arrow

प्रचण्ड, माधव, उपेन्द्र र विप्लवको पार्टी मिलेर समाजवादी मोर्चा घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १ शुक्रबार
prachanda-madhav-upendra-biplav.jpg

काठमाडौं । शक्ति संचयका लागि प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा समाजवादी केन्द्र घोषणाको तयारी भएको छ । 

आज दिउँसो कार्यक्रम गरी नीति र उदेश्यसहित समाजवादी केन्द्र वा मोर्चा घोषणा गर्न लागिएको हो । नेकपा माओवादी, नेकपा एस, जसपा सहितका दलहरुले धेरै अगाडि प्रयास गरेको मोर्चा गठनलाई आज पूर्णता दिन लागिएको हो । 

सरकारमा रहेका तीन दल र सरकार बाहिर रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर आज समाजवादी मोर्चाको घोषणा हुने बताइएको छ । 

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा हुन लागेको नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जनाकारी दिए । 

यो मोर्चाका लागि लामो समयदेखि छलफलरत नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई भने बाहिरै राख्ने लगभग निश्चित भएको छ । स्रोतका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादवले बाबुरामलाई मोर्चामा सहभागी गराउन नहुने अडान लिएपछि उनलाई बाहिर राखिएको हो । 

बाबुराम मोर्चामा सहभागी भए आफू नरहने यादवको धम्कीपछि नेसपालाई बाहिरै राखिएको हो । ‘चार पार्टीसहितको समाजवादी मोर्चा शुक्रबार नै घोषणा गर्ने तयारी छ । हाम्रो पार्टीको सचिवालय बैठक बसिरहेको छ त्यहीँबाट समाजवादी मोर्चामा सहभागी हुने निर्णय गर्छौँ,’ खतिवडाले भने । 

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँगको छलफलपछि विप्लव पनि समाजवादी मोर्चामा आउन सहमत भएका हुन् । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार दाङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै समाजवादी मोर्चा घोषणा अन्तिम चरणमा पुगेको बताएका थिए । 

त्यसअघि माधव नेपालले पनि भक्तपुरमा आयोजित कार्यक्रममा मोर्चा गठन तयारी भएको बताएका थिए । तर उनले नेकपा पनि व्यूताउनु पर्ने धारणा सार्वजनिक गरेका थिए । चार पार्टी मिलेर बन्ने समाजवादी मोर्चा तेस्रो निर्णायक शक्ति बन्नेछ । 

मोर्चामा सामेल हुने माओवादी केन्द्रसँग ३२, जसपासँग १२ र नेकपा एसको १० सिट छ । प्रचण्डले समाजवादी मोर्चामा नेसपा अध्यक्ष भट्टराई र एमाले छाडेर नेकपा एकता अभियान चलाइरहेका वामदेव गौतम पनि सामेल हुने बताइएको भए पनि गौतमले अहिलेसम्म कुनै निर्णय दिएका छैनन् । 

एमाले र माओवादीबीच २०७५ जेठ ३ मा एकतापछि पार्टीको नाम नेकपा बनेको अवस्थामा ठूलो कम्युनिष्ट पार्टी थियो । तर सर्वोच्च अदालतले २०७७ फागुनमा एमाले र माओवादी अलग गरिदिएपछि नेकपा विभाजन भयो । एमाले र माओवादी दुवै क्षयीकरणको दिशामा छन् । 

त्यसबेला नेकपाभित्र तत्कालीन अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच चरम विवाद भएपछि पार्टी सग्लो नरहँदा क्षयीकरण भएको अहिले माओवादीभन्दा एमाले ठूलो भएकाले एमालेले माओवादीलाई हेपेका कारण त्यही बराबरको शक्ति आर्जन गर्न समाजवादी मोर्चा बनाउन लागिएको माओवादीवृत्तमा चर्चा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ