arrow

अन्तर्राष्ट्रिय सगरमाथा दिवस

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३० मंगलबार
sagarmatha.jpg

काठमाडौं । सगरमाथा आरोहणको ७०औँ वार्षिकोत्सव र अन्तर्राष्ट्रिय सगरमाथा दिवस, २०२३ का अवसरमा इस्लामाबादस्थित नेपाली राजदूतावासले नेपाली तथा पाकिस्तानी सगरमाथा आरोही, पर्वतारोहण सम्बद्ध पदाधिकारीको उपस्थितिमा कार्यक्रमको आयोजना गरी मनाएको छ । 

सो अवसरमा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले सगरमाथा दिवसको महत्त्वका बारेमा २९ मे १९५३ को सगरमाथाको प्रथम सफल आरोहणले पर्वतारोहणमा एक नयाँ आयाम थपेको र तत्पश्चात् हजारौँ पर्वतारोहीले सगरमाथा आरोहण गरेको बताए । 

उनले नेपाल सरकारले पर्वतारोहणका सम्बन्धमा लिएका नीति, कार्यक्रम र पर्वतारोहण एवं साहसी पर्यटन र नीतिका बारेमा जानकारी दिए ।

उनले हालै सगरमाथा अरोहण गरेका पाकिस्तानी पर्वतारोही नयला कियानी, साजिद अली सादपारालाई बधाई दिँदै उनीहरूको आगामी पर्वतारोहण र साहसी खेल एवं पर्यटन अभियानको सफलताको कामनासमेत गरे । 

राजदूत अधिकारीले त्यस अवसरमा शेर्पा समुदायको पर्वतारोहणमा योगदानको चर्चा गर्दै पर्वतारोहणमा शेर्पाको दक्षता, विश्वसनीयता र सहयोगी भावनाका कारण उनीहरूको सहयोगमा कुनै पनि पर्वत आरोहण गर्न सहज रहेको बताए । 

शेर्पाहरू नेपालको नम्र शक्ति रहेको र नेपाली समाजले उनीहरूको योगदानको उच्च सम्मान गर्दै पर्वतारोहणमा सदैव गौरवान्वित रहेको बताए । 

सो अवसरमा राजदूत अधिकारीले नयला कियानी र साजिद अलि सादपारालाई नेपालको पर्यटन विभागबाट जारी भएको सगरमाथा आरोहण गर्दा दिइने प्रमाणपत्र हस्तान्तरण गरेको पाकिस्तानस्थित नेपाली राजदूतावासले जनाएको छ ।

कार्यक्रममा पर्वतारोही मिङ्ग्मा जी शेर्पा, दावा शेर्पा, सरवाज खान, नयला कियानी र साजिद अलि साद्पाराले नेपालमा पर्वतारोहणको आआफ्नो अनुभव सुनाउँदै पर्वतारोहण अभियानमा नेपाल सरकार र जनताबाट प्राप्त सहयोगप्रति आभारी रहेको बताएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ