९ को दफा ४९ (घ) को कसुरमा सोही वन ऐन, २०४९ को दफा ५० (१) (घ) ४ बमोजिम पक्राउ परेका चार जनालाई रु एक करोड ८८ लाख ३२ हजार जरिवाना र चार वर्ष कैद सजाय सुनाएको थियो । 

सोही मुद्दामा पक्राउ परेका अन्य दई जनालाई भने जनही रु तीन लाख १८ हजार सात सय ६३ जरिवाना र एक वर्ष कैद सजाय तोकेको थियो । त्यसबेला पक्राउ परेका छ जना अभियुक्त अदालतको आदेशबमोजिम कैद भुक्तान गरी जेलबाट मुक्त भइसकेका छन् । 

रक्तचन्दन  भण्डारण गरिएको कोठाको सिलबन्दी नखोलिएको कारण काठको अवस्था के कस्तो छ यकिनसाथ भन्न सकिने अवस्था छैन । उक्त कोठाभित्र कार्यालयका पुराना विभिन्न मुद्दाका फाइल थुनिएको बताइएको छ । 

बरामद भएको बेला गरिएको मुचुल्कामा रक्तचन्दनको मूल्य प्रतिकेजी रु २५ निर्धारण गरिएको थियो । बजारमा रक्तचन्दनको मूल्य अहिले प्रति केजी रु एक हजारभन्दा बढी नै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ