arrow

झापामा हुरी र वर्षाले केराखेती नष्ट

किसानलाई दुई करोड १२ लाखभन्दा बढीको क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २१ बिहिबार
banana-hawahuri.jpg

काठमाडौँ ।  गतहप्ता आएको विनाशकारी हुरी र वर्षाका कारण झापाका विभिन्न स्थानमा व्यावसायिक रूपमा गरिएको केराखेतीमा ठूलो क्षति पुगेको छ। हावा र वर्षाका कारण जिल्लाभर कुल दुई करोड १२ लाख ८६ हजार २९२ रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान कृषि ज्ञान केन्द्र झापाले गरेको छ। झापामा यस वर्ष एक हजार ९१८ हेक्टर क्षेत्रफलमा केराखेती गरिएकोमा २९।९७ हेक्टर क्षेत्रफलको खेती हुरीले बोट ढालेपछि पूर्ण रूपमा नष्ट भएको छ। उत्पादनका लागि तयार भइसकेका बोटहरू समेत ढलेका कारण किसानहरूले ठूलो आर्थिक नोक्सानी ब्यहोर्नुपरेको छ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार विशेष गरी झापा गाउँपालिका, बाह्रदशी गाउँपालिका र कनकाई नगरपालिकामा गरिएको व्यावसायिक केराखेतीमा हुरी र वर्षाले बढी असर पुर्‍याएको छ। झापा गाउँपालिका–३ र ६, बाह्रदशी गाउँपालिका–७ को बत्तीसबिघे क्षेत्र तथा कनकाई नगरपालिका–५ मा यहाँका किसानहरूले व्यावसायिक केराखेती गर्दै आएका थिए।

प्रभावित क्षेत्रहरूमध्ये सबैभन्दा बढी क्षति बाह्रदशी गाउँपालिका–७ को बत्तीसबिघे क्षेत्रमा भएको देखिएको छ। उक्त क्षेत्रमा मात्रै २५।५ हेक्टर क्षेत्रफलमा लगाइएको केराखेती प्रभावित हुँदा ५१२।५५ मेट्रिकटन उत्पादनमा क्षति पुगेको प्रारम्भिक अनुमान छ। त्यसै गरी कनकाई नगरपालिका–५ मा दुई हेक्टर क्षेत्रफलमा गरिएको केराखेतीमा हुरीले क्षति पुर्‍याउँदा त्यहाँबाट उत्पादन हुने ४०।२ मेट्रिक टन केरा नष्ट भएको छ। झापा गाउँपालिका–३ मा पनि एक हेक्टर क्षेत्रफलमा गरिएको केराखेती पूर्ण रूपमा नष्ट भई २०।१ मेट्रिकटन उत्पादनमा क्षति पुगेको छ। झापा गाउँपालिका–३ का कृषक चन्द्र बस्नेत र पूजा खनालले १२ बिघा क्षेत्रफलमा लगाएको व्यावसायिक केराखेतीमा मात्रै करिब ६० लाख रुपैयाँ बराबरको ठूलो क्षति भएको अनुमान गरिएको छ।

केराखेतीमा भएको यो आकस्मिक क्षतिले जिल्लाका किसानहरूलाई थप ऋण र समस्यामा पारेको छ। अधिकांश किसानले आफ्नो बालीको बीमा नगरेका कारण अब सरकारी संयन्त्र वा अन्य स्रोतबाट राहत तथा क्षतिपूर्ति पाउने सम्भावना निकै न्यून रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। यसअघिको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०८२/८३ मा झापामा एक हजार ९१० हेक्टर क्षेत्रफलमा केराखेती गरिएको थियो, जहाँबाट तीन लाख ८८ हजार ३१०।२ मेट्रिक टन केरा उत्पादन भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ