arrow

अन्तर्राष्ट्रिय फुटबलमा नेपालको हार, मेस्सीको करियरकै छिटो गोल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १ शुक्रबार
nepal-philippines-argentina-australia.jpg
तस्बिर – नेपाल र फिलिपिन्स तथा अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेल ।

काठमाडौं । फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल घरेलु टोली फिलिपिन्ससँग पराजित भएको हो ।

रिजल मेमोरियल स्टेडियममा भएको खेलमा नेपाललाई फिलिपिन्सले १–० ले हराएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेपालले गोल खाएको थियो ।

फिलिपिन्सका लागि जार्भे गायोसोले ४९ औं मिनेटमा निर्णायक गोल गरे । फिलिपिन्सविरुद्ध डिफेन्डर विमल पाण्डे र मिडफिल्डर लाकेन लिम्बुले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । 

भारतमा आयोजना हुने १४ औं संस्करणको साफ च्याम्पियनशिप फुटबलको तयारीका क्रममा नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेलेको हो ।

भारतको बेंगलुरुमा आयोजना हुने साफ असार ६ देखि १८ गतेसम्म हुनेछ । यस संस्करणको च्याम्पियनशिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा साफ खेल्ने छन् ।

साफमा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् । साफको उद्घाटन खेलमा नेपाल र कुवेतबीच असार ६ गते नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे शुरु हुनेछ । 

अन्तर्राष्ट्रिय अन्य मैत्रिपूर्ण खेलहरु, मेस्सीको रेकर्ड
अन्तर्राष्ट्रिय अन्य बिहीबारका मैत्रिपूर्ण खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले अष्ट्रेलियालाई २–० ले हराएको हो । चीनको बेइजिङमा भएको खेलमा कप्तान लियोनल मेस्सी र जर्मन पेज्जेल्लाले एक एक गोल गरे । 

यो खेलमा गोल गर्दै मेस्सीले सबैभन्दा छिटो गोल गर्ने आफ्नो कीर्तिमानमा सुधार गरेका छन् । उनले पहिलो पटक ८० सेकेन्डमै गोल गरेका हुन् । 

यसअघि उनको रेकर्ड १२७ सेकेन्डको रहेको थियो । उनले सन् २०१८ मा स्पेनिश क्लब बार्सिलोनाबाट खेल्दै च्याम्पियन्स लिगमा चेल्सीविरुद्ध १२७ सेकेन्डमा गोल गरेका थिए । 

अन्य मैत्रिपूर्ण खेलमा उरुग्वेले निकारागुवालाई ४–१ ले, जापानले एल साल्भाडोरलाई ६–० ले, बांगालादेशले कम्बोडियालाई १–० ले, भियतनामले हङकङलाई १–० ले तथा कतारले जमैकालाई २–१ ले हरायो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ