arrow

राप्रपाले संसदबाटै माग्यो प्रधानमन्त्रीको राजीनामा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
gyanendr shahi.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठमा समय माग गरी बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री दाहालको राजीनामा माग गरेका हुन् । 

उनले प्रधानमन्त्री दाहालको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा उपस्थित हुन भनेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्ष रुपमा अघि बढ्न दिनुपर्ने माग गरे ।

उनले अदालतमा उपस्थित हुँदा प्रधानमन्त्री दाहाल प्रधानमन्त्री वा पुष्पकमल दाहालको हैसियतमा उपस्थित हुनुहुन्छ ? भन्दै प्रश्न गरे । उनले अपराध जस्तो मुद्दा पर्दा प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री नैतिकताका आधारमा पनि पदमा बसिरहन नमिल्ने बताए ।

उनले भने, ‘प्रतिनिधि सभा नियमावली २०६९ को नियम ३६ अन्तर्गत सम्माननीय प्रधानमन्त्रीज्यु यो संसदको सदस्य पनि हो । तर आज सम्माननीय प्रधानमन्त्रीज्यूको विरुद्धमा सम्मानित सर्वोच्च अदालतमा युद्ध अपराध जस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ, र सर्वोच्च अदालतले ३० गते सम्माननीय प्रधानमन्त्रीज्युलाई अदालतमा हाजिर हुन भनेर पर्चा काटिसकेको छ । म यहाँ सम्माननीय सभामुखमार्फत सोध्न चाहन्छु, यो  ३० गते प्रधानमन्त्रीज्यु अदालतमा जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ की, पुष्पकमल दाहाल प्रचण्ड भएर जानुहुन्छ । अपराधको कुरामा अदालतमा जानेकुरा के हो ? त्यसैले म सम्माननीय सभामुखमार्फत सम्माननीय प्रधानमन्त्रीज्युको तत्काल राजीनामा दिएर बाटो प्रशस्त गर्नुपर्छ । नैतिकताका आधारमा पनि पदमा बसिरहन मिल्दैन । यो सामान्य कुरा होइन, युद्ध अपराध जस्तो मुद्दा सर्वोच्च अदालतमा दर्ता गरिसकेपछि प्रधानमन्त्रीज्यु त्यो पदमा बसिरहन उचित हुँदैन । नैतिकताका आधारमा पनि प्रधानमन्त्रीको राजीनामा दिनुपर्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीको राजीनामा मागेपछि समय माग गरी बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले राप्रपा प्रमुख सचेतक शाहीले व्यक्त गर्नुभएको धारणा संसद रेकर्डबाट हटाउन माग गरे ।

उनले भने, ‘भर्खरै मान्युज्युले केही आफ्ना कुरा राख्नुभयो । उहाँले हाम्रो नियमावलीको कुन धारा आकर्षित गरिने कुरा राख्न्नुभयो र प्रधानमन्त्रीलाई उहाँले एकोहोर गैरराजनीतिक तरिकाले लखेटिरहनुभएको छ । प्रधानमन्त्रीको हुर्मत दिनु भनेको राष्ट्रको हुर्मत दिनु हो, म तत्काल भर्खर व्यक्त गर्नुभएको मान्यका धारणाहरु रेकर्डबाट हटाउन माग गर्दछु ।’

सांसदहरुको भनाइपछि सभामुख देवराज घिमिरेले आफ्नो ध्यानआकर्षण भएको बताए । प्रतिनिधि सभाको अर्को बैठक सोमवार १ बजेका लागि बोलाइएको छ ।



नयाँ