arrow

सुदृढ कांग्रेसले मात्रै देश बनाउँछ – गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २५ बिहिबार
gagan-thapa-2080-02-25.jpg

धनकुटा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बनाउन पार्टी सुध्रिन आवश्यक भएको बताएका छन् । नेपाली कांग्रेस धनकुटाको प्रथम जिल्ला सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै नेता थापाले देश बनाउने केबल कांग्रेसले मात्रै भएकाले त्यसका लागि पहिले कांग्रेस सुध्रिन आवश्यक भएको बताएका हुन् । 

उनले भने, ‘ कांग्रेस बलियो भएन भने देशको जग पनि डगमगाउँछ । कांग्रेस बलियो भयो भने देशमा मडारिएको अशान्ति शान्त हुन्छ ।’ 

उनले पार्टीभित्र नेताहरुले विश्वास गुमाएको अवस्था रहेको भन्दै नेतृत्वले नयाँ पुस्तालाई बाटो छाडिदिनु पर्नेमा जोड दिए । उनले भने, ‘म नयाँ पुस्ताका साथीहरुलाई बाटो बनाइदिन्छु भन्दा के हुन्छ ?’
 
पार्टी नेतृत्वले सबैलाई नालायक र आफूमात्र राम्रो भन्न थाल्ने हो भने कांग्रेसभित्रको आन्तरिक किचलो छताछुल्ल हुने संकेत गर्दै भने, ‘हजुरबाले मेरो छोरा पनि नालायक, छोरी पनि नालायक भनेर भन्दा त्यो घर ध्वस्त भएको मानिन्छ ।’

उनले कांग्रेसभित्र पनि हजुरबाको भनाइकै स्थिति रहेको भन्दै अब यसरी पार्टी नचल्ने बताए । 

कांग्रेसभित्र चार पुस्ताका नेता कार्यकर्ता भएको भन्दै थापाले पार्टीभित्र नयाँ परिस्थितिको निर्माण किन नगर्ने ? भनी प्रश्न गरे । 

नेता थापाले छिमेकी दुई देशले उन्नति गरिरहेको भन्दै आफूहरु पनि तात्तिनु पर्नेमा जोड दिए । 

उनले भने, ‘देश बदल्नु छ । त्यसका लागि पहिले कांग्रेस बदल्नु आवश्यक छ । पहिले हामीले कांग्रेस बदलौँ । सुदृढ कांग्रेसले मात्रै देश बनाउँछ । त्यसका लागि प्रत्येक तहको कांग्रेस सुध्रिन आवश्यक छ ।’ 

उनले कांग्रेसभित्रको गुट भत्काएर रुपान्तरण आवश्यक भएकोमा जोड दिँदै भने, ‘गुटलाई भत्काउँ । कांग्रेसका युवालाई मौका दिऔँ । नयाँ जोश पार्टीमा ल्याऔँ ।’

सम्बोधनका क्रममा महामन्त्री थापाले भने, ‘मैले दैनिक सयौँ साथीहरु भेट्छु । नेपाली नागरिकहरु अत्तालिएको अवस्था छ । पार्टीभित्र मात्रको कुरा होइन । माओवादी द्वन्द्वको बेला पनि साथीहरूलाई आशा भरोसा थियो । निराश थिएनन् । २०६२–६३ पछि माओवादीको रवाफ थियो २०७० मा संविधान सभा असफल भएको बेला । मानिसहरू एउटा प्रतिक्षामा थिए। आशाले प्रतीक्षा गरेका थिए ।’

तर अब पार्टीभित्र आशा पनि सकिएको भन्दै उनले भने, ‘देशलाई नैराश्यताबाट बाहिर निकाल्न पहिला कांग्रेसलाई आन्तरिक नैराश्यताबाट बाहिर निकाल्नु पर्दछ। ३२९ ठाउँमा पालिका सरकार छ, प्रदेश मुख्य मन्त्री छ । प्रधानमन्त्री कुरेर बसेको छ।’

उनले कांग्रेस भनेको एमालेको केपी ओलीको जस्तो एकलौटी गर्ने पार्टी नभएको भन्दै उनले भने, ‘२०७४–७५ मा आक्रोश थियो वाम मिलेर सरकार बनाए भन्ने । अहिले किन उत्साह छैन ? यस्तो किन भयो ? नेतृत्वलाई धारे हात लाएर होइन र नेतृत्वले प्रश्नलाई इन्कार गरेर होइन । उत्तर त कांग्रेसबाट बाहिर भोट हाल्नेलाई थाहा छ। ओली एक्लैलाई सबै थाहा हुने जस्तो हाम्रो पार्टी होइन।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ